Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजान महासंघद्वारा राप्रपासँग छलफल

भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजान महासंघद्वारा राप्रपासँग छलफल


काठमाडौं । राष्ट्रिय आर्थिक रुपान्तरण (नेट–२०३०) भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसँगको छलफललाई अगाडि बढाएको छ । सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग मंगलबार महासंघले छलफल गरेको छ । छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपरबारे विस्तृत रूपमा जानकारी गराउँदै यसको सफल कार्यान्वयनमा महासंघले सबै राजनीतिक दलहरूको सहयोग खोजेको बताए ।

मुलुकको अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पु-याउने, थप २३ लाख अतिरिक्त रोजगारी सृजना गर्ने र जीडीपीको अनुपातमा व्यापारघाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको नेट २०३० को सफल कार्यान्वयन सरकार, सबै राजनीतिक दलहरू, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने अध्यक्ष स्पष्ट पारे । सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत आएका कतिपय कार्यक्रम तथा नीतिहरू भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको पनि उनले बताए । भिजन पेपरको सफल कार्यान्वयनका लागि महासंघले एक सयवटा प्रयासहरूको पहिचान गरेको र तीमध्ये करिब आधाजतिको कार्यान्वयनको थालनी भइसकेको पनि जानकारी गराएका थिए ।

कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउन उद्योग व्यवसायको पुनरुत्थान र नयाँ थप उद्योग व्यवसाय विस्तार आवश्यक भएकोमा अध्यक्ष गोल्छाले जोड दिए । उनले उद्योगधन्दा विस्तारका लागि विशेष गरी लगानी तथा व्यापार व्यवसाय प्रवर्द्धनमा बाधा बनेका करिब डेढ दर्जन पुराना ऐन कानुनहरूको तत्काल संशोधन तथा पुनर्लेखनमा महासंघले सरकारलाई सुझाएको बताए ।

सरकार र नेपाल राष्ट्र बैंकको उचित सहयोगका कारण पहिलो कोभिड लहरपश्चात् केही क्षेत्रबाहेक अन्य क्षेत्रहरू सहज रुपमा माथि उठ्नसके पनि दोस्रो लहर अर्थतन्त्रका लागि बढी घातक हुन पुुगेको उनको भनाइ थियो । अर्थतन्त्रलाई अहिलेको संकटबाट माथि उठाउन सरकारले ल्याएका नीति तथा कार्यक्रम र महासंघले भिजन पेपरमार्फत अगाडि सारेका कार्यक्रम तथा सुुझावहरूको पूर्ण कार्यान्वयन निजी क्षेत्रले खोेजेको र त्यसमा राजनीतिक दल तथा सरकारका तर्फबाट पूर्ण सहयोग रहने महासंघले विश्वास लिएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षहरु कमल थापा, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसँग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसँग छलफल गर्न आएको बताएका थिए । महासंघले अगाडि सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्यहरु निकै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सबै राजनीतिक दलहरुका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको उनीहरुको भनाइ थियो । यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने समेत उनीहरुले महासंघलाई विश्वास दिलाए । आफ्नो दल निजी क्षेत्रमैत्री रहेकोमा विश्वस्त हुन आग्रह गर्दै उनीहरुले निजी क्षेत्रमैत्री वातावरण भयो भने मात्र मुलुकुभित्र उद्योग धन्दा विस्तार हुने, रोजगारी सृजना हुने, बाह्य लगानी आउनेमा आफूहरू स्पष्ट रहेको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताए । उनीहरुले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन, नीतिगत स्थिरता आवश्यक रहेकोमा जोड दिए । महत्वपूर्ण ऐन कानुन बनाउँदा सरोकारवालाहरूलाई साथै लिएर बनाउनुपर्ने र मुलुकभित्र लागू भएका ऐन कानुन सबैलाई बराबरी लागू हुनुुपर्ने उनीहरुको सुझाव थियो । कार्यक्रममा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचन, राप्रपाको आर्थिक समितिका संयोजक उद्धव पौडेल र कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठ, महासंघको कायकारिणी समितिका सदस्यहरू दिलसुन्दर श्रेष्ठ र सुरजकृष्ण वैद्य, महासंघका निमित्त महानिर्देशक गोकर्णराज अवस्थी, उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया