Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविमानस्थलको सेटिङ नतोडे गम्भीर खतरा

विमानस्थलको सेटिङ नतोडे गम्भीर खतरा


काठमाडौं । एकपटकमा सय केजीसमम सुन तस्करी भएर आउँदा विमानस्थलको मेसिनले पत्तो समेत पाउँदैन । पछिल्लो समय सुनको कुरा गर्दा दिनमा २०÷२५ केजीका दरले सुन आइरहेको अवस्था प्रकट हँुदै गइरहेको छ । गएको हप्ता मात्रै एकजना यात्रीले साढे १४ केजी सुन भित्री ज्याकेटमा लुकाएर ल्याएको पाइयो । त्यो पनि विमानस्थलको मेसिनले देखाएको होइन । जहाँबाट खरिद भएको हो उतैको सूचनाले यो सुन बरामद परेको हो । सुन पक्राउ परे पनि ल्याउने मान्छे कतै पछुताएकोजस्ता देखिएनन् । यसअघि उनी भेँडाच्याङ्ग्रा चराउने र त्यसको व्यापार गर्दा रहेछन् । पछि त्यो पेसा छाडेर सुन तस्करीमा लागे वर्षमा उनी २५÷३० ओहोरदोहोर गरिसकेका रहेछन् । विमानस्थलले यसको जानकारी समेत पाएन । १४ केजी सुन गोजीमा हालेर विमानस्थल पार हुन खोज्नु लरतरो कुरा होइन । सुन तस्करी भँेडाबाख्रा चराउनुभन्दा सजिलो भइसकेको सन्देश हो यो । कुनै सानो मिलिभगतबाट यो काम सम्भव हुँदैन ।

त्यही विमानस्थलबाट पछिल्लो समय नक्कली कागजातका आधारमा मान्छेहरूलाई विदेश पठाउने गरेको एउटा डरलाग्दो पोल खुलेको छ । रुसी सेनामा भर्ना भएका सयौँको संख्याका विमानस्थलका कर्मचारीको मिलिभगतमा नै गएको भन्ने विवरण आइरहेको छ । पछिल्लोपटक सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करी गरेको आरोपमा पक्राउ परेका कर्मचारीले दिएको बयान झनै डरलाग्दो छ । एकदिनमा मात्रै यस्तो अवैध आवतजावत करोडको हाराहारीमा रकम उठ्ने र बाँडीचुडी गर्ने काम भइरहेको छ ।

अध्यागमन विभाग, नेपाल वायुसेवा निगम र प्रहरीसहितको संलग्नता खुलेको छ । त्यसैकारण होला यस्ता कैफियतहरू कसैले हेर्दैनन् । एक वर्षमा एकजना व्यक्ति त्यति धेरैपटक ओहोरदोहोर गरेको देखिन्छ भने स्वाभाविकरूपले यो अनुसन्धान गर्नुपर्ने विषय हो । तर प्रहरी भन्छः यस्तो सूचना अखबारमा आएको समाचारबाट मात्रै प्राप्त भयो । त्यही एउटा कोठामा रहेको अध्यागमनले यति जानकारी पनि प्रहरीलाई दिएन वा दिइएन भन्ने पनि हेक्का राखिएन । मानव तस्करीदेखि सुनतस्करी समेतमा एउटै सेटिङ देखिन्छ । यसले संस्थागत आकार पाइसकेको बुझाउँछ । त्यसै पनि तस्करीलाई राजनीतिक संरक्षण प्राप्त भएको भन्ने प्रकट भइसकेको छ । सत्तारुढ दलका उपाध्यक्ष नै यसमा संलग्न भएका कुरा प्रविधिले देखाइसकेको अवस्थामा पनि उनलाई उन्मुक्ति दिएको घटना भर्खर मात्रै प्रकट भएको हो । पक्राउ परेका तस्करले उच्च तहका नेता पुत्र संलग्न भएको भन्ने संकेत गरेका थिए तर खोजबिन नै भएन ।

यसलाई तोडिएन भने विमानस्थल अब के होला भन्ने गम्भीर प्रश्न खडा भएको छ । पछिल्लो समय कस्तोसम्म देखियो भने तस्कर गिरेर बस्तु ल्याउने र त्यसबाट घुमफिरको खर्च उठाउने गरी विदेशीहरू नेपाल आउन थालेका छन् । राष्ट्रका लागि यो घातक परिचय हो । खासगरी सुनका सन्दर्भमा त छिमेकी दुई देशका तस्करहरूले विमानस्थल चलाइरहेका देखिन्छन् । सुन पगाल्ने मेसिन राखेर नै तस्करी हुनु भनेको चानचुने कुरा होइन । विमानस्थलमा आकर्षक प्रकारको सेटिङ नभइकन यस्तो सम्भव नै हँुदैन । यसलाई तोड्न जरुरी छ । यो सेटिङले देश यतिबेला रुवाबासीमा छ । मानव तस्करी यति सहज थिएन भने युद्धमा होमिएको देश रुसको सेनामा भर्ना हुन केही जाने थिएन होला । अहिले हामी लास गनिरहेका छौँ । यस्तो अवस्थाबाट देशलाई मुक्ति दिनुपर्छ । सेटिङ तोड्नैपर्छ, देशको छवि बिग्रियो भने त्यसलाई सुधार्न सकिँदैन । त्यसको परिणाम भने सारा नेपालीले भोग्नुपर्छ । राज्य चलाउनेहरूको ध्यान जाओस् । नक्कली भुटानी शरणर्थी प्रकरणले गरको क्षतिमाथि विमानस्थलको यस्तो सेटिङले अर्को क्षति थपेको छ । ख्याल रहोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया