Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या


महेन्द्र शाही
सोलुखुम्बु ।
दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई समस्या भएको छ । जिल्लाको तल्लो भेगका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्र सीमित स्वास्थ्यकर्मीको भरमा सञ्चालन हुँदा समस्या भएको केन्द्रका प्रमुख डाक्टर अभिषेक सुमनले जानकारी दिए । उनका अनुसार नौ जना स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि अहिले छ जनाको भरमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृत, तीन जना अहेब, तीन जना अनमी, एक जना स्टाफ नर्स र एक जना ल्याब टेक्निसियनको दरबन्दी रहेको छ । जसमा दुई जना अहेब, एक जना स्टाफ नर्स, एक जना ल्याब टेक्निसियनको पद खालि रहेको कार्यालयले जनाएको छ । केही कर्मचरी गाउँपालिकाले करारमा नियुक्त गरेर काम गरिरहेको भए पनि बर्थिङ सेन्टरसहित २४सै घण्टा सेवा प्रभाह हुने भएकाले समस्या भएको प्रमुख सुमनको भनाइ छ ।

पछिल्लो समय स्वास्थ्य केन्द्रमा बिरामीको चाप समेत अत्याधिक भएकाले व्यवस्थापन गर्न निक्कै कठिन रहेको उनको भनाइ छ । विगतमा एक जना करारको मेडिकल अधिकृतसहित दुई जना डाक्टर भए पनि करारको मेडिकल अधिकृत हटाएसँगै एक जना डाक्टरको भरमा स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपरेको उनले सुनाए ।

हाल स्वास्थ्य केन्द्रमा दैनिक ५० जनाको हाराहारीमा बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । जसमा दीर्घरोगी, मौसमी रोगलगायतका बिरामी बढी आउने गरेको जनाइएको छ । यता स्वास्थ्य कार्यालय सोलुखुम्बुले भने लोकसेवाको परीक्षा हुन नसक्दा कर्मचारी पदपूर्ति गर्न नसकिएको बताएको छ । लोकसेवाबाट पदपूर्ति नहुन्जेलसम्म पालिकाले करारमा कर्मचारी राखेर सेवा दिनुको विकल्प नरहेको कार्यालय प्रमुख खकुरेलले जानकारी दिए । आयोग खुलेपछि कर्मचारी व्यवस्थापन हुने उनले बताए ।

तीन महिनामै २४ जनाको सुत्केरी गराए : थमिक स्वास्थ्य केन्द्र सल्यानको बर्थिङ सेन्टरमा चालू आर्थिक वर्षको तीन महिनामा २४ जनाले प्रसूति गराएका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको असार, साउन र भदौमा २४ जनाले सेन्टरमा आएर सामान्य अवस्थामा प्रसूति गराएको प्रमुख सुमनले जानकारी दिए । स्वास्थ्य केन्द्रका प्रमुख अभिषेक सुमनका अनुसार अघिल्लो वर्ष जम्मा ५९ जनाले सुत्केरी गराएकोमा यस वर्षको तीन महिनामै २४ जनाले सुत्केरी गराएको छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया