Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयउम्मेदवारबाट सामाजिक मर्यादाको पालना होस्

उम्मेदवारबाट सामाजिक मर्यादाको पालना होस्


काठमाडौं । देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिका हो । यहाँ सबैभन्दा ठूलो दलबाट प्रस्ताव भएका नगरपिताका एक उम्मेदवारमाथि यतिबेला नगरवासीका तर्फबाट गम्भीर प्रश्नहरू उठेका छन् । तर तिनले आजको दिनसम्म उत्तर भने पाएका छैनन् । जे उत्तर पाए त्यसलाई उत्तर भन्न मिल्दैन । त्यो आक्रोश हो । आक्रोश पनि कस्तो भने प्रश्न सोध्ने नागरिकप्रति नै गम्भीर आक्षेपयुक्त । सार्वजनिक पदाधिकारी हुन् भने जोसुकैले आफ्ना नागरिकप्रति उत्तरदायी हुनुपर्छ । त्यसै पनि लोकतन्त्रलाई उत्तरदायी व्यवस्था भनिन्छ । नागरिकका र खासगरी कसैबाट भएका दुर्व्यवहारका बारेमा त जोसुकैप्रति उठेका प्रश्न निरत्तरित रहनु हुँदैन । तर काठामाडौं महानगरपालिकाका मेयरका उम्मेदवारबाट जस्तो सामाजिक उत्तरदायित्वको अपहेलना भयो त्यो आफैँमा आपत्तिको विषय हो । सञ्चार माध्यम र सामाजिक सञ्जालमा जस्ता प्रतिक्रिया आइरहेका छन्, यसले पनि यो काम नागरिकको मन दुखाउने खालको रहेछ भन्ने देखाउँछ ।

गत हप्ताको अन्त्यतिर एउटा सार्वजनिक समारोहमा एक जना नागरिकद्वारा यी उम्मेदवारमाथि एउटा प्रश्न सोधियो । त्यो थियो, उनी पहिले यही नगरको मेयर भएका बेलाको महिलामाथिको एउटा दुर्व्यवहारको आरोपबारे । काठमाडौं महानगरका मेयरका उम्मेदवारबीच अन्तरक्रिया कार्यक्रममा सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोध्न खोज्दा जस्तो असामाजिक नै भन्नुपर्ने गरी जवाफ आयो त्यसमा अहिलेसम्म पनि सबैतिरबाट खेद प्रकट भइरहेको छ । प्रश्नमा भनिएको थियो– विगतमा महागनर यस्तो चलाएको भन्नुभयो, तर विगतमा गएर हेर्दा तपाईँलाई दुई जना महिलाले मिटूको आरोप पनि लगाएका छन्, तपाईँले भोलि मेयर जितेको अवस्थामा तपाईँको अफिस जानलाई म सुरक्षित हुन्छु कि हुँदिनँ ? अथवा तपाईँकै उपमेयर सुरक्षित हुनुहुन्छ कि हुनुहुँदैन, आज यहाँ हामीलाई तपाईँको एक्सपेलेसन (स्पस्टीकरण) चाहिएको होइन, एकाउन्टेबिलिटी (जवाफदेहिता) चाहिएको हो, गल्ती भएको हो भने त्यो अपराध हो, अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि भएको होइन भने तपाईँ मेयरको उम्मेवादर हो, हामी सबैको भोट तपाईँलाई चाहिन्छ र जित्छु भन्ने अपेक्षा राख्नुहुन्छ भनेचाहिँ त्यसलाई स्पष्ट गर्नुपर्छ, अब यसमा नबोलौँ भनेर भएन, किनभने, महिला नै तपाईँको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनुहोला, यो तपाईँलाई सुहाउँदा पनि सुहाउँदैन ।

यो एक जना महिलाको प्रश्न थियो । विगतको आफ्नो कार्यकालमा आरोप लागेको कुरा यहाँ मात्रै उठेका होइन । यहाँ त सम्झाइएको मात्र थियो । तर त्यसको उत्तर कस्तो आयो भने सहभागीहरूले पहिलेको भन्दा पनि बढी हुनेगरी दुर्व्यवहार भएको महसुस गरे । पछि त्यसको दृश्यबाट अरुलाई पनि आपत्ति जनाउन बाध्य बनायो । उनले प्रश्नकर्ता महिलालाई नै भने ‘यु आर नाइस लेडी, बट थुतुनो ठीक भएन ।’ यतिले मात्र पुगेन उनले थपे, ‘म भोलि यो महिलाले प्रोस्टिच्युसन (वेश्यावृत्ति) गर्छ भनेर छपाऊँ ?’ सम्म भन्न भ्याए । प्रश्नको उत्तर दिने क्रममा नै उनले कराँते सिकेकोे, आफू रिसको भाँडो भएको सम्मका कुरा भने । यसको अर्थ सोधिएका प्रश्नसँग मात्रै सीमित रहँदैन । यसले के देखाउँछ भने राजनीतिक दलहरूले आफ्ना उम्मेदवारलाई सामाजिक मर्यादा कायम राख्न प्रशिक्षण दिन र त्यस्तो मर्यादा उल्लंघन गर्नेमाथि कारबाही पनि चलाउन जरुरी छ । उम्मेदवारको चरित्रमाथि प्रश्न उठेपछि त्यो चुनावी भनेर पन्छिन मिल्दैन । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x