Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालधनुषाका चारसहित प्रदेश २ का ३५ स्थानीय तहले बजेट ल्याउन सकेनन्

धनुषाका चारसहित प्रदेश २ का ३५ स्थानीय तहले बजेट ल्याउन सकेनन्


बटुकनाथ झा
जनकपुरधाम ।
धनुषाका चारसहित प्रदेश २ का ३५ स्थानीय तहले चालू आर्थिक वर्षको लागि बजेट ल्याउन सकेका छैनन् । असारको दोस्रो सातामा नै नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भए पनि प्रदेश २ का ३५ वटा स्थानीय तहहरूले असोजको दोस्रो साता चलिरहँदा पनि बजेट ल्याउन नसकेका हुन् । प्रदेश नम्बर २ को धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले संवैधानिक व्यवस्था अनुसार चालू आर्थिक वर्षको बजेट ल्याउन सकेको छैनन् ।

असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट प्रथम चौमासिकको दुई महिना बित्दा समेत ल्याउने छाँटकाँट देखाएका छैनन् । धनुषाका तीनवटा नगरपालिका र एउटा गाउँपालिकाले बजेट ल्याउन नसकेको हो । यसमध्ये मिथिला नगरपालिकाले बजेट नगरसभाबाट ल्याए पनि अहिलेसम्म संघीय सरकारसमक्ष पठाएको छैन ।

त्यस्तै गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, धनौजी गाउँपालिकाले अहिलेसम्म बजेट तयार नै गरेका छैनन् । चारवटै पालिकाले निर्धारित समयमा बजेट ल्याउन नसक्नुको कारण प्रमुख र उपप्रमुखको आ–आफ्नो अडान र स्वार्थ रहेको स्थानीय जानकारहरूको भनाइ छ ।

धनुषासँगै प्रदेश दुईका अन्य ३५ स्थानीय तहहरूको हालत पनि उस्तै रहेको छ । अहिलेसम्म प्रदेशको १८ नगरपालिका र १७ गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् । प्रदेशको सबैभन्दा बढी रौतहट जिल्लाको १० स्थानीय तहले बजेट ल्याएका छैनन् । त्यस्तै सप्तरीको तीनवटा गाउपालिका र एउटा नगरपालिका गरी चार पालिकाले बजेट ल्याएका छैनन् ।

सिराहाको तीनवटा गाउँपालिका र तीनवटा नगरपालिका गरी कुल छ स्थानीय तह, महोत्तरीको दुईवटा गाउँपालिका, बाराको एउटा नगरपालिका र एउटा गाउँपालिका गरी दुई पालिका र पर्साको एउटा नगरपालिका र पाँचवटा गाउँपालिका गरी छवटा पालिकाले अझैसम्म पनि बजेट ल्याउन नसकेका हुन् ।

सप्तरीको बजेट ल्याउन नसक्ने स्थानीय तहहरूमा छिन्नमस्ता गाउँपालिका, राजगठ गाउँपालिका, महादेवा गाउँपालिका, सप्तकोसी नगरपालिका, सिराहाको कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, अर्नमा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर नगरपालिका, बरियापट्टि गाउँपालिक र लक्ष्मीपुर पतारी गाउँपालिका रहेका छन् ।

यस्तै धनुषाको गणेशमानचारनाथ नगरपालिका, कमला नगरपालिका, मिथिला नगरपालिका र धनौजी गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका र सम्सी गाउँपालिका रहेका छन् भने रौतहटको गरुडा नगरपालिका, राजदेवी नगरपालिका, ईश्वरनाथ नगरपालिका, कटहरीया नगरपालिका, देवाही गोनाही नगरपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका र यमुनामाई गाउँपालिका रहेका छन् ।

यसैगरी बाराको सिम्रौनगढ नगरपालिका र विस्रमपुर गाउँपालिका, पर्साको पोखरीया नगरपालिका, जगरनाथपुर गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया