Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयतथ्यांकले देखाएको केही आर्थिक फैलावट

तथ्यांकले देखाएको केही आर्थिक फैलावट


काठमाडौं । अर्थतन्त्र गम्भीर संकटमा परेको र केही समयमा नै श्रीलंका बन्छ भनी आकलन गरिरहिएको बेला विभिन्न विवरण र तथ्यांकहरूले भने स्थिति भिन्नै देखाएका छन् । श्रीलंकाको र नेपालको आर्थिक अवस्था वास्तवमा नै आकाश–पातलको अन्तरजस्ता थिए । विश्व बैंकले नै नेपाल श्रीलंकाको बाटोमा नरहेको भनी प्रस्ट पारेको थियो । खासगरी विदेशी मुद्राको सञ्चितिमा केही कमी आउन थालेपछि श्रीलंकाको उदाहरण दिन थालिएको थियो । श्रीलंका विदेशी मुद्रामा तिर्नुपर्ने रकम मुद्राको सञ्चिति धेरै घटेको कारण ऋण नै तिर्न नसक्ने गरी एकप्रकारले टाट पल्टिन लागेको अवस्थामा पुगेको त्यो देशको उदाहरण नेपालसँग मिल्ने खालको थिएन ।

विश्व बैंकले भनेअनुसार नेपालले संस्थागतबाहेक कम्पनीसँग ऋण नलिएको उदाहरण दिएको थियो । त्यस कारण पनि त्यो देशसँग नेपालको स्थिति तुलना नै गर्न नमिल्ने भन्ने उसको ठहर थियो । पछिल्लो समय सार्वजनिक भएका तथ्यांकहरूले सो कुरा पुष्टि गरे मात्र होइन अर्थतन्त्र विगतको भन्दा विस्तार भएका विवरणहरू प्रकट हुनथाले । यो कुरा देशका लागि सकारात्मक पक्ष हुनुपर्छ ।

हालै राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेका तथ्यांकअनुसार चालू वर्षमा आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत अर्थात् करिब–करिब छ प्रतिशतको हाराहारीमा रहनेछ । यो भनेको अर्थतन्त्रको सबल पक्ष नै हो । यही क्रममा चालू आर्थिक वर्ष २०७८/०७९ मा अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने देखियो । केन्द्रीय तथ्यांक विभागले पछिल्लो समय सार्वजनिक गरेको विवरणमा चालू २०७८/०७९ वर्षमा अर्थतन्त्रमा यस्तो विस्तार हुनेभएको हो ।

विभागअनुसार चालू आर्थिक वर्षमा नेपालको कुल उत्पादन ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रहनेछ  । यो ७३ खर्ब ५६ अर्ब ६१ करोडको उत्पादन हुनका लागि ३२ खर्ब ५१ अर्ब छ करोड रुपैयाँ खर्च हुनुपर्छ । यति खर्च हुनु भनेको खर्चको क्षमतामा पनि वृद्धि हुनु हो । यसले अर्थतन्त्रको विस्तार वा आकार ४१ खर्ब पाँच अर्ब ५४ करोड रहने अनुमान गराउँछ । विभाग भन्छ चालू मूल्यमा भने अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड हुनेछ । विभागको तथ्यांकले नेपालमा यो वर्ष वस्तु तथा सेवाको आयात १८ खर्ब २० अर्ब ८२ करोड हुने देखाएको छ । उक्त आयात कुल गार्हस्थ्य उत्पादनको ४१ दशमलव ४९ प्रतिशत हो । प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादनमा एक हजार तीन सय ७२ अमेरिकी अर्थात् एक लाख ६४ हजार पाँच सय ९८ रुपैयाँ पुग्नेछ । विभाग भन्छ, प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादनमा एक हजार तीन सय ८१ अमेरिकी डलर अर्थात् एक लाख ६५ हजार छ सय ४९ रुपैयाँ पुग्नेछ ।

अर्थतन्त्रसँग सम्बन्धित यी विवरणहरू धेरै राम्रा होइनन् । राजस्वको स्रोत अझै पनि आयात बजारमा नै केन्द्रित छ । एकातिर विनिमय मुद्राको सञ्चिति घट्दै जानु र देशको आयको मूल स्रोत आयातित व्यापार हुनु आफैँमा नमिल्दा कुरा हुन् । पछिल्ला समय कतिपय वस्तुका आयातमा प्रतिबन्ध समेत लागिसकेको छ । तर पनि अर्थतन्त्रका बारे जसरी डामाडोल भएको भनी बताउन थालिएको थियो त्यो अवस्थामा भने यी विवरणले केही ब्रेक लगाएका नै मान्नुपर्छ । अर्थतन्त्रका बारे जति नकारात्मक प्रचार भयो त्यसले असर पार्छ । खासगरी यस्तो प्रचारले बजार असन्तुलन हुन्छ र त्यसको मार सर्वसाधारणले सहनुपर्छ । त्यस कारण पनि अर्थतन्त्रलाई केबल आलोचनाको विषय मात्रै नबनाऔँ भनिएको हुनुपर्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x