Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुद्धमा सित्तैमा खाना बाँड्दै युक्रेनी रेष्टुराँहरु

युद्धमा सित्तैमा खाना बाँड्दै युक्रेनी रेष्टुराँहरु


बेथ टिमिन्स, किभमा रहेको रेष्टुराँ मिल्क बारले एउटा खानाको १२ पाउन्ड स्टर्लिङ लिन्थ्यो । अहिले यसले दैनिक पाँच सय खाना विना पैसा बनाइरहेको छ । युक्रेनी राजधानीमा रहेका नागरिकहरुलाई खुवाएर मद्दत गर्न उसले यसो गरेको हो । यो रेष्टुराँले फेब्रुअरीयता आफ्ना कर्मचारीलाई तलब पनि दिन सकेको छैन । तर यहाँ अझै २० जना मानिसले काम भने गरिरहेकै छन् । ‘अहिलेलाई हामी सबै यहाँ मानिस र समुदायबारे मात्रै सोचिरहेका छौँ’, बेकरी मालिक एना कोजाचेन्कोले भनिन् ।

रुसी आक्रमण सुरु भएयता युक्रेनीहरुलाई सहयोग गर्ने यहाँ एउटामात्रै खाद्य व्यवसाय छ । ‘म अहिले घाटाबारे केही पनि सोचिरहेको छैन’, उनले भनिन् । यहाँ काम गरिरहेकाहरु समयमै खाना डेलिभर गर्न चाँडो चाँडो तयार गरिसक्छन् । यी खाना वृद्धावस्था र आक्रमण भएका किभ बाहिरका स्थानबाट आएकाहरुलाई दिइन्छ ।

Open photo

ठूला खाद्य आपूर्तिकर्ताहरुले रेष्टुराँहरुलाई विना पैसा खाना उपलब्ध गराउँछन् र अहिलेसम्म गराइरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जग्गा धनीले पनि रेष्टुराँको भाडा अहिले लिएका छैनन् ।

मिल्क बार चार सय ५० रेष्टराँमध्येको एक हो जसले रुसी आक्रमणयता आवश्यक परेका सबैलाई खाना बाँडिरहेको छ । खासगरी बंकरमा बसेका, घर छाड्न नसकेका र अग्रपंक्तिमा युद्धमोर्चामा रहेकालाई यसरी खाना दिइएको छ । १४ वटा रेष्टुराँ भएको अर्को ठूलो क्याटरिङ कम्पनी लाफामिग्लिया ग्रुपले पनि अहिले शेल्टर, खाना र मेडिकल सामग्री आपूर्तिमा ध्यान केन्द्रित गरेको छ । गत वर्ष बिक्रीबाट दशौँ लाख अमेरिकी डलर आर्जन गरेको उसले आठ हजारभन्दा धेरै स्न्याक्स र स्यान्डविच, पाँच हजार बढी तात्तातो खाना हरेक दिन निःशुल्क बाँड्दै आएको छ ।

यसका मालिक मिखाइल बेलिनले आपूर्तिकर्ताहरुले धेरै खाना निःशुल्क र बाँकी पनि फाइदा नराखी बिक्री गरिरहेको बताए । रेष्टुराँले आफ्नै खर्च व्यहोरेर थप लागत टारिरहेको छ । उनले चाँडै आपूर्ति गर्ने सामान सकिनसक्नेमा चिन्ता व्यक्त गरे । ‘अहिलेसम्म त माग धान्न सकेका छौँ, सानो परिमाणमा भए पनि वस्तु सञ्चित गर्न सकेका छौँ’, बेलिनले भने, ‘हाम्रा सेफहरु सैन्य क्षेत्रको बीचमा रहेर पनि खाना दिइरहेका छन् ।’ अहिलेलाई पैसा, नाफा र मार्जिनको चिन्ता गर्ने समय नभएको उनको भनाइ छ ।

Open photo

यता पिजेरियाका मालिक रुस्लान बुरियाकका ६० स्वयंसेवकहरुले उनको भान्सामा तत्काल खाना तयार गरिरहेका छन् । मध्यपूर्वी सहर दिनिप्रोमा यो रेष्टुराँ रहेको छ । जहाँ गत हप्ता मात्रै रुसी हवाइ हमलाको पहिलो निशाना लक्षित गरिएको थियो । यसले हरेक दिन एक हजारजति खाना तयार गरिरहेको छ । यो सबै स्थानीय मानिसलाई दिइएको छ । यहाँ निःशुल्क पास्ता, तेल र मासु स्थानीय किसानले उपलब्ध गराइरहेका छन् । मिल्क बारले जस्तै बुरियाकले पनि वृद्धावस्थाका र घर छाड्न नसक्नेलाई खाना दिएर सहयोग गरिरहेका छन् ।

युक्रेनको ठूलो खाना उत्पादकमध्ये एक एमएचपी जसले गहुँ उत्पादन र वितरण गर्छ, उसले पनि रेष्टुराँहरुलाई सहयोग गरिरहेको छ । बेलिनका चेन समेत यसको सहयोग लिइरहेका छन् । यसले युक्रेनभर ३० हजार बढीलाई रोजगारी दिएको छ । देशभरबाट अलग्गिएका समुदायलाई यसले खानाको प्रबन्ध गरिरहेको छ । तर आक्रमण नसकिँदा आपूर्तिमा समस्या आउनसक्ने भन्दै चिन्ता पनि उत्तिकै बढिरहेको छ । युक्रेनका पश्चिमी क्षेत्रमा एमएचपीको व्यवसाय छ । गेडागुडी उत्पादन आक्रमणले असर गरे आपूर्तिमा त्यसको सिधा असर पर्ने विश्लेषकहरुको चिन्ता छ । बीबीसीबाट भावानुदित


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया