Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपुँजीगत खर्च समयमै हुन नसक्दा बजारमा तरलता अभाव

पुँजीगत खर्च समयमै हुन नसक्दा बजारमा तरलता अभाव


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताएका छन् ।

आर्थिक बर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि विगतसरह नै न्यून रहेकोले आर्थिक वर्ष २०७८/७९को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिकाअनुसार खर्च गरिनुपर्ने उनले बताए । साथै उनले प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनुपर्ने चेम्बरको धारणा रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमिति सदस्य र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीबीच बिहीबार भएको छलफलमा उनले कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकीकरण, वैज्ञानिकीकरण एवं व्यवसायीकरण हुनुपर्ने बताए ।

यस्तै कृषि उत्पादन ढुवानीको लागि भन्सार सहुलियतमा गाडीको सुविधा उपलब्ध हुनसकेमा ढुवानी लागतमा कमी भई आन्तरिक तथा बाह्य व्यवसाय वृद्धि हुनजाने बताए । साथै उनले बीमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियमबापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिँदै आएकोमा हाल चेकबाट नगद जम्मा भएपछि मात्र मान्यता दिने व्यवस्था गरेकोले यसबाट व्यवसायमा सहजीकरण नहुने भएकोले साबिक व्यवस्थाअनुसार नै चेक भुक्तानीलाई मान्यता दिनुपर्नेमा जोड दिए ।

यस्तै रुग्ण उद्योगलाई सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महँगी नियन्त्रणका लागि दुई वर्षको लागि कृषि उत्पादनको बाइ व्याकअन्तर्गत बफर स्टक राख्ने, निर्यातलाई प्रोत्साहन दिन निर्यात अनुदान, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी, लगानीको स्रोतको वैधतामा सरलीकरण, विदेशी लगानी, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह, घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्सको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

अर्थ मन्त्रालयका सचिव मरासिनीले चेम्बरले दिएका सुझावहरूलाई सकारात्मक रूपमा लिएको बताए । व्यवसायीहरूको आत्म विश्वास बढाउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, दीपक श्रेष्ठ, उर्मिला श्रेष्ठ तथा चेम्बर कार्यसमिति सदस्य तथा राजस्व समितिका सभापति पर्शुराम दाहाल तथा वाणिज्य तथा व्यापार सहजीकरण समितिका सभापति निरज राई र कार्यसमिति सदस्य सुवास संघाइकोे पनि उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया