Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमन्दीलाई अवसरमा परिणत गर

मन्दीलाई अवसरमा परिणत गर


काठमाडौं । देश अहिले चरम आर्थिक मन्दीमा छ । कोरोना महामारीको कारण लामो समयको लकडाउन र त्यसको लगत्तै सुरु भएको रुस–युक्रेन युद्धले विश्वकै अर्थतन्त्रलाई कमजोर पारेको बेला नेपालको अर्थतन्त्रमा पनि मन्दी देखिएको हो । अहिले नेपालमा हरेक व्यवसायमा बन्दी छ । उत्पादन र निर्यात गर्ने मात्र होइन आयात गर्नेहरू पनि अहिले मन्दीको मारमा छन् । जुनसुकै व्यवसाय गर्नेहरू अहिले टिक्न नसक्ने अवस्थामा छन् । अर्थात् उनीहरूलाई अहिले व्यवसाय टिकाउन हम्मेहम्मे परेको छ ।

औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा ह्रास आएको छ भने लगानीमा जोखिम बढेको छ । वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापारघाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन तथा पुँजी बजारमा आएको गिरावटलगायतका समस्याले अर्थतन्त्रलाई गम्भीर मोडमा पु¥याएको छ । यो कुरालाई वर्तमान सरकारले पनि स्वीकार गरेको छ । बिहीबार सत्तारुढ दलहरूले सार्वजनिक गरेको सरकारका प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा पनि अर्थतन्त्रमा आएको मन्दी र समस्यालाई स्वीकार गरिएको छ । समग्र क्षेत्रमा देखिएको मन्दीलाई आर्थिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउनु सरकारमा बस्नेको कर्तव्य हो । यो मन्दीले नकारात्मक असर मात्र गरेको छैन सरकारमा बस्नेहरूलाई नेपालको परम्परागत अर्थतन्त्रलाई पुनर्सँचरना गर्ने मौका पनि दिएको छ । यो बेला सरकारमा बस्नेहरूले बजेट प्रणालीलाई नीतिगत, संरचनागत तथा कार्यगतरूपमा पुनर्संरचना गर्ने हो भने नेपालको अर्थतन्त्र नयाँ ढंगबाट अगाडि बढ्नेछ ।

अहिलको मन्दीबाट अर्थतन्त्रलाई नयाँ बाटोतर्फ मोड्न सरकारले जल, जमिन, जङ्गल, जडीबुुटी र जनशक्तिजस्ता महत्त्वपूर्ण स्रोत साधनहरूको उच्चतम सदुपयोग गर्न विशेष ध्यान लगाउनुपर्ने देखिन्छ । सरकारले बिहीबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा पनि त्यही विषयमा ध्यान दिने उल्लेख गरिएको छ । यदि सरकारले भनेको जसरी ती विषयमा नयाँ ढंगले अगाडि बढ्ने हो भने समन्यायिक वितरणमा आधारित आर्थिक नीति अबलम्बन गर्न सहयोग पुग्ने छ । अहलिे राष्ट्रिय अर्थतन्त्रको विकासका लागि कृषि, जलस्रोत र पर्यटनको विकासलाई उच्च प्राथमिकता दिनैपर्छ । सरकारमा बस्नेहरूले भनाइ जसरी काममा इमान्दारिता देखाउने हो भने नेपालको मौलिक उत्पादनको विकास र विस्तारले अहिले अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्नेछ । तसर्थ सरकारमा बस्नेहरूले अहिले यो मन्दीबाट छट्पटाउने होइन यसलाई अर्थतन्त्र सुधार्ने महत्वपूर्ण मोडका रूपमा लिनुपर्छ र त्यहीअनुसार आफ्ना कार्य अगाडि बढाउनुपर्छ । मन्दीलाई अर्थतन्त्र पुनर्सँचरनाको सुनौलो अवसरमा परिणत गर्न सकेमा अर्थतन्त्रको साथै वर्तमान सरकारको नेतृत्वकर्ता र अर्थमन्त्री पनि सफल हुनेछन् । तसर्थ यो मन्दी एक किसिमले सरकारमा बस्नेहरूका लागि अर्थतन्त्र पुनर्सँचरना गर्ने सुनौलो अवसर पनि हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया