Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपुटिन पहिलेभन्दा अधिक शक्तिशाली हुनुका तीन कारण

पुटिन पहिलेभन्दा अधिक शक्तिशाली हुनुका तीन कारण


काठमाडौं,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौ कार्यकालका लागि हालै चुनाव जितेका छन्। यसले उनी अब कम्तीमा सन् २०३० सम्म राष्ट्रपतिको कार्यालयमा रहने बाटो खुलेको छ। विजय मन्तव्यमा उनले आफ्नो जितले रुस “शक्तिशाली र थप प्रभावकारी” भएर समृद्ध हुने बताएका छन्।

उनी यस पटक सबैभन्दा धेरै अर्थात ८७ प्रतिशत मत ल्याएर बिजयी भएका छन्। यसअघिको चुनावमा उनले ७६.७ प्रतिशत मत ल्याएका थिए। क्रेमलिनले रुसको राजनीतिक प्रणाली, सञ्चार क्षेत्र र चुनावमाथि कडा नियन्त्रण गरेकाले उनले कुनै विपक्षी उम्मेदवारको सामना भने गर्नु परेन।

पश्चिमा नेताहरूले उक्त चुनाव निष्पक्ष र स्वतन्त्र नभएको भन्दै निन्दा गरेका छन्। त्यसरी निन्दा गर्नेमा युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की पनि छन् जसले पुटिनलाई “तानाशाह” जो “सत्ताले मातेको छ” भन्छन्। उनी “आफू सत्तामा रहिरहनका लागि त्यस्तो कुनै अनिष्ट काम छैन जो पुटिनले गर्दैनन्,” भन्छन्।

७१ वर्षीय पुटिन सन् १९९९ को अन्तिम दिन पहिलो पटक राष्ट्रपति बनेका थिए र उनी जोसेफ स्टालिन यता अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म पदमा बस्ने रुसी नेता हुन्। सोभियत समयका तानाशाहको रेकर्ड पनि उनले तोड्न सक्छन्।युक्रेनमा भइरहेको युद्ध तेस्रो वर्षमा पुगेको छ र त्यहाँ रुसीहरूको ज्यान गइरहेको छ। पश्चिमा देशहरूले पनि पुटिनलाई एक्ल्याएका छन् तर पनि उनी किन पहिलेभन्दा अधिक शक्तिशाली छन् भन्ने तीन कारण छन्।
‘सेन्सरशिप र विपक्षीको उन्मुलन'”देशमा सबै किसिमका राजनीतिक छलफलहरूलाई कसरी दबाउनुपर्छ भन्ने पुटिनलाई थाहा छ,” लन्डनमा निर्वासनमा रहेका रुसी पत्रकार आन्द्रेइ सोल्दातोभले भने। आन्द्रेइ देश छोड्न बाध्य भएपछि सन् २०२० यता लन्डनमै रहँदै आएका छन्। “दबाउने कार्यमा धेरै राम्रो भएका कारण पुटिन आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउन पनि उत्तिकै कुशल छन्,” उनले थपे।

सन् २०२४ को चुनावमा जम्मा तीन जना अन्य उम्मेदवार थिए र उनीहरू कोही पनि पुटिनलाई वास्तविक रूपमा चुनौती दिने खालका थिएनन्। उनीहरू सबै नै पुटिन तथा युक्रेन युद्ध दुवैका समर्थक हुन्।

राष्ट्रपतिका लागि वास्तविक चुनौती दिने विपक्षीहरू या त जेलमा छन् वा मारिएका छन् वा अन्य तरिकाले हटाइएका छन्। तर क्रेमलिनले भने यसलाई अस्वीकार गर्छ।

मतदान सुरु हुनु एक महिनामात्रै अघि पुटिनका कट्टर आलोचक रहेका ४७ वर्षीय एलेक्सी नभाल्नीको मृत्यु भयो। उनी अदालतको मानहानी, अतिवाद, फर्जी लगायतका थुप्रै अभियोगमा लामो समयका लागि जेलजीवन बिताइरहेका थिए। उनलाई बन्दी बनाउने कार्य राजनीतिक रूपमा अभिप्रेरित भन्दै उनको आलोचना हुने गरेको थियो।

“पुटिन आफ्ना प्रतिद्वन्द्वीहरूको कुरा खारेज गरिदिन खप्पिस छन्,” सोल्दातोभ भन्छन्। “राजनीतिक रूपमा महत्त्वपूर्ण कोही व्यक्ति मारिए भने उनको प्रतिक्रिया ती व्यक्ति “असान्दर्भिक” भन्ने रहन्छ। उनी ‘म उनीहरूलाई किन मारौँ?’ भन्ने प्रतिक्रिया दिन्छन्। यी बहानाहरू बनाउन क्रेम्लिन खप्पिस छ।”

पुटिनलाई चुनौती दिने राजनीतिज्ञदेखि पत्रकारसम्म कैयौँ उच्च व्यक्तिहरू छन्।

गत वर्ष, भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका नेता येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भयो। उक्त समूहले एउटा नाटकीय विद्रोहको प्रयास गरेकै केही महिनामा उनको मृत्यु भयो।सन् २०१५ मा आलोचक तथा राजनीतिज्ञ बोरिस नेम्तसोभको क्रेमलिन नजिकैको एउटा पुलमा गोली लागेर मृत्यु भयो। सन् २००६ मा युद्धको कट्टर आलोचक रहेकी पत्रकार आना पोलित्स्कोभ्स्कायाको पनि गोली लागेर मृत्यु भयो।

“पत्रकार, राजनीतिज्ञ र अभियानकर्मी मारिने र जेलमा हालिने देशमा बस्न असाध्यै डरलाग्दो हुन्छ,” सोल्दातोभले भने।

“यो मनोवैज्ञानिक रूपमा असाध्यै असहज कुरा हो त्यसैले सर्वसाधारण मानिसहरू क्रेमलिनकै भनाइ अनुसार गर्छन्। उनीहरू त्यसमा विश्वास गर्ने भएर होइन त्यो सँगै बाँच्ने उपाय खोज्नका लागि त्यसो गर्छन्।”

पुटिनले पनि व्यक्तिगत असहमतिलाई नियन्त्रण गर्ने कोशिश गरेका छन्। युक्रेनमा आक्रमण थालेपछि सन् २०२२ यता क्रेमलिनले नयाँ सेन्सरशिप कानुन ल्याएको छ जसले सरकारविरोधी भावनालाई दमन गरेको छ। उसकै शब्दमा “रुसी सेनाको मानहानी गरे” उक्त कानुन अनुसार व्यक्तिलाई पाँच वर्षसम्म जेलसजाय हुनसक्छ।

राष्ट्रपति पुटिनले चुनावका बेला प्रदर्शन गरे त्यसको “कुनै असर नहुने” र कुनै पनि “अपराध” का लागि मतदानपछि सजाय हुने बताए।

“आजभोलि बीबीसी वा रेडियो फ्री युरोपले के समाचार गर्‍यो भन्नेबारे चिन्ता होइन,” सोल्दातोभ भन्छन्। “मानिसहरू जसले सडकमा के देख्छन् र तत्कालै लाखौँ मानिसकहाँ पुग्ने सामग्री तत्कालै पोस्ट गर्न सक्छन् भन्ने हो।
युक्रेनमा युद्धहालैको चुनावपछिको पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले युक्रेन आक्रमण अझै बलियो रूपमा जारी रहने बताए।

तस्रो वर्षमा प्रवेश गरेको युक्रेनमा भएको युद्ध रुसमा कैयौँले ठानेजस्तो छिटो जितमा परिणत भएन। जर्मनीको बर्लिनमा रहेकी रुसी राजनीतिक विज्ञ डाक्टर एकाटरिना शलमनले युद्धलाई आफ्नो फाइदाका लागि पुटिनले प्रयोग गरिरहेको बताइन्।

“जब युद्ध सुरु भएको थियो त्यो क्राइमियामा जस्तै हुन्छ भन्ने थियो,” उनले भनिन् तर “युद्ध पक्कै पनि छोटो र रक्तपातविहीन भएन। यसले रुसीले आफूलाई, बाहिरी दुनियाँ र त्यहाँका नेतालाई कसरी हेर्छन् भन्नेमा नै असर गर्‍यो।”

सन् २०२२ को फेब्रुअरी २४ को आक्रमण देशबाहिर अन्यले देखेजस्तो रुसी जनताका लागि ठूलो कुरा नभएको डाक्टर शलमन ठान्छिन्। “वसन्त र ग्रीष्म ऋतुमा मानिसहरू रुसमा आफ्ना नेता र देशको समर्थन गरिरहेका थिए। तर सन् २०२२ को सेप्टेम्बरमा जब युद्धको गति बढ्यो तब मानिसहरूमा चिन्ता ह्वात्तै बढ्यो। मानिसहरू एकदमै त्रसित भए र युद्धको समर्थनमा कमी ल्याए,” उनले भनिन्।सोल्दातोभ पनि यसमा सहमत छन् र रुसमा युद्धलाई लिएर समर्थन घट्न थालेपछि पुटिनले आफ्नो भनाइ नै परिवर्तन गरेको ठान्छन्।

“अब यो युद्ध युक्रेनविरुद्ध रहेन,” उनले भने, “यो त अब पश्चिमाहरूसँग हो। र यसले थुप्रै रुसीलाई गौरवान्वित बनाइरहेको छ कि उनीहरूको सेनाले सानो देशसँग होइन एकदमै ठूलो विपक्षीसँग लडिरहेको छ।”गत फेब्रुअरी २९ मा देशको नाममा गरेको वार्षिक सम्बोधनमा पुटिनले पश्चिमालाई युक्रेनमा फौज नपठाउन चेतावनी दिए। उनले नेटोमा आबद्ध हुन लागेका फिनल्यान्ड र स्वीडेनसँगको प्रतिरक्षा बलियो बनाउन आवश्यक रहेको बताए।

“देशमा म लगायत सबैलाई के पढाइएको थियो भने विश्वमै शान्तिप्रिय मानिसले बनाएको एक मात्रै साम्राज्य रुसी साम्राज्य हो,” सोल्दातोभले भने।

“सबै हामीलाई आक्रमण गर्न चाहन्छन् त्यसैले जब नेटो सीमातर्फ आयो भन्ने भनाइ बिक्छ मानिसहरू त्यही पत्याउन तयार हुन्छन्।”

त्योसँगै, सोल्दातोभ के ठान्छन् भने युक्रेनमा भएको युद्धले किन अर्थ राख्छ भन्ने कुरा विश्वलाई बुझाउन पश्चिमाहरूले पर्याप्त काम गरेका छैनन्। “अफ्रिका, दक्षिण अमेरिका जस्ता देशका मानिसले किन यसबारे आफूले ख्याल गर्नुपर्छ भन्ने बुझ्दैनन्। यही खाडलको पुटिनले फाइदा लिइरहेका छन्,” उनले भने।

“सोभियत विरासतमाथि खेल्न पुटिन खप्पिस छन् र त्यही कारण अफ्रिकी महादेश ज्यादा महत्त्वपूर्ण बन्दै गइरहेको छ र यी केही देशले संरचना र सैन्य सहायताको प्रस्ताव गरेका छन्।”
रुसको बढ्दो अर्थतन्त्रयुक्रेनमा गरिएको आक्रमणपछि रुसमा विगतमा कहिल्यै नलगाइएको स्तरमा प्रतिबन्ध लगाइए पनि देशका अर्थविद्हरू देशको बढ्दो र तीव्र गतिको अर्थतन्त्र देखेर चकित परेका छन्।

“अर्थतन्त्रले राम्रो गरिरहेको छ, र यसले पुटिनलाई लोकप्रिय बनाएको छ किनभने उनले पश्चिमाविरुद्ध चुनौती दिने व्यक्तिका रूपमा आफूलाई चित्रित गरेका छन्,” बीबीसीका रुसस्थित बिजनेस संवाददाता एलेक्सी कल्मिकोफले भने।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले अनुमान गरे अनुसार थुप्रैले ठानेजस्तै रुसको अर्थतन्त्र खुम्चनुको सट्टा २.६ प्रतिशतले वृद्धि भएको छ। पश्चिमा देशहरूले लगाएका प्रतिबन्धहरू र रुसको रोक्का भएको ३ अर्ब डलर रकम बाहेक नै रुसले यति प्रतिशतको वृद्धि गरेको हो।

तर यी प्रतिबन्धहरू विश्वव्यापी रूपमा लगाइँदै आएको भने होइन। यी प्रतिबन्धहरू भए पनि रुसले भारत, चीन र ब्रजिललगायत काजकिस्तान र अरमेनियामा पनि व्यापार गरिरहेको छ।

“रुस ठूलो अर्थतन्त्र हो,” कल्मिकोफले भनिन्: “रुसलाई घुँडा टेकाउनका लागि दशकौँसम्म प्रतिबन्धहरू लाग्नुपर्छ र व्यवस्थापनमा समस्या हुनुपर्छ जुन अहिलेको विन्दुमा हुने देखिँदैन।”

“रुसले सामानहरू निर्यात गरेर पैसा कमाउँछ,” कल्मिकोफ भन्छिन्।

“तेलमाथिको प्रतिबन्ध आलङ्कारिक मात्रै हो र ग्यास, अन्न तथा इन्धनलाई युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छैन जुन रुसको मुख्य खरिदकर्ता हो।”

शलमन खानेकुराहरू पहिलाभन्दा “चार गुणा महँगो” भए पनि ती उपलब्ध छन् र त्यो नै महत्त्वपूर्ण भएको दाबी गर्छिन्।

“रुसीहरूलाई मूल्य वृद्धिको बानी परिसक्यो। हाम्रो राष्ट्रिय चिन्ता मुद्रास्फीति होइन घाटा हो।”

कल्मिकोफ तर्क गर्छिन्: “यो सबै धारणाको कुरा हो, र त्यसमा पुटिनको प्रोपोगान्डाले राम्ररी चाल चल्न जानेको छ।”
तर यो ज्यादा समय रहने छैन…

पुटिन अहिलेसम्मकै सबैभन्दा शक्तिशाली देखिए पनि डाक्टर सलमन यसको पनि अन्तत: अन्त्य हुने बताउँछिन्।

सन् २०२० मा भएको देशव्यापी जनमत सङ्ग्रहपछि रुसी संविधानको संशोधन भयो र त्यसले पुटिनलाई कम्तीमा छ वर्षे अर्को दुई कार्यकाल पदमा रहन अनुमति दियो। त्यस अनुसार पुटिन सन् २०३६ सम्म राष्ट्रपति हुन सक्छन् त्यतिबेला उनी ८३ वर्षका हुनेछन्।

“अवकाश लेलान् भन्ने सम्भावना म देख्दिनँ,” डा शुलमन भन्छिन्, ” उनी शक्तिमा रहँदै मृत्यु हुनु र उनको ठाउँ उनकै जस्तै निरङ्कुश मनोभावना भएका व्यक्तिले लिऊन् भन्ने चाहना हुन सक्छ।”

तर त्यो सायद नहुने शलमन तर्क गर्छिन्। उनी भन्छिन्, रुसको प्रणालीमा “बुढ्यौली छाउँदैछ,” “युवा, शक्तिशाली र सहनशील नेतृत्व हुने सम्भावना हुँदैन।” उनको निष्कर्ष छ, “सबै स्थायित्व एक व्यक्तिमा एकत्रित भएको छ” जुन “लामो र सदाका लागि टिक्न सक्दैन।”
(बीबीसी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया