Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवायु प्रदूषणले नागरिकको स्वास्थ्यमा पारेको असरप्रति आयोगको चासो

वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा पारेको असरप्रति आयोगको चासो


काठमाडौं ।
गत शुक्रबारदेखि काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । वायु प्रदूषण तथा प्राकृतिक विपत्को जोखिम न्यूनकरण गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न आयोगले सरकारको ध्यानाकर्षण समेत गराएको छ । साथै आयोगले वायु प्रदूषणबाट बच्न र यसलाई न्यूनीकरण गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । पछिल्लो समयमा नेपालका २७ सय ठाउँमा आगलागी तथा डढेलो लागेको, वायु प्रदूषणका कारण आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्याधिक रूपमा देखिएको पाइएको छ ।

सुख्खा याम, अत्यधिक डढेलो तथा पश्चिमी वायु कमजोर भएका कारण केही दिनयता देखिएको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा अत्यन्तै खराब अवस्थामा रहेकोले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने वातावरणविज्ञहरूले छलफलको क्रममा बताएका छन् । वायु गुणस्तर मापन सूचक (एक्यूआई) अनुसार गत आइतबार काठमाडौँमा मापन गरिएको वायुको गुणस्तर तीन सयभन्दा बढी पुगेको देखिएकोले जेष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगीहरूमा अत्यन्तै जोखिम हुने हुनाले सचेत रहनुपर्ने विज्ञहरूले ध्यानाकर्षण गराएका छन् ।

नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको उल्लेख गरेको छ । वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली २०५४, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐनलगायत राष्ट्रिय कानुनका साथै नेपाल पक्ष राष्ट्र बनेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले स्वच्छ वातावरणीय अधिकारको व्यवस्था गरेको छ ।

विज्ञहरूका अनुसार वायु प्रदूषणबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न, हालै देखिएको अत्याधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्किने फोहोर जलाउने कार्यमा नियन्त्रण गर्न तथा सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी हालै देखिएको वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउनुपर्ने देखिन्छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया