Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविश्वकपअगाडि नै दुर्व्यवहारमा परेका श्रमिकलाई क्षतिपूर्ति दिन कतारलाई एम्नेस्टीको आग्रह

विश्वकपअगाडि नै दुर्व्यवहारमा परेका श्रमिकलाई क्षतिपूर्ति दिन कतारलाई एम्नेस्टीको आग्रह

कतारमा अत्यधिक श्रमशोषण हुनेगरेको ठहर


काठमाडौं । एम्नेस्टी इन्टरनेसनले विश्वकप सुरू हुनुअगावै दुर्व्यवहारमा परेका आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति दिन कतार सरकारलाई आग्रह गरेको छ । कतारले विश्वकप सुरु हुनुअगाडि आप्रवासी श्रमिकहरूका बारेमा गरेको प्रतिबद्धता अझै पूरा नगरेको एम्नेस्टीले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले बिहीबार एक विज्ञप्ति जारी गरी कतार आफूले बाचा गरेका श्रम सुधारहरूलाई पूर्णरूपमा पूरा गर्न अहिल्यै र विश्वकप प्रतियोगिता सकिएपछि भए पनि पुनः प्रतिबद्ध हुनुपर्ने जनाएको छ । एम्नेस्टीले आप्रवासी श्रमिकहरूको अवस्थासम्बन्धी विश्वकप प्रतियोगिताअघिको आफ्नो अन्तिम प्रतिवेदनमा देशभर दुर्व्यवहारहरू अझै व्याप्त रहेको देखाएको उल्लेख गरेको छ । मानवअधिकार संस्था एम्नेस्टीले फिफा र कतारलाई दुर्व्यवहारमा परेका आप्रवासी श्रमिकहरूको लागि क्षतिपूर्ति कोष स्थापना गर्न पुनः आह्वान गरेको छ ।

एम्नेस्टीका अनुसार सन् २०१७ देखि कतारले आफ्नो श्रम प्रणालीमा ल्याएको परिमार्जनले देशका २० लाख आप्रवासी श्रमिकहरूको लागि केही देखिने उल्लेखनीय सुधारहरू ल्याएको भए पनि प्रभावकारी कार्यान्वयनको अभावले आप्रवासी श्रमिकहरूमा यस परिवर्तनले पार्नसक्ने प्रभावलाई कमजोर बनाइराखेको छ । सबै परियोजनाका हजारौँ श्रमिकहरूले अझै पनि तलब नपाउने वा ढिला गरी पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन गर्नमा अवरोधहरू तथा न्यायमा सीमित पहुँचको सामना गरिरहेका एम्नेस्टीले जनाएको छ । साथै हजारौँ श्रमिकहरूको मृत्युको अनुसन्धान समेत हुन सकेको छैन ।

एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नका अनुसार पछिल्ला पाँच वर्षमा कतारले श्रम अधिकारमा महत्वपूर्ण फड्को मारेको भए पनि सुधारको दिशामा अगाडि तय गर्नुपर्ने अझै धेरै लामो दूरी छ । कानुनमा भएका छिद्रहरू तथा कानुनको अपर्याप्त कार्यान्वयनका कारण हजारौँ श्रमिकहरू अझै शोषण र दुर्व्यवहारको सिकार बन्न पुगेको उनको भनाइ छ । उनका अनुसार आप्रवासी श्रमिकहरूलाई शोषणबाट जोगाउने कार्य आधा मात्र पूरा भएको छ भने दुर्व्यवहार भोगेकाहरूलाई क्षतिपूर्ति दिने कार्यको सुरूवात मात्र भएको छ । दीर्घकालमा यस अवस्थाको सुधारका लागि कतार प्रतिबद्ध हुनुपर्ने ककबर्न बताउँछन् ।

गएको महिना, एम्नेस्टी इन्टरनेसनलले गरेको विश्वव्यापी सर्वेक्षणले विश्वकप २०२२ तयारीका क्रममा पीडित भएका आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिको लागि आम जनमानस र फुटबल प्रशंसकहरू दुवैको व्यापक समर्थन रहेको खुलासा गरेको छ । अनुसन्धानबाट प्राप्त भएका तथ्यहरूले, एम्नेस्टी इन्टरनेसनललगायतका मानवअधिकार संस्थाहरूको एक सञ्जाल, प्रशंसक समूहहरू र ट्रेड युनियनहरूले सन् २०२२ को मे महिनामा सुरू गरेको ह्यासट्याग पेअपपिफा अभियानलाई समर्थन गरेको पाइएको एम्नेस्टीले जनाएको छ । यसले फिफा र कतारी अधिकारीहरूलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुर्व्यवहारहरू रोक्नको लागि एक विस्तृत क्षतिपूर्ति कार्यक्रम स्थापना गर्न आह्वान गरेको छ ।

आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्ने सवालमा प्रशंसक, फुटबल संगठन र प्रायोजकहरूका बीच ठूलो र बढ्दो समर्थन भए पनि कतार र फिफा भने यस सवाललाई बेवास्ता गरिरहेको एम्नेस्टीको आरोप छ । हजारौँ आप्रवासी श्रमिकहरूले वर्षौँदेखि भोग्नुपरेको दुर्व्यवहारहरूलाई अनदेखा गर्नु उनीहरूको सम्बन्धित अन्तर्राष्ट्रिय दायित्व र जिम्मेवारीविपरीत हुने एम्नेस्टीको दाबी छ ।

कतारले सन् २०१७ देखि लागू गरेका सुधारहरूमा घरमै बस्ने घरेलु श्रमिकहरूको लागि काम गर्ने अवस्थाहरू नियमन गर्ने कानुन, न्यायमा पहुँच सहज गर्नका लागि श्रम न्यायाधीकरण, तिर्न बाँकी ज्यालाको भुक्तानीलाई सहयोग गर्न एक कोष र न्यूनतम पारिश्रमिक समावेश छ । कतारले मानवअधिकारका दुईवटा प्रमुख अन्तर्राष्ट्रिय महासन्धिहरूलाई अनुमोदन पनि गरेको छ तर आप्रवासी श्रमिकहरूको ट्रेड युनियनमा सामेल हुने अधिकारलाई भने मान्यता दिएको छैन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया