Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअर्थतन्त्रमाथिको आसन्न संकटप्रति सतर्क रहौँ

अर्थतन्त्रमाथिको आसन्न संकटप्रति सतर्क रहौँ


काठमाडौं । अर्थमन्त्रीले गभर्नरका विरुद्ध गरेको कारबाही पूर्वाग्रही साबित भयो । अदालतले नै प्रतिशोध साँधेको जस्तो देखिने गरी अदालतले गभर्नरलाई पुनस्र्थापन गरेपछि मन्त्रालय र राष्ट्र बैंकबीच समन्वयको अभाव हुनु स्वाभाविक छ । यस्तो बेला त्यसै पनि संकटोन्मुख अर्थतन्त्रमा अर्को संकट थपिने भयो नै ।

आफूलाई अदालतले पुनर्बहाल गरेपछि गभर्नरको प्रतिक्रिया आयो आफूले कुनै पूर्वाग्रह नराखी काम गर्ने भनेर । यसले नै देखाउँछ अर्थतन्त्रसँग घनिष्टरूपले जोडिने यी दुई निकाय मन्त्रालय र बैंकबीच सम्बन्ध राम्रो छैन । गभर्नरले अर्थमन्त्रीसँग पूर्वाग्रह राख्दा बिग्रने त देशको अर्थतन्त्र नै हो । गभर्नरको यो भनाइले बुझाउने कुरा हो उनीभित्र प्रतिशोधको भावना कायम छ नत्र केटाकेटीले जस्तो अर्थात् व्यक्तिगत तवरमा प्रकट हुने यस्तो प्रतिक्रिया नै आउने थिएन ।

यी दुई पदाधिकारीबीचको यस्तो सम्बन्धले अर्थतन्त्रलाई समुचितरूपमा चल्न दिँदैन । केही पहिले राष्ट्र बैंकबाट सूचना चुहेका कारण विदेशी मुद्रामा ठूलो क्षति हुनेगरी र कुनै घरानीयाको ठूलो फाइदा पुग्नेगरी काम भएको भनी समाचार आएका थिए । यसको दोषी गभर्नर हुनुपर्ने हो । उनको नेतृतवमा रहेको संस्थाबाट त्यस्तो सूचना चुहेको थियो तर उनीमाथि सामान्य प्रश्न समेत गरिएन । अर्थ र बैंकबीचको सम्बनधले यस्ता दर्जनौँ विषयहरू गुपचुप भइरहेका छन् । यस्तो बेला देशको अर्थतन्त्र स्वाभाविकरूपले पनि संकटतिर लाग्ने भयो नै ।

गएको हप्ता आयोजित एउटा कार्यक्रममा अर्थविद्हरूले नेपाली अर्थतन्त्रका बारे औँल्याइएका विषय पनि आउन लागेको आर्थिक संकटतर्फकै इशारा थियो । उनका अनुसार देशको अर्थतन्त्र यतिबेला कुशासन र सनकको भरमा चलिरहेको छ । अर्थतन्त्रका बारे भएगरिएका निर्णयहरू धेरैजसो हचुवाका भरमा भएका देखिन्छन् । उनका अनुसार अर्थतन्त्र बिग्रन ठूला घटना परिघटना नै आइपर्नुपर्छ भन्ने हुँदैन, आर्थिक कुशासन, नीतिगत कच्चापन, वित्तीय अपारदर्शिता र जिम्मेवार ठाउँमा रहेकाहरूको एक–अर्काप्रति प्रतिशोधात्मक भावनालगायतका कारणहरू मुख्य हुन सक्छन्, जसले संकट ल्याउन सक्छ । विज्ञका अनुसार श्रीलंकाको संकट यस्तो कुरा जोडिँदा जोडिँदै आयो जसको अब त समाधान हुन पनि कठिन छ । श्रीलंका जसरी अहिलेको अवस्थामा आयो त्यो यस्तै यस्तै कुरा जोडिँदै गएर हो, जुन गन्तव्यमा नेपाल पनि लागेको हो कि भन्ने देखिन्छ ।

‘नेपाली अर्थतन्त्रको आगामी दिशा’ भन्ने कार्यक्रममा व्यक्त विज्ञहरूको सुझाव यसतर्फ सरकार गम्भीर बनोस् भन्ने हो । सो कार्यक्रममा सबैको साझा कुरा थियो नेपालमा पनि अर्थतन्त्र बिगार्ने खालको प्रवृत्ति प्रकट हुँदै छन् । विज्ञले बताएअनुसार देशमा अर्थ मन्त्रालयलगायतका आर्थिक संस्थाको व्यावसायिकतामा क्षयीकरण बढ्दै छ । नीतिगत पृष्ठपोषणका संस्थाहरूलाई पनि अध्ययन–अनुसन्धान, संयोजन, समन्वयकारी भूमिका केन्द्रित गरेको पाइन छाडेको छ । शोधकेन्द्रहरू, तथ्यांक विभाग र विश्वविद्यालयहरूदेखि लिएर वित्त आयोग र योजना आयोगसम्मको भूमिका संकुचनमा आउँदै छन् ।

विज्ञहरूले औँल्याएका यी कैफियतहरूको निष्कर्ष हुन्छ, एक दिन अर्थतन्त्र संकटमा पर्दै छ । तर यति हुँदा पनि सुधार गर्ने ठाउँ छ र उल्लेख भएका निकायगत समन्वयलाई फेरि पूर्ववत् चलाउनुपर्छ । धेरै पटक भनिँदै आइएको छ, श्रीलंकाको अहिलेको संकट ‘तिर्न नसकिने ऋण र पुर्न नसकिने शोधनान्तर घाटा’ नै हो । त्यो स्थिति हामीकहाँ आइपुगेको छैन । तर वित्तीय संस्थाको निकायगत समन्वय हुन सकेन भने त्यस्तो स्थिति आउँदैन भनी कसैले पनि ठोकुवा गर्न सक्तैन । जब अर्थमन्त्री र केन्द्रीय बैंकका प्रमुखबीच नै एक–अर्काप्रति दुश्मनीको भावले काम गरेको छ भने त्यसले दुर्घटना निम्त्याउँछ नै । सतर्क हुनुपर्ने ठाउँ र बेला यही हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x