Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी राजधानीमा

नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी राजधानीमा


काठमाडौं । तेस्रो नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी राजधानीमा भइरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबार सकिनेछ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा सञ्चालन भएको प्रदर्शनीको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा महामन्त्री थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने बताए । नेपालमा नयाँ प्रविधि भित्र्याउन र नवीनतम उद्योग स्थापना गर्न चाहनेका लागि यो राम्रो अवसर हुनसक्ने उनको भनाइ छ ।

काठमाडौँको भृकुटीमण्डपमा भइरहेको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम प्रविधि प्रदर्शनका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको अपेक्षा छ ।

प्लास्टिक प्रोसेससङ मिसनरीका उत्पादनहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी प्रदर्शनीमा राखिएको छ । त्यस्तै प्रदर्शनीमा सबैखाले कागज र स्पेर पार्ट्स, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूले उत्पादन गरेका सामग्रीहरू समेत अवलोकन तथा आवश्यकताअनुसार खरिद तथा प्रयोगसम्बन्धी ज्ञान लिन सकिने आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका एक सय ५० भन्दा बढी स्टल राखिएको छ । प्रदर्शनी अवलोकन गर्न चाहनेले निःशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।

कैलाली टीकापुरबाट आएर प्लास्टिकको डोरीलगायतका सामग्रीको स्टल राखेर बसेका टीकापुर प्लास्टिक उद्योगका सञ्चालक मुकेश बहादुर बमले प्रदर्शनीले व्यापार व्यवसाय गर्नेहरूका लागि राम्रो प्लेटफर्म प्रदान गरेको बताए । यस्ता प्रदर्शनीले उनीजस्ता व्यापारीलाई ब्रान्डको मार्केटिङ गर्न सहयोग पुग्ने उनको भनाइ छ । ‘नेपालमा नाइलनको डोरी उत्पादन हुन्छ, त्यो पनि राम्रो क्वालिटीको भनेर धेरैलाई थाहा नै छैन । यस्ता प्रदर्शनीले हामीलाई आफ्नो मार्केटिङ गर्नका लागि सहयोग मात्र पुग्दैन, ग्राहकलाई प्रत्यक्ष भेटेर बुझाउन पनि सकिन्छ’, उनले भने । त्यस्तै भारतको नयाँ दिल्लीबाट आएर प्रिन्टिङ मसिनको स्टल राखेका यश ब्लोअर्स प्रा.लि.का आलोक त्रिवेदीले पनि प्रदर्शनीले मार्केटिङका साथै नेपाली मार्केटको अवस्था बुझ्न निकै सहयोग पुग्ने बताए ।

फाइभ–पी प्रदर्शनी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकैठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एकमात्र उद्योग व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो । प्रदर्शनीको सहआयोजकका रूपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया