Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआर्थिक सुधारतर्फ सरकार गम्भीर बनोस्

आर्थिक सुधारतर्फ सरकार गम्भीर बनोस्


अर्थमन्त्रीले देशको आर्थिक अवस्था सुधारिएको भनी सार्वजनिकरूपले दाबी गरिरहेकै बेल बजेट घाटा भने खर्बको हाराहारीमा पुगेको छ । यही बीचमा भूकम्पपीडितका लागि सरकारले दिने भनेको रकम पनि निकाशा नभएर उनका लागि अस्थायी टहरा बनाउने काम पनि रोकिएका भन्ने पनि यसै हप्ताका समाचार हुन् । विदेशी मुद्राको सञ्चिति भने बढेको बढेकै अवस्थामा छ । श्रमका लागि विदेश जानेहरूको सङ्ख्या बढेसँगै रेमिट्यान्स बढ्ने गर्छ । त्यसले पनि केही सुधारचाहिँ देखाउँछ ।

तर बजेट घाटा बढिरहनु, बैंकमा बढी मौजाद भएर राष्ट्र बैंकले नगद खिच्नुपर्ने अवस्था आउनु, पुँजीगत खर्च विगतको भन्दा घट्दै जानु र कर्जा प्रवाहमा पनि संकुचन आउनुजस्ता पक्षहरूले अर्थतन्त्र सुधारिएको भन्ने देखाउँदैन । अवस्था कस्तो छ भने सरकारले दिन्छु भनेको किसानका लागि अनुदान पनि दिएका छैन । नगदेबाली भनिएको उखु किसानहरू न्यूनतम मूल्य नतोकिएको र विगतमा दिन्छु भनेको अनुदान नपाएर आन्दोलित छन् । दूध बेच्ने किसानहरूको अर्बौँको रकम जाममा छ । अर्थतन्त्र बिग्रिएका कारण त्यसबाट जनजीवनमा पार्ने असरका यी केही नमुना हुनुपर्छ ।

महालेखा नियन्त्रकको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को हालसम्म सरकारको बजेट घाटा साढे ७० अर्ब पुगेको छ । गएको चार महिना (साउन–मङ्सिर)मा चार खर्ब ५२ अर्ब ९८ करोड रुपैयाँ बराबर बजेट खर्च हुँदा आम्दानी भने राजस्व र अनुदानतर्फ गरी तीन खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ भयो । चालू आर्थिक वर्षको प्रारम्भ अर्थात् चौमासिकमा नै सरकारी आम्दानीभन्दा खर्च बढी भएको अवस्था छ । अर्को चौमासिकमा सुधार हुन्छ भन्ने संकेतहरू पनि देखिएका छैनन् । आयातीत वस्तुको व्यापार पनि घटिरहेको छ । यसको अर्थ राजस्वको स्रंोत संकुचन हुँदै जानु हो । अघिल्लो वर्ष विदेशी मुद्रा जोगाउन सरकारले कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यसको परिणाम राज्यको आम्दानीमा पर्न गयो । त्यो करिब चार÷पाँच खर्बकै हाराहारी लक्ष्यभन्दा कम राजस्व उठेको वर्ष थियो । चालू वर्ष आयात व्यापार घट्नुमा बजारमा माग नै घट्नु रहेको भन्ने सरोकारवालाको बुझाइ छ । आम्दानी घटेकै कारण विगतमा लिइएको ऋणको सावाँ ब्याज तिर्न पनि ऋण नै लिइएको थियो । यता ऋणको सावाँ ब्याज तिर्न पनि ऋण नै लिनुपर्ने अवस्था र उता पुँजीगत खर्च भने झनै घट्दै गएको अवस्थाले अर्थतन्त्रमाथि संकट आइपरेको देखाउँछ ।

दुई हप्ताअघि मात्रै प्रधानमन्त्रीले आह्वान गरेको संकट टार्नेबारेको छलफलले पनि गरेको संकेत त्यस्तै हो । अवस्था कस्तोसम्म भने सरकारले लगाएको कामको भुक्तानीसमेत दिन सकिएको छैन । यो आफैँमा एउटा गम्भीर कुरा हो ।चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । बजेट त आयो तर उसले लक्ष्यअनुसार खर्च गर्न नै सकेको छैन । राजस्व नै संकलन हुन नसकको कुरा त छँदैछ । पछिल्लोसमय अप्रत्यासितरूपले केही अर्ब राजस्व थपिन गएको छ ।

तर त्यो स्थायी होइन बरु सरकारले तरकारी समूहको आलु र प्याजमा लगाएको थपकरले बजारमा नकारात्मक सन्देश दिएको छ । बितेको पाँच महिनामा चालूतर्फ ३३ दशमलव ५३ र पुँजीगत खर्च ११ दशमलव ९४ प्रतिशत भएको छ । पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च १८ दशमलव ५२ प्रतिशत पुगेको देखियो । यी विवरणहरूले आर्थिक सुधार भएजस्तो देखाउँदैन । केही सूचकले मात्रै सरकार उत्साहित हुने बेला यो होइन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया