Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआममाफीले त्रसित समाज

आममाफीले त्रसित समाज


काठमाडौं । देशले उत्साहपूर्वक मनाउनुपर्ने दुईवटा गणतन्त्र र संविधान दिवस सरकारले दिने जघण्य अपराधका कैदीलाई कैद माफी मिनाहाले प्रत्येक वर्ष खल्लो बनाउँदै आएको छ । पछिल्लो वर्षका यी दुई दिवस पनि विवादित नै रहे । यस पटकको संविधान दिवसमा जेजस्ता अपराधमा जेल परेका जेजस्ता व्यक्तिले कैद सजाय पाए त्यो सजाय दिन लायकका थिएनन् । कैदीले बाँकी जेल सजाय छुट पाए त्यसलाई यति बेलाका प्रमुख विपक्षी दलका नेताले राजनीतिलाई अपराधीकरण गरेको भनी सरकामाथि गम्भीर आरोप लगाए भने राष्ट्रपतिले पनि सरकारको सिफारिसलाई हुबहु पालना गरेकोमा आलोचनाको निशाना बनाए । यस पटक अर्थात् यो संविधान दिवसमा मन्त्रिपरिषद्को सिफारिसमा नयाँ राष्ट्रपति रामचन्द्र पौडेलबाट छ सय ७० कैदीको बाँकी जेल सजाय छुट गरिएको थियो । अहिले यो नवौँ संविधान दिवस हो । यसअघिका सबै गणतन्त्र र संविधान दिवसमा पनि यस्तै हुँदै आइरहेका छन् । यी दुईवटा दिवसमा सधैँ यसरी नै कैद माफी मिनाहा हुँदै नै आइरहे । कुनै सरकारले पनि यसलाई सच्याउन आवश्यक ठानेन ।

हँुदै जाँदा अवस्था कस्तोसम्म देखिन थाले भने सरकारले असल आचरणमा कैदमुक्त गरेका ज्यान मुद्दाका कैदीले माफी पाएको महिना दुई महिनामा फेरि व्यक्ति हत्या गरेर अदालतको आदेशमा नै जन्मकैद व्यहोर्नुपरेको देखियो । कारागारमा असल चालचलन भन्दै राष्ट्रपतिबाट माफी पाएर छुटेको व्यक्ति एक महिनामै फेरि हत्यामा संलग्न रहेको पाइन्छ भने त्यो असल आचरणको अर्थ पनि गलत नै भएको बुझ्नुपर्छ । गएको वर्ष अर्थात् २०७९ सालको संविधान दिवसमा आचरणमा सुधार आएको भन्दै छुटेको एक बन्दीले त्यसको एक महिनामै आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ परे । उनले नवलपुरको गैंडाकोटमा १० वर्षअघि अर्थात् ११ कात्तिक २०६९ मा आफ्नै हजुरआमा र काकीको निर्ममतापूर्वक हत्या गरेका थिए । त्यसबापत सर्वस्वसहित जन्मकैद पाएका सुरेश कुमाल नामका यी व्यक्तिले २०७९ सालको संविधान दिवसमा बाँकी कैद छुटको सुविधा पाएका हुन् । तर त्यसबेला उनमा तत्कालीन सरकारले भनेजस्तो उनको आचरणमा सुधार आएको रहेनछ । आचरणमा सुधार आएको भनी छुटेको एक महिनामै उनी आफूलाई गास र बास दिने साथीको त्यतिकै निर्ममतापूर्वक हत्या गर्न पुगे । यी कैदी आममाफीपछि पनि आफ्नो घर जान सक्ने अवस्थामा थिएनन् । उनलाई त्यही जेलमा चिनजान भएका साथीले आश्रय दिए । तर त्यसको एकमहिनामा नै तिनै साथीलाई हत्या गरेर उनले क्रूरताको नमुना प्रस्तुत गरेको प्रहरीको बुझाइ छ । ती साथी बाचुन्जेल आफ्नो परिचय हत्यारा सरह भइरहने ठानेर उनले साथीको हत्या गरेको बयान दिएका थिए ।

पछिल्लो पटकको आममाफीमा छुटेका अर्का जन्मकैदको सजाय पाएका नेपालगञ्जका एकजना व्यक्ति यतिबेला सबैतिर चर्चित भइरहेका छन् । गुण्डा नाइके भनेर चिनिने उनी यो संविधान दिवसको अवसरमा राष्ट्रपतिको निर्णयबाट थुनामुक्त भए । यो माफीबाट २० वर्ष कैद बस्नुपर्ने जिल्ला अदालत, बाँकेले दिएको आदेश काम लागेन । नौ वर्ष कारागार बसेर उनले माफी पाए । २८ असार २०७२ मा नेपालगञ्जमा खुँडा प्रहार गरेर व्यस्त चोकमा दिनदहाडै भएको हत्याको घटनामा उनी पक्राउ परेर अदालतले यस्तो आदेश दिएको थियो । फौजदारी कसुर सजाय निर्धारण तथा सजाय ऐन, २०७४ ले जन्मकैद सजाय पाएकालाई कैद छुट दिन नमिल्ने व्यवस्था गरेको छ । तर उनका लागि यो प्रावधान लागेन । यसरी जघण्य अपराध पनि आममाफीमा परेपछि समाजमा कस्तो आतंकको अवस्था पैदा होला भन्ने सोच्नुपर्ने अवस्था आइसकेको छ । यसबारे जिम्मेवार तह गम्भीर बनोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया