Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबझाङकी १२ वर्षीया बालिकाको कसरी भयो हत्या

बझाङकी १२ वर्षीया बालिकाको कसरी भयो हत्या


आशिषबहादुर सिंह
बझाड. ।
बझाङ मष्टाँ गाउँपालिका वडा न २ खिकाला कि १२ वर्षीया बालिका सम्झना विश्वकर्माको बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । जिल्ला अस्पताल बझाङले तयार पारेको पोष्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि भएको हो ।

सम्झनाको यौनाङ्गको भित्री बाहिरी चोट रहेको, टाउको र पिठ्युँलगायतका शरीरका विभिन्न चोटपटक देखिएको अस्पतालले जनाएको छ । गत असोज ७ गते गोठमा गाइवस्तुलाई घाँस हाल्न घरबाट हिँडेकी सम्झना नजिकैको मन्दिर परिसरमा मृत अवस्थामा फेला परेकी थिइन् । मृतक बालिकाको शव पाइएको स्थान शिव मन्दिर परिसरको अध्ययन गर्दा उनलाई त्यही मन्दिरभित्र कुटीकुटी मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

असोज ७ गते बेलुका ५ बजे गाईवस्तुलाई घाँस हाल्न घरबाट डोको र लाम्लो बोकेर हिँडेकी सम्झना गाईगोठसम्म नपुग्दै बीचबाटोमा नै घटना भएको प्रहरीको भनाइ छ । यहाँका स्थानीयहरू सम्झना डाँडा कट्नेबित्तिकै कसैले नियन्त्रणमा लिएको र केही तल रहेको सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको बताउँछन् ।

उनले बोकेको नाम्लो र डोको मन्दिर नजिकै जङ्गलको खोलातिर फालिएको अवस्थामा भेटिएको उनका बाजे नाता पर्ने कलक कामीले बताए । घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ ।

घटना भएको पाँच दिन बितिसकेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारबाही हुने जनाएको छ । प्रहरी नायक उपरीक्षकरूपक खड्काले घटनामा संलग्नको आशंकामा एक जनालाई अनुसन्धानका लागि नियत्रणमा लिएको बताए । थप अनुसन्धानका लागि आफूहरू खटिइरहेको उनको भनाइ छ ।

फूलजस्ती सम्झनालाई राक्षसले चुँडिदियो : सम्झना घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, वस्तुभाउको स्याहार तथा बारी गोडमेल गर्नेलगायत काममा पनि निपुण थिइन् । उनी मष्टा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । उनी निकै मिलनसार, अनुशासित र पढाइमा पनि अब्बल भएको उनका विद्यालयका शिक्षक बिरेन्द्र अधिकारीले बताए ।

स्थलगत रिपोर्टिङगका क्रममा शिक्षकको मुहार हेर्दा उनी निकै भावुक देखिन्थे । आफूले पढाएको विद्यार्थीको हेर्न नसकिने लास देख्दा एक्कासी रुखबाट भुइँमा खसेजस्तो अनुभव भएको उनले बताए । उनका बाजे भन्छन्, ‘घरको जेठो नातिनी सम्झना हो हामी बूढाबूढी बिरामी हुँदा पानी दिने उनी नै थिइन् । केही परिहाल्यो भने नातिनी छँदै छ भनेर सोच्थ्यौं । मेरी फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो ।’

सम्झनाको ‘हत्या’ले उनको परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर पुगेका छन् । यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्ति समेत निकालेका छन् । आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले सम्झना दुई बहिनीसहित बाजेबज्यैसँग बस्दै आइरहेकी थिइन् ।

घटनाको दिन दिउँसो ४ बजेतिर खाजा खाएर सम्झना १५ मिनेट पैदल दूरीमा रहेको गोठमा गाईवस्तुलाई घाँस हाल्न डोको–नाम्लो बोकेर गएकी थिइन् । ‘दिनभरी बाख्रा चराएर थाकेर आएकी थिई, गोठमा म जाउँला तँ आराम गर भन्दा मानिन,’ उनकी फुपू लक्ष्मीले भनिन् । उनकी फुपू लक्ष्मीका अनुसार केही दिनअगाडि गाउँकै राजेन्द्र बोहोरा भन्ने मान्छेले सम्झनालाई तिम्रो कानमा लगाएको सुन मलाई दिनुपर्छ भन्दै धम्काएका थिए । राजेन्द्रले धम्काएको कुरा सम्झनाले लक्ष्मीलाई जानकारी दिएकी थिइन् ।

अनुसन्धानका लागि राजेन्द्र प्रहरीको हिरासतमा : प्रहरीले सम्झना हत्या प्रकरणको प्रारम्भिक छानबिनको लागिसोही स्थानका १८ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएको छ । राजेन्द्र गाउँमा हुने विभिन्न घटनामा मुछिँदै आएका छन् । बोहराले गाउँमा धेरैको पसल र घरभित्र पसेर चोरेको स्थानीयको आरोप छ । यसअघि पनि उनले एक जना गाउँकै किसोरीलाई जबरजस्ती गर्न खोजेको स्थानीयको भनाइ छ ।

खिकालाकै अर्जुन बोहराले राजेन्द्रले घरभित्र छिरेर आफ्नी भाइबुहारीको तिलहरी चोरेको आरोप लगाए । उनका अनुसार राजेन्द्रले नै चोरेको खुलेपछि सामान फिर्ता समेत गराइएको थियो । दलित समुदायका महिलाले राजेन्द्रले गाउँका सबै घरमा तोडफोड गरेर चोरी गरेको आरोप लगाएका छन् ।

राजेन्द्र गाउँमा कसैसँग नबस्ने र एक्लै बस्ने गरेको स्थानीय बताउँछन् । गाउँका वृद्धवृद्धा र बालिका बालिकाले सामाजिक सुरक्षा भत्ता बुझेको थाहा पाएमा राजेन्द्रले घरमा चोरी गर्ने गरेको स्थानीयको भनाइ छ । यस्तै कतिपय महिलाहरूको कानमा ठूला मुन्द्रा देखेमा ‘तेरो गहना लुट्छु, अनि कान काटेर फ्याँकिदिन्छु’ भन्नेजस्ता धम्की दिने गर्थे ।

बलात्कार केस पाँच सय रूपैयाँमा गाउँमै मिलोमतो : यसअघि पनि राजेन्द्रले एक दलितकै युवतीमाथि जबरजस्ती गर्न खोजेको आरोप छ । एक महिनाअगाडि गाउँतलको खोलामा घट्ट पिस्न गएकी एक युवतीलाई कानका मुन्द्रा दिने भए देऊ नत्र मारेर खोलामा फालिदिन्छु भन्दै जबरजस्ती गर्न खोजेको पीडित किशोरीका दाइभाउजुले बताए । किशोरीले उक्त कुरा प्रहरीसमक्ष एक बयानमा पनि बताएकी छन् ।

राजेन्द्रलाई जबरजस्ती गर्न खोजेको आरोप लागेपछि पाँच सय रूपैयाँ दिएर गाउँमै उक्त घटनालाई लुकाइएको समेत पाइएको छ । प्रहरीका अनुसार त्यसबेला त्यो घटना स–साना भाइबहिनी हुन् भइहाल्छ भन्दै बोहराका परिवारले पीडित परिवारलाई पाँच सय रूपैयाँ दिएर मिलाइएको पाइएको हो ।

गाउँमा राजेन्द्र बोहराले अपराध गर्दा पनि किन कानुनी उपचार भएन भनेर प्रश्न गर्दा गाउँमा साना तिना गल्ती हुन्छन्, पछि ठीक भैहाल्छ भनेर माफी दिदाँ त्यसले उग्ररूप लिएको स्थानीय स्वीकार्छन् । राजेन्द्र बोहाराकी आमाले गाउँमा अरु गल्तीमा आफ्नो छोरो संलग्न भए पनि सम्झनाको विषयमा भने केही जानकारी नभएको बताइन् ।

डेढ वर्षअगाडि पनि सोही ठाउँमा बालकको शव फेला परेको थियो । सम्झनाको हत्या भएको ठाउँ नजिकै ढेड वर्ष अगाडि पनि बालक पनि मृत अवस्थामा भेटिएका थिए । अहिलेको घटनास्थलभन्दा दुई सय मिटरपर एक बालक मृत भेटिएका थिए । ती बालकको पनि शिर र घाँटीमा चोटपटक लागेको स्थानीय डबल बुढाले बताए । ती बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा गायब थियो ।

यस घटनालाई गाउँलेहरूले गाउँमै कुनै देवताले खाए होला भन्ने अन्धविश्वासले खासै ध्यान दिएनन् । उक्त घटनामा दोषीको खोजी नभएको मृतक बालकका बुबा शेरबहादुर कामीले बताए । उनले मृत अवस्था भेटिएको र लडेर मरेको हो कि भनेर सिधै छोराको शव गाडिएको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया