Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयवैदेशिक रोजगारीले पारिवारिक विखण्डन

वैदेशिक रोजगारीले पारिवारिक विखण्डन


काठमाडौं । देशका लागि अनिवार्य आवश्यकताजस्तो बनेकोे वैदेशिक रोजगारी नेपाली परिवारका लागि भने खुशी दिनेभन्दा विखण्डन ल्याउनेखालको बन्न पुगेको छ । जिउँदो गएको मान्छे बाकसमा बन्द भएर फर्कने क्रम बढेको आवस्था, कतिपय उतै कोमामा रहेका र कतिपय विदेशमै बेपत्ता रहेका अवस्थाले यस्तो दुःखद चित्र देखाएको छ । त्यसमाथि यी सबैबाट जोगिएको अवस्थामा पनि तिनको पारिवारिक स्थिति विखण्डनतर्फ बढेको भन्ने जानकारीले त यसका बारे राज्यले गम्भीर भएर सोच्न र उपयुक्त रूपको उपचार थाल्न आवश्यक भइसकेको देखाउँछ । यस्ता दृश्यहरू सरकारी अध्ययनबाट नै प्रकट भएका हुन् ।

पछिल्लो समय यस्ता ठूला मार्मिक पक्षहरू प्रकट भएका छन् वैदेशिक रोजगारीसँग जोडिएर । मिटरब्याजीको शिकार भएका खासगरी तराई क्षेत्रका न्यून आय भएका परिवार सुुकुमबासीमा परिणत भएका छन् । सरकारको अध्ययनमा यो विषय परेको छैन तर विभिन्न संघसंस्थाहरूले गरेका स्वतन्त्र अध्ययनमा वैदेशिक रोजगारीमा जानका लागि ऋण लिएर मिटरब्याजीका षड्यन्त्रका कारण घरबारी गुमाएकाहरूको संख्या ठूलो रहेको देखिएको छ । यता योजना आयोगले गरेको अध्ययनमा भने पारिवारिक विखण्डनको आकार बढेको मात्र देखाएको छ । तर पनि सरकारकै भनाइमा पनि देशका लागि यो एउटा ठूलो समस्या त भयो नै ।

हालै राष्ट्रिय योजना आयोग गरेको ‘वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ को निष्कर्षमा वैदेशिक रोजगारीको कारण परिवार विखण्डन हुने, विदेशबाट पठाएको रकम हिनामिना, आश्रित परिवारका बुढाबुढी, बालबच्चाको हेरचाहमा समस्या आउने गरेको देखाएको छ । यति हुँदाहुँदै पनि विपन्न परिवारका आधारभूत आवश्यकताहरू गाँस, बास, स्वास्थ्य, शिक्षा पूरा गर्न भने वैदेशिक रोजगारीबाट प्राप्त रकमको भूमिका ठूलो रहेको देखियो । प्रतिवेदन भन्छ, ‘विप्रेषणको कारण आम नेपालीको आयमा सकारात्मक परिवर्तन आएको, जसका कारण उनीहरूको पहुँच शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतासम्म पुगेको र आधारभूत आवश्यकतामाथि पहुँच पुग्नुलाई सामाजिक सुरक्षाको एउटा कसी हुनगएको छ ।

यो अध्ययनले रोजगारीमा गएकाहरूको आश्रित परिवारको आर्थिक अवस्था उच्च बनाएको र त्यसले बचत र खर्च गर्ने क्षमतामा वृद्धि देखायो । उनीहरूका सामाजिक अवस्था, स्वास्थ्य, शिक्षा आदिमा पहुँच बढाएको अवस्था पनि सकारात्मक नै मान्नुपर्छ । अर्को, वैदेशिक रोजगारीमा गएका व्यक्तिले कमाएको रकम प्रतिव्यक्ति आयभन्दा बढी नै रहेको हुँदा वैदेशिक रोजगारीले गरिबी घटाउन महत्वपूर्ण योगदान गरेको प्रतिवेदनको निष्कर्ष छ । विप्रेषणको कारण ७० प्रतिशतको खर्च गर्ने अवस्थामा परिवर्तन आएको आफ्ना बालबालिकालाई सस्तो विद्यालयबाट महंगो सरकारी विद्यालयबाट निजी विद्यालयमा स्थानान्तरण गरेका अवस्था परिवार विपन्नताबाट सम्पन्नतातर्फ लागेको नै देखाउँछ । तर दुःखद पक्ष हो यसले परिवारमा श्रीमान्श्रीमतीलगायतका अन्य सदस्यहरूबीच पारिवारिक कलह निम्त्याएको देखिनु ।’ प्रतिवेदनले बताएअनुसार समाजिक विचलन, परिवारमा कलह, बालबच्चाको स्याहारसुसारमा समस्या, वृद्धवृद्धाको हेरचाहमा समस्या आदि सामाजिक समस्या खडा भएका छन् ।

यसो हो भने समाजमा यस्तो स्थिति आउन नदिन राज्यले तत्काल कदम चाल्नु पर्छ । व्यक्तिगत र पारिवारिक कलहले समाजलाई नष्ट गर्छ । यसका लागि आवश्यक संयन्त्रहरू खडा गरेर रोकथामका उपाय अपनाउन आवश्यक छ । सरकारको ध्यान जाओस् । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x