Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालमा विदेशी लगानी

नेपालमा विदेशी लगानी


कोभिड महामारीको समयमा नेपालमा आउने विदेशी लगानीले अनौठो संयोग देखायो । विश्व कोभिडविरुद्ध लडिरहेको अवस्थामा पनि नेपालमा भने विदेशी लगानी आयो । अझै उक्त समयमा वार्षिक रुपमा आएको लगानीलाई दिनमा परिवर्तन गर्ने हो भने दैनिकजसो लगानी प्रस्ताव आयो । विदेशी लगानीकर्ताले प्रत्यक्ष विदेशी लगानी ऐनमार्फत नेपालको उद्योग क्षेत्रमा लगानी भित्र्याउन पाउने व्यवस्था छ । अर्कोतर्फ उनीहरुलाई कृषि तथा वनपैदावर, ऊर्जा, सूचना प्रविधि, उत्पादन, खनिज, सेवा र पर्यटन गरी ६ वटा क्षेत्र खुला गरिएको छ ।

सरकारी तथ्यांकअनुरुप आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्ममा विदेशी लगानीकर्ताले नेपालको उद्योगमा कुल १ खर्ब ४३ अर्ब ९६ करोड लगानी प्रस्ताव आएको छ । सो लगानी प्रस्ताव ९६७ वटा उद्योग तथा ३९ हजार ३ सय २३ जनालाई रोजगारी दिनको लागि उनीहरुले गरेका हुन् ।

सो अवधिमा ऊर्जामा ४९ अर्ब ७१ करोड, पर्यटनमा २८ अर्ब २६ करोड, उत्पादनमा २३ अर्ब ४४ करोड, सेवामा २२ अर्ब ४८ करोड, सूचना प्रविधिमा १३ अर्ब १२ करोड, खनिजमा ३ अर्ब ८१ करोड र कृषि तथा वन पैदावरमा ३ अर्ब ११ करोड लगानी प्रस्ताव गरेका हुन् । विदेशी लगानीकर्ताहरुले ३७२ वटा पर्यटन, २९८ वटा सेवा, १५४ वटा उत्पादन, ८७ वटा सूचना प्रविधि, ४१ वटा कृषि तथा वनजन्य, १० वटा ऊर्जा र ५ वटा खनिजजन्य उद्योगका लागि गरेका हुन् ।

प्रस्तावको तुलनामा निकै कम अंश मात्र विदेशी लगानी आउने गरेको छ। विदेशी लगानी नआउनुमा भने झन्झटिलो प्रक्रिया, जग्गाप्राप्तिमा अवरोध, स्थानीयको अवरोध, पूर्वाधार नहुनुलगायतका कारणहरु मुख्य रुपमा देखिएको छ। अर्कोतर्फ सरकारले विदेशी लगानीकर्तालाई आकर्षित गर्न नसक्नु समेत मुख्य कारण रहेको पाउँछौँ । नेपालको तुलनामा अन्य मुलुकहरुले विदेशी लगानीलाई सहजीकरण गर्नु, सहजै मुनाफा लैजान दिनु, लगानी सुरक्षित गर्नु कारकहरु देखिन्छ । जसले गर्दा जति लगानी प्रस्ताव आउँछ त्यसको थोरै अंश मात्र लगानी आउने गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा २२३ वटा उद्योगका लागि ५० अर्ब ७४ करोड, आर्थिक वर्ष २०७५/०७६ मा ३४४ वटा उद्योग स्थापनाका लागि ३ अर्ब १८ करोड, आर्थिक वर्ष २०७४/०७५ मा ४०० वटा उद्योगका लागि ६१ अर्ब ३४ करोड लगानी प्रस्ताव आएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १० हजार ८ सय ३९ जना, आर्थिक वर्ष २०७५/०७६ मा रोजगारी १४ हजार ५ सय ४४ जना र आर्थिक वर्ष २०७४/०७५ मा रोजगारी १३ हजार ९ सय ४० जनालाई रोजगारी दिनेसहित सो प्रस्ताव आएको हो । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २८२ वटा उद्योगका लागि ६५ अर्ब ८१ करोड आएको छ । सो लगानी प्रस्ताव १२ हजार ५ सय ५६ जनालाई रोजगारी दिनको लागि हो ।

मुलुकमा उद्योग स्थापना हुनु भनेको मुलुकको अर्थतन्त्र सकारात्मक बन्दै जानु हो । सामान्यतया उद्योग स्थापना भएसँगै स्थानीय उत्पादन प्रयोग हुने, जनशक्ति प्रयोग हुने, रोजगारी सिर्जना हुने तथा निर्यात व्यापार बढ्ने देखिन्छ । त्यसैले गर्दा उद्योगका लागि लगानी प्रस्ताव आउनु, स्थापना हुनु मुलुक, समाज र नागरिकका लागि उत्तम विषय हो भन्न सकिन्छ । तर सरकार, नागरिकलाई चाहेअनुरुप विदेशी लगानी आउन भने कठिन छ । यति भनिरहँदा नेपालमा विदेशी लगानीलाई अवसर छैन, विदेशीहरुले नेपालमा लगानी गरेर प्रतिफल लाँदैनन् भन्नेचाहिँ होइन ।

विदेशी लगानीकर्ताहरुले नेपालमा उद्योग स्थापना गरी प्रतिफल सहज रुपमा लैजाँदै आएका छन् । यो कुरा लगानी प्रस्ताव आकर्षक आउन तथा महामारीमा समेत लगानी आउने कुराले पुष्टि गर्दछ । पछिल्ला तीन आर्थिक वर्षमा नेपालबाट विदेशी लगानीकर्ताहरुले ८० अर्ब २१ करोड ६५ लाख रुपैयाँ लाभांश विदेशीले लगेका छन्।

तीन आर्थिक वर्षमध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७५/०७४ मा ३९ अर्ब ५३ करोड चार लाख र त्यसपछि क्रमशः आर्थिक वर्ष २०७५/०७६ मा २७ अर्ब ७८ करोड ३० लाख र आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ९० करोड ३१ लाख लाभांश विदेशी लगानीकर्ताले लगेको सरकारी तथ्यांक छ ।

आर्थिक वर्ष २०७४/०७५ मा यातायात, सञ्चार क्षेत्रबाट सबैभन्दा धेरै २३ अर्ब ६४ करोड ९९ लाख र क्रमशः उत्पादन, खानी र उत्खननबाट ११ अर्ब ९१ करोड ४७ लाख, विद्युत्, ग्यास र पानीबाट दुई अर्ब ९२ करोड ६४ लाख, वित्तीय मध्यस्थताबाट ८८ करोड ६६ लाख र अन्य संस्थाबाट १५ करोड २८ लाख लाभांशस्वरुप नेपालबाट विदेशी मुलुकमा गएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी यातायात, भण्डारण र सञ्चारबाट १२ अर्ब ५४ करोड र क्रमशः उत्पादन, खानी र उत्खननबाट नौ अर्ब ७७ करोड ९७ लाख, बिजुली, ग्यास र पानीबाट दुई अर्ब ७६ करोड २२ लाख, वित्तीय मध्यस्थताबाट दुई अर्ब १६ करोड ७५ लाख, शिक्षाबाट ३४ करोड ७७ लाख, निर्माणबाट १६ करोड १७ लाख, होटल तथा रेष्टुरेन्टबाट एक करोड १४ लाख र अन्य क्षेत्रबाट एक करोड २८ लाख लाभांश नेपालबाट विदेशी मुलुकमा लगिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दब बढी उत्पादन, खानी र उत्खननबाट सात अर्ब ५२ करोड ७१ लाख र त्यसपछि क्रमशः वित्तीय मध्यस्थताबाट चार अर्ब ७९ करोड ९६ लाख, शिक्षाबाट ३४ करोड ७७ लाख, अन्य क्षेत्रबाट नौ करोड ७१ लाख, होटल तथा रेष्टुरेन्टबाट चार करोड २९ लाख, विद्युत्, ग्यास र पानीबाट तीन करोड २३ लाख, निर्माणबाट पाँच करोड, यातायात, भण्डारण र सञ्चारबाट ४१ लाख र स्वास्थ्य र सामाजिक कार्यबाट २३ लाख लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लगेका छन् ।

पछिल्लो समय नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकहरुमा पहिलो स्थानमा भारत, चीन, सेन्ट किट्स एण्ड नेभिज र आएरल्याण्ड रहेका छन् । यसका साथै सिंगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटा मुलुक रहेको पाइन्छ ।

सरकारले महामारीको समयमा भने विदेशी लगानीकतालाई लाभांश लैजान अनुमति दिएको थिएन । विदेशीहरुले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया