Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयउपभोग्य वस्तुमा विषादीको अधिक प्रयोग रोकौँ

उपभोग्य वस्तुमा विषादीको अधिक प्रयोग रोकौँ


काठमाडौं । संसारभरि नै बजारमा बेचविखन हुने खाद्यवस्तुमा अलिकति पनि अखाद्य पाइए त्यो अक्ष्यम्य अपराध मानिन्छ । त्यसमा पनि अझ विषादी रहेछन् भने त त्यस्तो अवस्था फेला पर्नासाथ बजारबाट वस्तुहरूको जफत र कारोबारीलाई यस्तो दण्ड दिइन्छ, जो आइन्दा त्यस्तो काम गर्न उसले सम्झना समेत गर्न सक्दैन । खाद्यमा अखाद्यवस्तु त्यसमा पनि विषादीजस्ता वस्तुको मात्रा अत्यधिक रहे तिनले मानिसको जीवन नै खतरामा पार्छन् । त्यसकारण जहाँको भए पनि सरकारले त्यस्ता वस्तु आफ्नो देशमा प्रवेश नै गर्न दिनुहुँदैन । युरोप अमेरिकालगायतका देशमा जाने नेपालीहरूले केही मसलाहरू समेत लान मान्दैनन् । त्यस्ता वस्तुले कतिपयको यात्रा नै रोकिएको छ भने कतिपयले ती वस्तु नष्ट गरेर पनि आवश्यक दण्ड तिरेर मात्र गन्तव्यमा जान पाएका समाचारहरू आइरहेका छन् । तर नेपालमा भने हरेकको चुलामा दैनिक प्रवेश गरिरहेका वस्तु खान अयोग्य रहेछन् भने पनि त्यस्ता वस्तुको बेचविखनलाई समेत प्रतिबन्ध लगाइँदैन । यसले आफ्ना नागरिकप्रति राज्य कति उदासीन छ भन्ने देखाउँछ ।

पछिल्लो एउटा अध्ययनले के देखाएको छ भने खासगरी तरकारी र फलफूलका नाममा देशैभर विषदीका व्यापकता फैलिएको छ । यो कुनै एक ठाउँमा होइन, मुलुकका सातै प्रदेश र तिनका मुख्य सहरहरूमा यस्ता विषादीको पहुँच खुला र व्यापकरूपमा नै रहेको पाइयो । दशैंताका गरिएको एउटा अध्ययनले खासगरी अन्य खाद्य पदार्थमा खानै नहुने वस्तुको मिसावट यसरी नै बढेको पाइएको थियो । त्यसबेला कतिपय ठाउँमा छापा मारियो र शीलबन्दी पनि गरियो । तर त्यसपछि के भयो त भन्ने कतै समाचारका विषय समेत बनेनन् । यतिबेला तरकारी र फलफूल समूहमा विषादीको मात्रा खानै नहुने तहमा फेलापरेको भन्ने समाचार आएका छन् । यसले खासगरी शहरी क्षेत्रमा बसोबास गर्ने, बजारबाट खरिद गर्नुपर्ने समूहका आम उपभोक्ताको स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने प्रश्न खडा गराएको छ । निश्चय नै यो ठूलो चिन्ताको विषय हो ।

गएको हप्ता एउटा सरकारी निकाय केन्द्रीय कृषि प्रयोगशालाले एउटा विवरण आम नागरिकको जानकारीमा ल्याएको थियो । उसका अनुसार खास गरी तरकारी र फलफूल समूहमा विषादीको अवस्थिति अध्ययन गरिँदा यसको मात्रा चिन्ताजनक अवस्थामा नै रहेको पाइयो । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार यो कुनै एक ठाउँमा होइन, देशभरका सातवटा प्रयोगशालामा गरिएको तरकारी तथा फलफूलमा विषादीको अवस्था जाचिँदा करिब दुईहजार नमुनामा १५ वटा नमुना खान अयोग्य देखिए । यी १५ वटा वस्तु यस्ता–यस्ता थिए जो नेपालीका भान्सामा प्रत्येक दिनका साँझ बिहान प्रयोगमा आउँछन् । फलफूल त आगोमा पकाउने समेत हुँदैन । अध्ययनले नै देखायो घरेलु उत्पादनमा यस्तो थिएन । खासगरी आयातीत वस्तुमा विषादीको मात्रा बढी रहेका हुन् ।

एउटा भनाइ के छ भने छिमेकी देशमा खासगरी नेपालजस्तै वरपर जाने यस्ता वस्तु उत्पादन हुने छुट्टै फार्महरू छन्, जसमा बढी विष हालिन्छ । केही वर्ष पहिले त्यस्तावस्तुहरू नेपाल आउँदा सिमानामै विषादी जाँच्ने व्यवस्था गरिएको थियो । तर व्यापारीहरूले नै त्यसलाई उल्टाइदिएका थिए । त्यसपछि तिनको कतै जाँच पड्ताल हुने गरेको छैन । त्यसो नहुँदो हो त काठमाडौंको कालीमाटीमा परीक्षण हँुदा स्थानीय उत्पादनभन्दा छिमेकी मुुलुकबाट आएका त्यस्ता वस्तु बढी मात्रामा अखाद्य हुने थिएनन् होला । सरकार यसमा चनाखो हुनैपर्छ । बाहिरबाट यस्ता तरकारीहरू अत्यधिक मात्रामा आउँदा स्थानीय उत्पादन समेत ओझेलमा पर्ने गरेको भन्ने गुनासो पहिलेदेखि नै छँदैछ । त्यसमाथि विषादीको यस्तो अत्यधिक प्रयोग कुनै पनि हालतमा स्वीकार्य हुनुहुँदैन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया