Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयशैक्षिक क्षेत्रलाई नै बिगार्ने दुईदिने बिदा खारेज गर

शैक्षिक क्षेत्रलाई नै बिगार्ने दुईदिने बिदा खारेज गर


काठमाडौं । विगतमा नै एक पटक असफल भइसकेको दुईदिने बिदा लागू हुने मिति अब हप्ता दिनको हाराहारीमा छ । आउँदो जेठ १ गतेदखि यस्तो व्यवस्था लागू हुने भनी सरकारले १५ दिनअघि यस्तो घोषणा गरेको थियो । त्यो दिन आउन अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबारदेखि नै यो लागू हुनुपर्छ, यदि सरकारको घोषणाअनुसार भयो भने । तर यो हुबहु लागू हुनेजस्तो देखिँदैन । कारण हो, यसको समुचित अध्ययन नभई घोषणा हुनु । अर्को कुरा त्यसले पार्ने नोक्सानीलाई सरकारकै कुनै एउटा निकायको नाफानोक्सानसँग जोडेर यस्तो बिदाको व्यवस्था गर्नु । जसले देशमा पर्ने विभिन्न प्रकारको क्षतिको आकलन पनि भएको छैन । त्यसै कारण होला यो निर्णय अमान्य हुने संकेत प्रकट हुन थालिसकेका छन् । निकै पहिले सरकारले नै यस्तो बिदाको अभ्यास गरेको थियो तर टिकेन । सर्वोच्च अदालतले वर्ष दिनसम्म अभ्यास गरेर पछि अव्यावहारिक भयो भन्यो । सरकारले हचुवामा गरेको यो पछिल्लो निर्णयको हविगत पनि त्यस्तै हुने संकेत देखापर्न थालेका छन् ।

हप्तामा दुई दिन बिदाको यो व्यवस्था व्यावहारिक नभएको भन्दै शिक्षा क्षेत्रले व्यापक विरोध गर्न थालेको छ । यो निर्णयको पृष्ठभूमि आयातित इन्धन जोगाउन भन्ने छ । अवस्थाचाहिँ कस्तो भने मोटरगाडी नै नपाउने भएका जिल्ला र पालिका पनि आफ्ना विद्यालयहरू बन्द गर्न बाध्य हुने भए । अझै पनि सरकारी स्वामित्वका विद्यालयहरूमा गाडी छैनन् । यी विद्यालयमा पढ्ने विद्यार्थीको संख्या भने ५० लाखभन्दा माथि छ । ती सबै पैदल नै विद्यालय आवतजावत गर्छन् । तर यो बिदाले ती विद्यार्थीलाई पनि हप्ताको दुई दिन घरमै बस्न बाध्य पार्नेछ । बिदाको यो दिन नजिक आउँदै जाँदा निजी विद्यालयका तीन संस्थाले पनि यसको विरोध गरेर कार्यान्वयन गर्न नसकिने बतायो ।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले बिदाको यो व्यवस्था कार्यान्वयन नगर्ने जानकारी गराएको छ भने प्याब्सन र राष्ट्रिय प्याब्सन (एन प्याब्सन)ले पनि त्यस्तै प्रकारको प्रतिक्रिया दिएको छ । सरकारको निर्णयमा दुई दिनको बिदाको यो व्यवस्था शैक्षिक क्षेत्रमा पनि लागू हुने भनेको थियो । शिक्षकहरूका अनुसार दुईदिने बिदाको यो व्यवस्थाले खासगरी स्कुलको पठनपाठन, परीक्षालगायत सबै विषयमा समस्या पर्ने हुन्छ । शिक्षा भनेको निरन्तर चलाउन सेकमा मात्रै बढी लाभकारी हुन्छ । बिदाका दिनको क्षतिपूर्ति गर्न अरु बार पठनपाठन लामो समयसम्म चलाउनुपर्ने हुन्छ । त्यस्तो बेला विद्यार्थीले कक्षा धान्न सक्ने अवस्था घट्छ । बिदाको यस्तो व्यवस्था गर्नुपहिले अध्ययन हुनुपर्ने थियो । त्यो भएन ।

विद्यालय भनेका पाठ्यभारले चल्ने संस्था हुन् । वर्ष दिनमा तोकिएअनुसारको पाठ्यभार पूरा भएन भने त्यसले असर पार्छ । शिक्षकका अनुभवमा अहिलेकै अवस्थामा पनि कतिपय बेला र विषयका लागि शनिबार समेत अतिरिक्त कक्षा चलाउनुपर्ने हुन्छ । त्यस्तो बेला दुईदिने बिदाले सरकार आफैँले लागू गरेको पाठ्यभार पूरा हुँदैन र शैक्षिक सत्र सक्न पनि मुस्किल हुनेछ । सरकारी कार्यालय भने जसरी पनि चल्न सक्छन्, उनीहरुलाई जति बढी बिदा भयो त्यति फाइदा हुन्छ । त्यसबाट पीडित हुनेचाहिँ सर्वसाधारण नै हुन् । कर्मचारी प्रशासन उत्तरदायी छैन, कामचलाउको अवस्था मात्रै छ । तर विद्यालय त्यस्ता होइनन् । त्यस कारण पनि सरकारको यो निर्णय वा व्यवस्थामा पुनर्विचार हुन आवश्यक छ । अन्यत्र जे होस् शिक्षा क्षेत्रमा त दुईदिने बिदाको निर्णय फिर्ता हुनै पर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x