Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयस्वास्थ्य सामग्रीको न्यायोचित वितरण होस्

स्वास्थ्य सामग्रीको न्यायोचित वितरण होस्


काठमाडौं
कोरोना महामारीमा सरकारी अव्यवस्थाको सबैभन्दा चरम अवस्था थियो अक्सिजनको अभाव । यसको कारण पछिल्ला दिन मृत्युदर दुई सय ५० को हाराहारीसम्म पुग्यो । अक्सिजन अभाव हुनथालेको समय डेढ महिनाजति भयो । तर अझै पनि यसको समुचित व्यवस्थापन हुन अझै सकेको छैन । यसबीचमा एउटा सकारात्मक पक्ष के देखियो भने अक्सिजनसहितका उपचारका सामग्रीहरूमा अन्तर्राष्ट्रिय जगतले नेपालप्रति चासो देखाएका छन् ।

छिमेकीदेखि सात समुद्रपारका मुलुकबाट पनि यस्ता वस्तुहरू सहयोगमा आइरहेका समाचार दिनहुँ सुनिरहिएका छन् । तर ती वस्तुको उपलब्धताको महसुस गर्न पीडितहरूले पाएका छैनन । यसो हुनुको कारण हो जे–जति वस्तु उपलब्ध भए तिनको न्यायोचित वितरण नहुनु र हुन्छ भन्ने पनि नपर्नु । सरकारले न्याय गर्छ भन्ने आम नागरिकलाई लागेको छैन ।

कारण हो सरकार पनि महामारीको यसप्रकारको विस्तारमा पूर्वतयारी नहुनु र यति धेरै क्षति हुँदा पनि अलमलमा रहनु । उदाहरणको लागि प्राणवायु अक्सिजनको वितरणका लागि सरकारी निकायबीच नै तानातान र खोसाखोस चल्नु । यो एकप्रकारको घातक कुरा नै हो ।

पछिल्लो समय त कतिसम्म भएको देखियोे भने चीन सरकारले अनुदानमा दिएको चार सय थान अक्सिजन सिलिन्डर बाटोबाट गायब भयो । एउटा सिलिन्डर फेलापरेको अवस्थामा एक जना मान्छे बाँच्ने र कसैको जीवनमरणसँग जोडिएको कुरामा यस्तो हुनु सामान्य कुरा होइन ।

काठमाडौँ आइपुगेका यी सिलिन्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले १३ वटा अस्पताललाई भाग लगाइदिएको भन्ने विवरण त्यसबेला समाचारमा आएका थिए र ती अस्पतालका बिरामीहरूले प्रतीक्षा गरिरहेका थिए । तर पछि ती अस्पतालले विभागले तोकेअनुसार चिनियाँ सिलिन्डर नै पाएनन् । यो सामान्य कुरा थिएन ।

अक्सिजनका सिलिन्डर गोजीमा लुकाउने कुरा होइन । तर पनि गायब भए । यो आफैँमा अचम्मको कुरा थियो । यो कसरी सम्भव भयो ? भनिएला जसले लगे पनि मान्छेको शरीरमा नै परेको हुनुपर्छ र त्यसको जीवन जोगिएको हुनुपर्छ । यदि त्यसो हो भने पनि एकप्रकारले ठीकै मानौँ । यो बेला यस्तो प्राणवायुको जोहो आफैँ गर्नुपर्ने वातावरण थियो सरकारले हात उठाएका कारण । त्यस्तो बेला सर्वसधारणले भेटेसम्मको जोहो गर्ने भए नै ।

तर यसरी प्राप्त भएको सहयोगका सामग्री बाटैबाट गायब पार्नेहरू सांसद रहेको खुलेको छ । खोज्दै जाँदा चीन सरकारले अनुदानमा दिएका यी अक्सिजन सिलिन्डर सत्तारुढ नेकपा एमालेका सांसदहरूले राजनीतिक पहुँचका आधारमा आफ्नो निर्वाचन क्षेत्रमा भएको अस्पताल तथा आइसोलेसन सेन्टरमा दिनका लागि भनी ती सिलिन्डर बाटैबाट लगेका रहेछन् ।

समाचारमा जनाइएअनुसार दाङका लागि मात्र एमाले सांसदहरूले २७ वटा अक्सिजन सिलिन्डर लान ठीक पारिएको र त्यसका लागि चार/पाँच दिनअघिदेखि नै लुकाएर राखेका अवस्थामा पाइयो । यो ठाउँको गम्भीर आपत्तिको कुरा हो लुकाइएको यो एक हप्ताको समयमा त्यति अक्सिजन सिलिन्डरबाट कति जनाको ज्यान बाँच्नेथियो ? यो भनेको सहयोगको सही उपयोग हुनसकेन सत्ताको पहुँचले प्रभाव पा¥यो । यस्तै हुन्छ भने अहिले दाताहरूले सहयोग दिइरहेका छन् भनेर मख्ख पर्ने अवस्था नहोला । महत्वपूर्ण कुरा त्यसको न्यायोचित वितरण हुनु हो । अब यस्तो नहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया