Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमौद्रिक नीतिलाई उद्योग संगठन मोरङद्वारा स्वागत

मौद्रिक नीतिलाई उद्योग संगठन मोरङद्वारा स्वागत


विराटनगर । उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/०७९ को मौद्रिक नीतिलाई स्वागत गरेको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले बजेट कार्यान्वयनमा यथेष्ट सघाउ पुग्ने उद्योग संगठन मोरङको भनाइ छ । संगठनले पुनर्कर्जाको सम्बन्धमा पहिलाको व्यवस्थालाई यथावत् राखेको भए पनि कर्जा प्रवाह हुने रकम थप नगरिएको प्रति भने असन्तुष्टि जनाएको छ । यद्यपि पछिल्लो समयमा कर्जा प्राप्ति प्रक्रिया सरलीकृत बनाउँदै लगिएको हुँदा मौद्रिक नीति स्वागतयोग्य रहेको संगठनले बताएको छ ।

यस्तै कोभिड १९ को प्रभाव र उद्योग व्यवसायमा छाएको मन्दीका कारण उद्योग व्यवसायले लिएको कर्जा चुक्ता गर्न असहज रहेकोले निषेधाज्ञा र लकडाउन जारी भएको अवधिदेखि लकडाउन खुलेको मितिबाट छ महिनासम्म भुक्तानी गर्नुपर्ने कर्जाको ब्याजलाई पुँजीकरण गर्ने व्यवस्था गर्न पनि माग गरेको छ । मौद्रिक नीतिले कर्जाको किस्ता र ब्याजलाई पुँजीकरण गर्ने मागलाई सम्बोधन नगरे पनि ब्याज तथा किस्ता रकम भुक्तानी गर्ने अवधि थप गरेर कोभिड प्रभावित उद्योग व्यवसायको कर्जा र ब्याजलाई २०७९ असार मसान्तसम्म छुट्टै हिसाब राख्ने र उक्त ब्याजमा हर्जना तथा पेनाल नलाग्ने व्यवस्था गरेकोमा भने सन्तोष व्यक्त गरको छ ।

यस्तै संगठनले कोभिड १९ को प्रभाव र उद्योग व्यवसायमा छाएको मन्दीका कारण उद्योग व्यवसायले लिएको कर्जाको वैशाखदेखि असारसम्मको ब्याज एवं किस्ता असार मसान्तभित्र बुझाएमा त्यस्तो ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था मिलाउन माग गरेको छ । त्यस अवधिमा किस्ता एवं ब्याज भुक्तानी गर्न नसक्ने उद्योगी व्यवसायीको हकमा त्यस्तो कर्जाको ब्याज तथा किस्ता भुक्तानीको समयावधि छ महिना थप गर्न पनि संगठनले आग्रह गरेको छ । यस्तै संगठनले आयात गर्दा एक पटकमा अधिकतम अमेरिकी डलर एक लाखबराबरको आयात गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी आयात हुने मालवस्तुको हकमा कुनै पनि सीमा तोक्न नहुने र पानीजहाजमार्फत भएर आयात हुनेको हकमा एक पटकमा अमेरिकी डलर चार लाखसम्मको सीमा निर्धारण गरिनुपर्ने माग अघि सारेको छ ।

संगठनले डिजिटल प्रविधिको युगमा समेत बैंकिङ कारोबार प्रणाली परम्परागत कागजी झमेला, तमसुक, भौतिक उपस्थिति ल्याप्चेलगायतका व्यवस्थाहरुलाई डिजिटल माध्यमबाट गर्न सकिने सरल र प्रविधिमैत्रीतर्फ रुपान्तरण गरी सम्पूर्ण बैंकिङ कारोबारलाई पेपरलेस बनाइनुपर्नेतर्फ राष्ट्र बैंकलाई पहल गर्न आग्रह गरेको छ । राष्ट्र बैंकद्वारा प्रस्तुत मौद्रिक नीतिमा कोभिड १९ बाट प्रभावित लघु, घरेलु तथा साना, मझौला, ठूलालगायतका उद्योग/व्यवसाय क्षेत्रहरुको पुनरुत्थानलाई दृष्टिगत गरी त्यस्ता उद्योगहरुलाई प्रोत्साहित गर्न विभिन्न प्रकारका सहुलियतपूर्ण सेवा, सुविधाहरुको घोषणा गरिनुलाई उद्योग संगठन मोरङले सकारात्मक रुपमा लिएको संगठनले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया