Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदहङकङसँग नेपाल पराजित, गुम्यो इमर्जिङ टीम्स एशिया कप खेल्ने अवसर

हङकङसँग नेपाल पराजित, गुम्यो इमर्जिङ टीम्स एशिया कप खेल्ने अवसर


काठमाडौं,नेपालका लागि महत्त्वपूर्ण मानिएको शनिवारको खेलमा हङकङले नेपाललाई चार विकेटले पराजित गरेको छ। ओमानको अल अमेरतको मैदान बी मा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनाएको थियो जसलाई हङकङले ३ रन र चारजना खेलाडी बाँकी छंदै पूरा गर्‍यो।

लिग चरणमा सबै चार खेल जित्दासम्म नेपाल एसीसी प्रिमिअर कप को प्रमुख दाबेदारका रूपमा हेरिएको थियो।

खेलाडीहरूको स्तरीय प्रदर्शनको प्रशंसा भइरहेको थियो र त्यसबेलै दीपेन्द्र सिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेपछि नेपाली टोलीको चर्चा थप चुलिएको थियो।तर शुक्रवार सेमिफाइनलमा यूएईसँग र शनिवार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पराजित भएपछि नेपाली टोलीमा प्रश्न चिन्ह उठेको छ।

नेपालले लिग चरणमा भने हङकङलाई ८ विकेटले सहजै पराजित गरेको थियो।

हङकङसँग पराजित भएपछि टोलीको ‘एसीसी इमर्जिङ टीम्स एशिया कप’ खेल्ने यात्रा पनि रोकिएको छ र प्रतियोगिताको प्रबल दाबेदार टोली नेपाल खाली हात फर्किनु परेको छ।

प्रतियोगिताको विजेताले अर्को वर्ष हुने टेस्ट राष्ट्रसँगको एसिया कपमा छनोट हुने तथा शीर्ष तीन टोलीले एसियाको टेस्ट राष्ट्रहरुको ए टोलीसँग खेल्ने तालिका छ।अंशुमनले जिताए खेलटस जितेर नेपालले अल अमेरतको मैदान बी मा ब्याटिङ रोज्यो र २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनायो।

जवाफमा ओपनर अंशुमन रथको ब्याटिङको मदतमा हङकङले ३ बल बाँकी छँदै ६ खेलाडी गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

अंशुमनले ५० बल खेलेर अविजित ६५ रनको अर्ध शतकीय पारी खेलेका थिए। ओपनिङमा आएका उनी खेल जिताउन्जेल क्रिजमा टिकेका थिए।

प्रतियोगिताभर विकेट लिन नसकिरहेका सोमपाल कामीले आज महत्त्वपूर्ण समयमा एकपछि अर्को विकेट लिएर विपक्षीलाई दबाबमा राखेका थिए।

उनले ओपनर यासिम मोर्ताजा (९ रन), कप्तान निजाकत खान (३ रन) र हङकङका सबैभन्दा महत्त्वपूर्ण ठानिएका खेलाडी बाबर हायात (२६ रन) लाई पवेलियनको बाटो देखाएका थिए।

दीपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिँदै हङकङलाई रोक्ने प्रयास गरे। तर अंशुमनले ब्याटिङमा एकातर्फ बलियोसँग जमेपछि नेपाली बलरहरूको प्रयास पर्याप्त हुन सकेन।
नेपालको ब्याटिङ

नेपालको सुरुआत नै खराब रह्यो।

कुशल भुर्तेलले फेरी एकपटक समर्थकहरूलाई निराश बनाउने क्रममा खेलको दोस्रो बलमा शून्य रनमा आउट भए।

शुक्रवार यूएईसँगको जस्तै ब्याटमा सामान्य ‘एज’ लागेर उनी विकेटकिपरबाट समातिएका थिए।नेपालको खराब ब्याटिङको क्रम त्यसपछि पनि रोकिएन। अस्वाभाविक रूपमा प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाएका थिए।

तर निकै अनियन्त्रित देखिएका कामीले जथाभाबी ब्याट घुमाउन थालेको देखिएपछि उनी तेस्रो ओभरमा १२ रन बनाएर आउट भए।

त्यसपछि क्रमश: पाँचौँ ओभरमा आशिफ शेख (५ रन) बाहिरिए।

आठौँ ओभरमा रोहित पौडेल (२१ रन) र १२औँ ओभरमा कुशल मल्ल (१३ रन) बाहिरिए। मध्य क्रम सम्हालिएको जस्तो देखिए तापनि रन भने बनिरहेको थिएन।१४औँ ओभरमा लगातार २ बलमा सन्दीप जोरा (२२ रन) र गुलशन झा (६ रन) आउट भएपछि नेपाल थप सङ्कटमा परेको थियो।

त्यतिबेला नेपाल ८७-७ को खराब स्थितिमा पुगेको थियो।

यस्तोमा दीपेन्द्र सिंह ऐरीले आक्रामक पारी गर्दै नेपाललाई चुनौतीपुर्ण स्थितिमा पुर्‍याए।

अन्तिम समयसम्म क्रिजमा रहँदै उनले २९ बलमा ४४ रन बनाएपछि नेपालको स्कोर १३९ पुगेको थियो।

ऐरीले २९ बल खेलेर ४ चौका र ३ छक्का प्रहार गरे।
के हो इमर्जिङ टीम्स एशिया कप ?इमर्जिङ टिम्स कप एसियाका ८ टोली बिच हुने ‘ए’ श्रेणीको प्रतियोगिता हो।

यसमा एशियाबाट टेस्ट खेल्ने ५ टोली भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तानको ‘ए’ टोली सहभागिता हुनेछन्।त्यसमा एसीसी प्रिमिअर कपको शीर्ष टोली ओमान, युएई, हङकङ थपिएका छन्।

प्रतियोगिता आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलङ्कामा हुनेछ।

यो इमर्जिङ टीम्स एशिया कपको छैटौँ संस्करण हुनेछ।
(बीबीसी)


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया