Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचरीकोट–जिरी सडकको काम रोकियो

चरीकोट–जिरी सडकको काम रोकियो


दोलखा । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको चरीकोट–जिरी सडकखण्डको ५५ किलोमिटर सडक कालोपत्रेको काम लगातारको झरीको कारण प्रभावित बनेको छ । आगामी फागुनभित्र सडक कालोपत्रेको काम सक्ने लक्ष्य राखेर काम गरिरहेको आयोजनाको काम लगातार हुने वर्षा र कोरोना भाइरस महामारीका कारण रोकिएको चरीकोट जिरी सडक आयोजनाका मुख्य परामर्श दाता सीमित ईआएमसी जेभी प्रमुख राजेन्द्र पौडेलले बताए ।

आयोजनाले हाल चरीकोटदेखि खावासम्मको ४३ किलोमिटर र हाटडाँडादेखि जिरी बजारसम्म साढे दुई किलोमिटर सडकको कालोपत्रे गरिसकेको उनले जानकारी दिए । बाँकी रहेको १० किलोमिटर सडकको कालोपत्रे भने निरन्तर झरी पर्ने गरेकाले कालोपत्रे गर्न समस्या भएकाले काम रोकिएको उनले बताए । इन्जिनियर पौडेलका अनुसार चरीकोटदेखि खावाडाँडासम्म पहिलो कोटको कालोपत्रे सकेर नाम्दुदेखि खावासम्म सेकेन्ड कोट राख्ने तयारी गरे पनि वर्षाको कारण काम रोकिएको छ ।

पछिल्लो समय देशभर फैलिएको दोस्रो लहरको कोरोनाले पनि सडक निर्माण खटेका कर्मचारी संक्रमण देखिँदा थप प्रभावित बनेको उनले बताए । जेठसम्म तीव्र गतिमा काम भए पनि असार यता लगातार झरी पर्दा सडकको काम रोकिएको हो । साउन पहिलो सातादेखि आयोजना आंशिकबाहेकका सबै काम रोकिएको छ । ३३ वर्षअघि विदेशीले निर्माण गरिदिएको चरीकोट जिरी सडकको पुरानो कालोपत्रेले काम गर्न छोडेपछि २ वर्षअघिदेखि सडकको निर्माण लामा कन्स्ट्रक्सनले गरिरहेको छ । उक्त सडक विस्तार तथा कालोपत्रे गर्न भारतीय एक्जिम बैंकको ऋण सहयोग गरेको छ ।

निर्माण कम्पनीका अनुसार अब १० किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । सडक निर्माण गर्न एक्जिम बैंकको तीन अर्ब ७० करोड सहुलियत ऋण लगानी गरेको थियो । सडक निर्माणको जिम्मा भने लामा कन्स्ट्रक्सनलाई दुई अर्ब २८ करोड रूपैयाँ ठेक्का दिइएको थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया