Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपर्यापर्यटनका सम्भावनाबारे छलफल

पर्यापर्यटनका सम्भावनाबारे छलफल


कञ्चनपुर ।
कञ्चनपुरको बेलडाँडीमा पर्यापर्यटनका लागि अन्तरक्रिया गरिएको छ । शुक्लाँफाटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती वन व्यवस्थापन समिति र तराई भू–परिधि (ताल) को सहकार्यमा सोमबार बेलडाँडीको बैवाहमा पर्यापर्यटनका लागि अन्तरक्रिया गरिएको हो । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले गतवर्ष शुक्लाफाँटा प्रवेशद्वारको शिलान्यास गरिएको भएपनि कोभिड १९ को जोखिमका कारण अन्य कार्यक्रम गर्न नसकिएको बताए । उनले बेलडाँडीको समृद्धि र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

कालिकिच तालको स्तरोन्नति र सुधार गर्न डीपीआर तयार पारिएको र त्यसको लागत खर्च ३५ करोड अनुमान गरिएको उनले जानकारी दिए । कालिकिचबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र जाने बाटो निर्माणका लागि सुदूरपश्चिम प्रदेशले केही बजेट विनियोजन गरेको र थप बजेटको व्यवस्थापन गरी त्यसलाई पूर्णता दिइने अध्यक्ष थापा क्षेत्रीले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरिने बताए । उनले कञ्चनपुरको बेलडाँडीबाट निकुञ्ज प्रवेशका लागि व्यवस्थापन गरी पर्यटक बढाउन सकिनेमा जोड दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका सेवा सुविधा, स्वागत सत्कार र प्रचारप्रसार आवश्यक रहेको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले समुदायस्तरबाट संरक्षणमा सहयोग पुगेको बताए । उनले बाघ, हात्ती, गैँडा, बाह्रसिंगेलगायत वन्यजन्तुहरू तथा चराचुरुङ्गीहरूको संख्या प्रशस्त रहेकोले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको सम्भावना अत्यधिक रहेको बताए । आसपासका क्षेत्रमा समेत पर्यटन प्रवद्र्धनका लागि नयाँ–नयाँ शैली तथा कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । उनले २०६१ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वरिपरिको वन र बस्तीलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै निकुञ्जमा एसियाकै सबैभन्दा ठूलो झुण्डमा बाह्रसिंगे रहेको बताए ।

बेलडाँडी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष बीरबहादुर खड्काले जनचेतनामूलक कार्यक्रम गरी संरक्षणमा वडाले जोड दिएको बताए । सबैको हातेमालोमा संरक्षणका कार्यक्रम गरिनुपर्ने बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष शिवराज अधिकारीको भनाइ छ । बेलडाँडी गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ मा विस्तारित उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षणका लागि टेवा पु-याइरहेको छ । उनले किसान मध्यवर्ती सामुदायिक वनमा विगत लामो समयदेखि विवाद कायम रहेकोले यथाशीघ्र समाधानका लागि सरोकारवालासँग अनुरोध गरे ।

होटल व्यवसायी संघका कोषाध्यक्ष रामचन्द्र रेग्मीले प्रकृतिमा आधारित पर्यापर्यटनका लागि निकुञ्जसँग जोडिएको क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनुपर्ने बताए । उनले प्रचारप्रसारका कार्यक्रम गर्नुपर्ने उल्लेख गर्दै निकुञ्ज प्रवेशमा सहज वातावरण बनाइदिन निकुञ्ज कार्यालयलाई अनुरोध गरे । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थीले पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यमले निरन्तर सहयोग गरिरहेको बताए ।

सुरक्षा निकायका प्रतिनिधिहरूले पर्यापर्यटनको विकासका लागि आवश्यक सहयोग रहने जनाएका छन् । देवीदल गणका गणपति कर्नेल सुनिलकुमार मल्लले पर्यापर्यटन विकासका लागि सरोकारवाला सबै एकमत हुनुपर्ने बताए । निकुञ्जभित्रको सुरक्षाका लागि नेपाली सेना केन्द्रित भएको बताउँदै उनले थप पोष्टको आवश्यकता औँल्याए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर विष्टले स्थानीय, प्रदेश र संघीय सरकारले समेत संरक्षण र प्रवर्द्धनका कार्यक्रममा जोड दिन आवश्यक रहेको बताए ।

कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापाले कालिकिच तालबाट प्रवेशद्वारको शिलान्यास गरिएको र त्यसलाई पूर्ण गरिएमा पर्यटकहरूलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको फाँटमा पुग्न सजिलो हुने बताए । उनले किसान सामुदायिक वन, कालिकिच ताल हुँदै बेलडाँडीमा रहेको प्रवेशद्वारबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनका कार्यक्रम बढाउन सकिने धारणा राखे । निकुञ्ज र नागरिकहरूको सहकार्यमा संरक्षण र प्रवर्द्धनका कार्यक्रम गरिनुपर्नेमा स्थानीय नागरिकको जोड रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया