Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुको महाकुलुङमा ‘रक क्लाइमिङ’ सेन्टर स्थापना

सोलुखुम्बुको महाकुलुङमा ‘रक क्लाइमिङ’ सेन्टर स्थापना


सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लाको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ को रोयोलुङ भीरमा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । रक क्लाइमिङ सेन्टर निर्माण गत पुस २३ गते विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरेको थियो ।

अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा नेपाल पर्वतारोहण पथप्रदर्शक संघका प्राविधिक प्रमुख तेण्डी शेर्पाको पहलमा विदेशी दाताबाट प्राप्त तीन लाख ६० हजार रूपैयाँको सामग्री र महाकुलुङ गाउँपालिकाको पाँच लाख रूपैयाँ लागतमा उक्त सेन्टर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित क्लाइमिङ सेन्टर निर्माण गरिएको अध्यक्ष किराँतीको भनाइ छ । अब क्लाइमिङ तालिमका लागि लाखौँ खर्च गरेर जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । माघ ३ गते एक कार्यक्रमका बीच उक्त सेन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । विश्वसको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमाल भएको सोलुखुम्बु जिल्लाको यो पहिलो रक क्लाइमिङ सेन्टर हो ।

यसअघि सोलुखुम्बुका स्थानीयले काठमाडौँलगायतका क्षेत्रमा गएर तालिम लिने गरेका थिए । जिल्लाभित्रै तालिम लिन पाइने भएपछि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुनुका साथै आर्थिकरूपमा पनि सस्तो पर्नेछ । जिल्लामा यस्तो सम्भावना भएको स्थानहरू अनेत्र पनि रहेकाले त्यहाँ समेत रक क्लाइमिङ सेन्टर स्थापन गरी आर्थिक उपार्जन समेत गर्न सकिनेतर्फ स्थानीय सरकारहरू लाग्नुपर्ने खाँचो देखिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया