Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव

‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव


राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन होटल व्यवसायीहरूलाई सुझाव दिएका छन् ।होटल सङ्घ नेपालको आयोजना गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ कार्यक्रममा राष्ट्रपति पौडेलले होटल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषि उपजलाई सिधै होटलका प्लेटमा पु¥याउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । यहाँको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए ।

पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै राष्ट्रपति पौडेलले मुलुकको पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । ‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नुपर्छ’, उनले भने, ‘यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने आशा छ ।’राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिने बताए । पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातीत ढङ्गले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकलमार्ग, निःशुल्क इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उनको भनाइ थियो । पर्यटन उद्योगको आधारस्तम्भको रूपमा रहेको होटल क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

कार्यक्रममा सङ्घका अध्यक्ष विनायक शाहले मुलुकको वार्षिक बजेटसरहको लगानी भएको होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिन सरकारसमक्ष माग गरे । उनका अनुसार एक जना पर्यटक आउँदा नौ जनाले रोजगारी पाउँछन् । एक तथ्याङ्कअनुसार मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको आठ प्रतिशत योगदान रहेको उनले बताए । विदेशी मुद्राको प्रमुख आयस्रोतमध्येको एक पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिनुपर्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका तथ्याङ्कअनुसार सन् २०२३ मा हवाईमार्ग भएर १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।सरकारले आगामी वर्ष विदेशी पर्यटकको सङ्ख्या दोब्बर पु¥याउने घोषणा गरेको छ । नेपालमा हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने क्षमता होटल छन् । सङ्घका अनुसार हाल पाँचतारे, पर्यटकस्तरका होटल, लज र रिसोर्ट गरी १० हजारभन्दा बढी सञ्चालनमा छन् । सङ्घका महासचिव साजन शाक्यले नेपाललाई कृषि प्रधानबाट पर्यटन प्रधान देशका रूपमा पहिचान स्थापित गराउनुपर्नेमा जोड दिए । सो अवसरमा होटल क्षेत्रमा योगदान गर्ने सङ्घका पूर्वअध्यक्षहरू श्यामबहादुर पाण्डे, योगेन्द्र शाक्य, नरेन्द्र ताम्राकार, प्रकाश श्रेष्ठ, प्रसिद्धबहादुर पाण्डे र सिर्जनालाई राणालाई सम्मान गरिएको थियो । उनीहरूलाई राष्ट्रपति पौडेल दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घले प्रकाशन गरेको ‘इयर बुक २०२४’ विमोचन समेत गरेका थिए । साथै, ‘सत्कार दिवस २०८०’ अनावरण तथा ‘नेपाली हेरिटेज फुड वेस्ट’ र ई–लर्निङ भिडियो पनि अनावरण गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया