Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअन्तर्राष्ट्रिय दिवसमा भ्रष्टाचारका काण्डहरू

अन्तर्राष्ट्रिय दिवसमा भ्रष्टाचारका काण्डहरू


काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा एउटा अन्तर्राष्ट्रिय गिरोहसँग जोडिएको अहिलेसम्मकै ठूलो भ्रष्टाचार काण्डमा देश तरङ्गित भइरहेको छ । एउटा दूरसञ्चार सेवासँग जोडिएको एनसेल नामको कम्पनीको सेयर खरिद बिक्रीमा सरकारलाई छलेर करिब दुई खर्ब रुपैयाँ यताउता गरिएको भन्ने आरोपमा अनुसन्धान पनि चलिरहेको अवस्था छ । यति ठूलो सम्पत्तिको किनबेच करिब छ अर्बमा भएको पाइएपछि यो काण्ड सतहमा आएको हो । उच्चस्तरीय पदाधिकारीको संलग्नता नै यस्तो गर्न सम्भव नहुने कुराले यतिबेला सबैतिर चर्चा पाएको छ । तर शंकाचाहिँ केहो भने विगतजस्तै यदि उच्चस्तरको संलग्नता देखिने भयो भने यो आफँै ढिसमिसमा पर्छ कि भन्ने यतिबेलाको शंका हो । यो सेयर खरिद बिक्री प्रकरण अदालतको न्यायिक परीक्षणमा पनि परिसकेको हुनाले यसबारे केही भनिहाल्ने अवस्था अहिले छैन । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा यो काण्ड प्रकट भएको हुँदा भ्रष्टाचारीको बारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा यसले पनि ध्यान तानेको हुनुपर्छ ।

पछिल्लो दिन भ्रष्टाचारका काण्डहरू सोच्नै नसकिनेरूपमा प्रकट हुँदैछन् । त्यसो त भ्रष्टाचार यतिबेलाको मात्रै विषय होइन । तीन वर्षअघिको एउटा प्रतिवेदनले तत्कालीन बहालावाला प्रधानमन्त्रीबाटै भ्रष्टाचारीलाई जोगाइरहेको भन्ने प्रतिवेदन आएको थियो । पछिल्लो समय भ्रष्टाचार मानिएको एउटा घटनामा मुछिएका दुईजना पूर्व प्रधानमन्त्रीलाई जोगाएको विषय सेलाएको छैन । तत्काल पनि एउटा सुनतस्करी प्रकरणमा प्रधानमन्त्रीको दलका एक उच्च नेतालाई नाटकीयरूपले उन्मुक्ति दिएको कुरा सार्वजनिक भयो । त्यसको केही समय अघिमात्रै नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउन करोडौँ लेनदेनगरेको काण्डमा परेका उच्च नेताहरूलाई उन्मुक्ति दिइएको थियो । यी बाहिर प्रकट भएका घटना हुन् । उच्च नेतृत्वले भित्रभित्रै लुकाइएका छिपाइएका घटना त कति होलान् कति । एउटा मान्यता नै छ देशमा बढी भ्रष्टाचार राजनीतिक र सार्वजनिक पदमा बसेका व्यक्तिबाट हुने गरेको छ । भ्रष्टाचारको अवस्थाको अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्थाले प्रत्येक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा यस्ता कुरा छरपस्ट भइरहेको हुन्छ । उता त्यस्ता रिपोर्ट आउने र यता त्यसलाई नै समर्थन गर्न गरी काण्डहरू प्रकट भइरहेको पाइन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले गर्दै आएको हरेक वर्षको अध्ययनमा भ्रष्टाचारका प्रमुख पात्र भनी राजनीतिक दल र सार्वजनिक पदमा बसेका व्यक्तिबाट हुने पदको दुरूपयोग बढी देखिन्छन् । यसलाई स्थापित गर्न कुनै एक वर्षको रिपोर्ट हेरे पुग्छ । तीन वर्षअघिको प्रतिवेदनमा त नेपाल एसियाकै सबैभन्दा भ्रष्ट देश भनी उल्लेख भएको थियो ।

अघिल्लो वर्ष मात्रै सार्वजनिक गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)मा भ्रष्टाचारमा कुन निकाय कस्ता भनी उल्लेख भएको छ । ती निकायमा न्यायालय, संसद्, सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरूपयोग गर्दा भ्रष्टाचार हुने गरेको देखिएको उल्लेख छ । आज भोलिकै कुनैबेला सन् २०२३ को अध्ययनको प्रतिवेदन सार्वजनिक हुने अवस्था छ । सन् २०२२ को प्रतिवेदनले राजनीतिक भ्रष्टाचार संसद्, कार्यपालिका र न्यायपालिकाअन्तर्गत बढी भ्रष्टाचार हुने गरेको भनेको थियो । सन् २०२२ को प्रतिवेदनमा नेपालको अवस्था ३४ को थियो । यो भनेको भ्रष्टाचार हुने देशमध्ये ११०औँ स्थान हो ।

विश्वभरिका १८० देशलाई लिएर भ्रष्टाचारबारे वर्षेनि गरिने अध्ययनमा नेपालले आफूलाई सुधार गरेको देखिँदैन । योबीचमा प्रधानमन्त्रीको नाम भने २०२१ बाहेक प्रतिवेदनमा आएको छैन । त्यतिले मात्रै सन्तुष्ट हुने अवस्था पक्कै होइन । यसमा सुधार गर भन्ने सुझाव दिनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया