Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयजङ्गी अड्डाका किर्ते–काण्डहरू छानबिन गर

जङ्गी अड्डाका किर्ते–काण्डहरू छानबिन गर


काठमाडौं । अबका केही दिनपछि नेपाली सेनाको कमाण्ड सम्हाल्नुपर्ने भूमिकामा रहेका सेनाका अर्का उच्च अधिकारी पनि आफ्नो व्यक्तिगत विवरणको किर्ते काण्डमा फसेका छन् । उनको व्यक्तिगत कागजातमा केरमेट गरेको भेटिएपछि उनी विवादमा मुछिएका हुन् । यद्यपि, उनीमाथिको यो आरोप पुष्टि भने भइसकेको छैन । तर राज्यका सम्बन्धित निकायले यसबारे छानबिन गर्न भनी पत्राचार गरिसकेको अवस्था भने सार्वजनिक भएको छ । यो नेपाली सेनाका एक उपरथीको कुरा हो । यसको केही दिनअघि मात्रै अर्का एक उपरथीमाथि यस्तै आरोप लागेको थियो । उनको रथीमा बढुवाका लागि सरकार समक्ष सिफारिस गरिए पनि त्यस्तै कगजपत्र केरमेट गरेको भन्ने आरोप पछि उनी बढुवा हुन पाएनन् । आफूले पेश गरेको आफ्नो जन्ममितिमा कैफियत पाइएपछि वा भनाँै त्यसको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि उनी आफैँले राजीनामा दिएका थिए । त्यसलगत्तै रोलक्रममा रहेका अर्का उपरथीको बढुवा सन्दर्भ पनि यही प्रकृतिको आरोपमा परेको देखियो ।

राष्ट्रिय सेना भनेको आफूमा एउटा कठोर अनुशासनको प्रतीक मानिने राज्यको इकाइ हो । सेनाको जस्तो अनुशासन हुनुपर्छ भनेर अन्यत्र पनि उदाहरण दिइन्छ । तर केबल बढुवा हुन र त्यो तहको नेतृत्व लागि यस प्रकारका कार्यहरू कुनै पनि हालतमा स्वीकार्य हुनुहुँदैन ।

अघिल्लोपटक बढुवा हुन लाग्दा दिइएको राजीनामा हेर्दा स्वेच्छिक लागे पनि वास्तवमा घटना विवरणहरूले त्यसलाई स्वेच्छिक देखाउँदैन । त्यो निकाय आफैँले यसको गहन अध्ययन गर्नुपर्छ । यसको अर्थ कुनै पनि पदबाट कसैले राजीनामा दिन नपाइने भन्ने होइन । जुनसुकै निकायका जुनसुकै पदाधिकारीले जुनसुकै बेला राजीनामा दिन पाउँछन् । यो उनीहरूको विशिष्ट अधिकारको कुरा पनि हो । तर सम्बन्धित पदाधिकारीमाथि कुनै सार्वजनिक पदलाई प्रभाव पार्ने गरी आफ्ना व्यक्तिगत नै भए पनि विवरणमाथि खेलवाड गर्ने अधिकार हँुदैन । यदि यो अभ्यासलाई सामान्य मान्ने हो भने त्यसले संगठनको मानमर्यादा र गरिमामा नै गम्भीर आँच पु¥याउँछ । त्यसकारण यस्ता विवरण सार्वजनिक भइसकेपछि पद छाडेको भनेर त्यस्ता कृत्यबारे सम्बधित निकाय थप कारबाहीका लागि पन्छिन र सम्बन्धित पदधिकारीले पनि पन्छाउन मिल्दैन । यो अघिल्लो बढुवा सिफारिसको सन्दर्भ हो । जुन उमेर अर्थात् तिथि मितिले जसलाई यो संगठनको जेष्ठताको गरिमामय ठाउँ दियो त्यसैमाथि सम्बन्धित पदाधिकारीले खेलवाड गरेको भन्ने सार्वजनिक भइसकेपछि त्यसको छानबिन हुनैपर्छ । त्यसमा अरू कुनै बहानाबाजी चल्नु÷चलाउनु हुँदैन ।

त्यसपछिको अर्को घटना त राज्यले छानबिन गर्ने दायित्व दिएको निकाय अख्तियारबाटै पत्राचार भएको भन्ने विवरणहरू आएका छन् । रथीमा बढुवा हुने क्रममा अख्तियारमा परेका उजुरीमा सेवा प्रवेश र बढुवाका लागि पेश भएका कागजमा किर्ते गरिएको भन्ने आरोप लागेको र त्यसको गम्भीररूपले छानबिन गर्न निकायलाई पत्राचार गरिएको भन्ने समाचारमा आएको छ । यो विषयलाई अहिले नै गम्भीरतापूर्वक हेरिएन भने यस्तो बढुवाबाट सेनाको कमाण्ड गरिरहेका बेला गम्भीर नैतिक संकट खडा हुन सक्छ । अहिले चर्चामा आएका पदाधिकारीमाथि लगाइएको आरोपमा यसअघि पनि यसमाथिको पदमा जानका लागि उमेर सच्याइको भन्ने छ । यो कुरा अहिले नै छानबिन गरियो भने आरोपितले पनि यदि उनीमाथि झूटा आरोप लागेको रहेछ भने त्यसबाट उन्मुक्ति पाउने अवसर मिल्छ । अर्कोतर्फ सम्बन्धितले माथिल्लो पदसम्म पुग्न नक्कली प्रमाणपत्र र नागरिकता किर्ते गर्ने एउटा परम्परा नै बनिसकेको भन्ने र सेनाको छविलाई छायामा पार्ने क्रम पनि रोकिने छ । कागजपत्र किर्ते नै गरिएको रहेछ भने त जोकोही पनि दण्डित हुनै पर्छ । यसतर्फ जङ्गीअड्डाको ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया