Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टिलजन्य सामग्रीमा मूल्यवृद्धि

स्टिलजन्य सामग्रीमा मूल्यवृद्धि


काठमाडौं । सीमित उद्योगीहरूको मिलेमतोमा पछिल्लो समय स्टिलजन्य सामग्रीको मूल्य बढाइएको पाइएको छ । व्यवसायीहरूका अनुसार पछिल्लो समय ग्रिल तथा स्टीलजन्य सामग्रीको मूल्यमा प्रतिकेजी २० रुपैयाँसम्मले मूल्यवृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा वृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगीहरूको मिलेमतोमा स्टिलजन्य सामाग्रीको मूल्य बढाइएको व्यवसायीहरूले बताएका छन् । स्टिलजन्य सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी र ग्रिल तथा स्टिल व्यवसायी ठूलो मारमा परेको उनीहरूको भनाइ छ । विनाकारण स्टिलजन्य सामग्रीहरूको हठात् मूल्यवृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ र ग्रिल तथा स्टल व्यवसायी महासंघ नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा मुलुकको समग्र निर्माण उद्योग नै धराशायी भएको बखत निर्माण उद्योगमा प्रयोग हुने स्टिलजन्य सामग्रीहरूको मूल्यवृद्धि भएको निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गर्दै स्टिलजन्य सामग्रीको उत्पादनसँग सम्बन्धित डलर इन्धनलगायतका कुनै पनि वस्तुमा मूल्यवृद्धि नहुँदा लोडसेडिङलाई कारण देखाई मूल्यवृद्धि गरिनु अनुचित भएको उल्लेख गरेका छन् ।

निर्माण कार्य तीव्र गतिमा हुने अहिलेको सिजनमा खुला अर्थतन्त्रको नीति विपरीत स्टिल उद्योगीहरूले कार्टेलिङ गरी प्रतिकेजीमा १५ देखि २० रुपैयाँसम्म अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि गरेको पाइएको विज्ञप्तिमा जनाइएको छ । ‘केही समय अघिसम्म प्रतिकेजी ८० रुपैयाँमा पाइने स्टिलको मूल्य २०८१ जेठ पहिलो साता आइपुग्दा एक सय रुपैयाँ पुग्दा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेका छन्’ विज्ञप्तिमा उल्लेख छ । विगतमा पनि स्टिलजन्य सामग्रीको माग बढ्ने समयमा कार्टेलिङ गरी मूल्यवृद्धि गरिने गरेको महासंघले जनाएको छ । सो मुल्यवृद्धिका कारण पूर्वाधार खर्च बढ्न गई सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक भार परेको महासंघले स्मरण गराएको छ । हाल स्टिलजन्य सामग्रीमा कालोबजारीमार्फत् भएको मुल्यवृद्धि नियन्त्रण गरी कालोबजारी गर्नेमाथि कारबाही गर्न समेत निर्माण व्यवसायी महासंघले माग गरेको छ ।

यसैगरी ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले ग्रिल तथा स्टिलजन्य सामग्रीको अनियन्त्रितरूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको जनाएको छ । नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरूको आपसी मिलेमतोमा ग्रिल तथा स्टिलजन्य सामग्रीको मूल्य बढाइएको महासंघको आरोप छ । अस्वाभाविक मूल्यवृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ । यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीहरूले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले बताए ।

अस्वाभाविकरूपमा बढेको ग्रिल तथा स्टिलजन्य सामग्रीको मूल्य तुरुन्त मूल्यवृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए उत्पादक कम्पनी र हार्डवेयरहरूको विरुद्ध संघर्ष गर्न बाध्य हुने महासंघले चेतावनी समेत दिएको छ । सो संघर्षबाट हुने परिणामको सम्पूर्ण भागिदार सरकार र सम्बन्धित पक्ष हुने महासंघका अध्यक्ष श्रेष्ठले बताए । अनियन्त्रित र अस्वाभाविक मूल्यवृद्धिले आम उपभोक्ताहरू समेत मारमा परेको महासंघको भनाइ छ ।

वार्षिक ५० अर्बभन्दा बढीको ग्रिलजन्य सामग्रीहरूको उत्पादन गर्दै आएका व्यवसायीहरूविरुद्ध अस्थायी सरकार र राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै ठूला कम्पनीहरूले गरेको मनोमानीविरुद्ध संघर्षमा उत्रिन महासंघले आह्वान समेत गरेको छ । कोभिड–१९ तथा आर्थिक मन्दीको प्रभावको कारण बन्द भई मारमा परेका उद्योगहरू बिस्तारै सञ्चालनमा आउन नपाउँदै पटकपटक ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रितरूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको अवस्थाप्रति ग्रिल तथा स्टील व्यवसायी महासंघले चिन्ता व्यक्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x