Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआकाशिँदै गएको मूल्यप्रति सतर्कता आवश्यक

आकाशिँदै गएको मूल्यप्रति सतर्कता आवश्यक


काठमाडौं । आर्थिक आयव्यय र देशले चालू वर्ष गर्ने कामको सूची समेटिएको दस्ताबेज हो, बजेट । त्यो कति भरपर्दो हुनुपर्छ भने देशका सबै आर्थिक, सामाजिक र कतिपय अवस्थामा राजनीतिक कार्यक्रमहरू समेत त्यसैबाट निर्देशित हुन्छन् । त्यस कारण पनि बजेटमा लेखिएका कुराहरूको अक्षर–अक्षर महत्वको हुन्छ र संवेदशील पनि । तर पछिल्ला दिनमा बजेट एउटा ढाँटको दस्ताबेज बन्दै गइरहेको छ, जो दुःखको कुरा हो ।

पछिल्लो समयको बजेटका कारण केही नागरिक आन्दोलनमा उत्रिए । देशले उत्पादन गर्नुपर्ने वस्तुमा करको व्यवस्था यस्तो भयो कि कुनै अर्को देशबाट तयारी वस्तु ल्याउँदा फाइदा हुने भयो । देशमा चलिरहेका उद्योगहरू बन्द हुने भए । यसले आफ्ना देशका नागरिक र खासगरी उद्योगधन्दामा लागेकाहरूलाई सडकमा नै उता¥यो । यो संसद्मा छलफल चलिरहेको बजेटको कुरा हो । सर्वसाधारणका लागि मूल्यवृद्धि अर्को चुनौती थपियो । बजेटले चालू वर्ष सात प्रतिशतमा राख्छु भनेको मूल्यवृद्धि अहिले नै ८ प्रतिशत नजिक पुगिसकेछ । यसले बजेटमा भएको व्यवस्था कसरी पत्याउने भन्ने प्रश्न जन्माउँछ ।

जेठ १५ मा प्रस्तुत भएको बजेटबारे संसद्मा छलफल चलिरहेकै बेला सार्वजनिक भएका विवरणहरूले सरकार र नेपाल राष्ट्र बैंकले मुद्रास्फीतिलाई लक्षित सीमाभित्र राख्ने भनी गरेका घोषणाहरू कार्यान्वयनमा आउने लक्षण देखिएन । यसले चौतर्र्फी रूपमा पार्ने प्रभाव र महँगीको अत्यधिक भार बढाउने संकेत देखाउँछ । यो निश्चय नै स्वागत गर्नलायक विषय होइन । राष्ट्र बैंकले अघिल्लो वर्ष चालू मौद्रिक नीतिमा मुद्रास्फीतिलाई साढे ६ प्रतिशतभित्र राख्ने भनेको थियो । तर फेरि उसैले यही समयमा त्यो करिब ८ प्रतिशत नजिक पुगेको बताएको छ ।

बैंकका अनुसार चालू आर्थिक वर्ष सकिँदा मुद्रास्फीति लक्षित सीमाभन्दा धेरै माथि पुग्यो । उसले तोकेको सीमाभन्दा दुई प्रतिशत बढी देखिनु मूल्यवृद्धिका सन्दर्भमा सामान्य कुरा होइन । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको एउटा अध्ययनमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांकमा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ८७ प्रतिशत पुगेको देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ को यो समयमा यो अंक ३ दशमलव ६५ प्रतिशत थियो । यो अंकबाट अनुमान गर्न सकिन्छ मुद्रास्फीति कसरी बढिरहेको छ भन्ने । यसप्रकारको बढ्दो मुद्रास्फीतिको प्रभाव वा कुप्रभाव खाद्य तथा पेयपदार्थ समूह र गैरखाद्य तथा सेवा समूह दुवैतर्फ समानरूपले रहेको देखियो । यसको अर्थ हो बजेटले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न सकेन ।

आउँदो वर्षको बजेट घोषणा हुँदा र पारित नभएको क्षणमा नै अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति अर्थात् महँगी करिब पाँच प्रतिशतले बढेको देखियो । त्यो वर्ष ३ प्रतिशत थियो भने अहिले ८ प्रतिशत । आउँदो वर्ष त्यसलाई ७ प्रतिशतमा राख्ने भनिएको छ । यसैलाई आधार मान्ने हो भने पनि यो अघिल्लो वर्षको तुलनामा पूरै ४ प्रतिशत बढी हो ।

बैंकको अध्ययन विवरणअनुसार ०७८ वैशाख महिनाको तुलनामा ०७९ वैशाख महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ३० प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ५३ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको ९ दशमलव ७ प्रतिशत मूल्यवृद्धि रहेकोे छ । यही रूपले मूल्य बढेमा आगामी वर्ष यिनै वस्तुको मूल्यवृद्धि कति होला अनुमान पनि गर्न सकिने अवस्था छैन । सरकार समयमा नै सतर्क हुन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x