Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशबागमतीमा १७ प्रतिशत कम राजस्व असुली

बागमतीमा १७ प्रतिशत कम राजस्व असुली


हेटौडा,बागमती प्रदेशको राजस्व असुलीमा गत आर्थिक वर्ष २०७९÷८० मा १७ प्रतिशतले कमी आएको छ । गत आवमा प्रदेशमा लक्ष्यभन्दा नौ अर्ब ४३ करोड कम राजस्व सङ्कलन भएको हो ।

बागमती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाका कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारले लक्ष्यभन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले आव २०७९÷८० मा ५५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड रुपैयाँ मात्रै संकलन गरेको उनले बताए । ‘शीर्षकको हिसाब मिलानको काम बाँकी रहेकाले केही राजस्व बढ्न सक्छ’, उनले भने । प्रदेश सरकारले विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित ७० अर्ब ९३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको थियो ।

प्रदेश सरकारले गत आवको सुरुवातसम्ममा नगद मौज्दातसहित ७७ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन गरेको थियो । त्यसैगरी प्रदेश सरकारले सो आर्थिक वर्षमा सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने राजस्वअन्तर्गत अनुमानभन्दा २६ प्रतिशत कम प्राप्त भएको प्रमुख उपाध्यायकोे भनाइ छ । सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन् दस्तुर, मालपोत लगायतका राजस्वमार्फत अनुमानको ७४ प्रतिशत मात्र संकलन भएको छ । सो शीर्षकअन्तर्गत २८ अर्ब ४५ करोड राजस्व संकलनको अनुमान गरिएकामा आर्थिक वर्षको अन्त्यसम्ममा २१ अर्ब चार करोड रुपैयाँ मात्र संकलन भएको उनले बताए ।

यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणअन्तर्गत २१ अर्ब चार करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको थियो । तर, आर्थिक मन्दीका कारण सङ्घीय सरकारले बजेट कार्यक्रम कटौती गर्दा केही कार्यक्रम फिर्ता भएको प्रमुख उपाध्यायले बताए । उक्त कार्यक्रम फिर्ता हुँदा प्रदेश सरकारले वित्तीय हस्तान्तरणअन्तर्गत १७ अर्ब ९९ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा शतप्रतिशत रकम प्राप्त नभएको उनको भनाइ छ । आन्तरिक स्रोतअन्तर्गत वन, सञ्चार तथा विभिन्न साना तथा घरेलु उद्योग दर्ता, नवीकरण र सेवा सुविधाअन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा चार अर्ब ७४ करोड रुपैयाँ आय संकलन हुने अनुमान गरेको थियो ।

प्रदेश सरकारले आन्तरिक स्रोतमार्फत बागमती सभ्यता तथा नारायणी राप्ती सभ्यतासहित अनुमान गरिएको उक्त रकममध्ये सो आवमा पाँच अर्ब ९९ करोड रुपैयाँ आय संकलन गरेको छ । प्रदेश सरकारले सो आर्थिक वर्षमा अनुदान फिर्ता, बेरुजुलगायतका शीर्षकमार्फत एक अर्ब पाँच करोड रुपैयाँ आय संकलनको अनुमान गरेकोमा आर्थिक वर्षको अन्त्य असार मसान्तसम्ममा एक अर्ब ४४ करोड रुपैयाँ आय संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

घरजग्गा रजिस्ट्रेसनमा ४० प्रतिशत घट्यो राजस्व
आर्थिक मन्दीको असरका कारण प्रदेश सरकारले संकलन गर्ने विभिन्न शीर्षकका राजस्व तथा दस्तुरमा गिरावट आएको छ । प्रदेश सरकारको राजस्वको मुख्य स्रोत नै घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारीसाधन कर रहेको छ । दुवै शीर्षकमा गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्ममा घरजग्गा रजिस्ट्रेसन शीर्षकअन्तर्गत अनुमानभन्दा ४० प्रतिशत कम राजस्व संकलन गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

घरजग्गा रजिस्ट्रेसन शीर्षकअन्तर्गत प्रदेश सरकारले सात अर्ब ८५ करोड राजस्व संकलनको अनुमान गरेकामा पाँच अर्ब ४७ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत गत आवमा अनुमानभन्दा २५ प्रतिशत कम राजस्व संकलन गरेको छ । उक्त शीर्षकमा सात अर्ब २५ करोड राजस्व संकलनको अनुमान गरेकोमा छ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया