Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमधेश प्रदेशमा औद्योगिक कर्जा बढ्यो

मधेश प्रदेशमा औद्योगिक कर्जा बढ्यो


मधेश प्रदेशमा औद्योगिक कर्जा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन २०७९–०८० अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेको कुल कर्जा रकम एक दशमलव ५० प्रतिशतले बढेर एक खर्ब १४ अर्ब दुई करोड रुपैयाँ पुगेको हो ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब १२ अर्ब ३४ करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनाको अवधिमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ५९ दशमलव ९७ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा दुई दशमलव ३२ प्रतिशत रहेको छ ।

सोअनुसार पर्सामा कुल ५९ अर्ब ९७ करोड रुपैयाँ औद्योगिक कर्जा प्रवाह हुँदा सप्तरीमा दुई अर्ब ५९ करोड रुपैैयाँ मात्र औद्योगिक कर्जा प्रवाह भएको देखिएको छ । बैंक तथा फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कुल औद्योगिक कर्जामध्ये सिराहमा छ दशमलव ६८ प्रतिशत अर्थात् सात अर्ब ७३ करोड, धनुषामा नौ दशमलव ९० प्रतिशत अर्थात् ११ अर्ब २७ करोड, महोत्तरीमा चार दशमलव ७० प्रतिशत अर्थात् पाँच अर्ब ३५ करोड र सर्लाहीमा पाँच दशमलव ७२ प्रतिशत अर्थात् छ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसैगरी रौतहटमा पाँच दशमलव शून्य सात प्रतिशत अर्थात् पाँच अर्ब ७८ करोड र बारा जिल्लामा पाँच दशमलव ६२ प्रतिशत अर्थात् छ अर्ब ४२ करोड रुपैयाँ औद्योगिक कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुुसार चालू आवको पछिल्लो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा एक खर्ब १४ अर्ब दुई करोड रुपैयाँमध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३ दशमलव शून्य एक प्रतिशत, कृषि–वन तथा पेयपदार्थ उत्पादन उद्योगतर्फ २८ दशमलव ९८ प्रतिशत, निर्माण उद्योगतर्फ सात दशमलव ११ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ पाँच दशमलव ३५ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ तीन दशमलव ९८ प्रतिशत र खानी उद्योगतर्फ एक दशमलव ५७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

समग्रमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा औद्योगिक कर्जा १ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा निर्माण उद्योगतर्फको कर्जामा ५० प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उत्पादनतर्फ २१ प्रतिशतले घटे पनि विद्युत्, ग्यास तथा पानीतर्फको कर्जामा ९० दशमलव नौ प्रतिशत, खानीसम्बन्धी उद्योगमा ४३ प्रतिशत, गैरखाद्यवस्तु उत्पादनतर्फको कर्जामा चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।यसैगरी कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी कर्जा प्रवाह गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा १५ प्रतिशतले बढेर ३३ अर्ब चार करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार, मधेश प्रदेश
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया