Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रमपाँच वर्षमा १३ हजार नेपाली श्रमिक पुगे रोमानिया

पाँच वर्षमा १३ हजार नेपाली श्रमिक पुगे रोमानिया


नेपाल सरकार र रोमानिया सरकारबीच गत शुक्रबार द्विपक्षीय श्रम सम्झौता भएको छ । वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यविस्थत बनाउने सरकारको नीतिअनुरुप विभिन्न मित्रराष्ट्रहरुबीच द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई निरन्तरता दिने क्रममा सो सम्झौता भएको श्रम मन्त्रालयले जनाएको छ । समझदारीपत्रमा श्रममन्त्री शरतसिंह भण्डारी र रोमानियाकी श्रम र समाजिक एकता मन्त्री सिमोना बुकुराले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार युरोपेली मुलुक रोमानियाली पक्षले नेपाली श्रमिक नैतिक भर्तीमार्फत रोमानिया लैजाने बताएको छ । रोमानियामा ठूलो संख्यामा आप्रवासी श्रमिकहरुको माग रहेको, नेपाली श्रमिकहरुको कार्य स्वभाव, इमान्दारिता, लगनशीलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकोले नेपालबाट श्रमिक छोटो समयमा नैतिक भर्तीमार्फत रोमानिया लैजाने कानुनी प्रावधान तथा व्यवस्थापनका बारेमा रोमानिया पक्षले चासो व्यक्त गरेको मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए । उनका सहसचिव पोखरेलका अनुसार श्रमिकको सामाजिक सुरक्षाको हकमा रोमानियामा कार्यरत रहेका कुनै पनि आप्रवासी श्रमिकहरुले त्यहाँका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्नपाउने व्यवस्था रहेको जानकारी गराउँदै दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझादारीको प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भयो ।
नेपाली श्रमिक लैजाँदा भने दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपजस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति कायम भएको छ । रोमानियापक्षले नेपाली श्रमिकको हक, हित सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोमानियामा उल्लेख्य संख्यामा नेपाली श्रमिक माग रहेको र पारदर्शीरुपमा श्रमिकको छनौट तथा छोटो अवधिमा श्रमिक लैजाने प्रक्रियामा समन्वय र सहकार्य गर्ने चासो समेत व्यक्त गरेका छन् ।

त्यस्तै, प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ताको क्रममा नेपालमा छिटै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानीयमा नेपाली श्रमिकहरुका लागि सम्भावित सीपयुक्त श्रमबजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्नेजस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहना रोमानिया पक्षबाट प्रसतुत गरिएको थियो । नेपालबाट पुरुष र महिला दुवै रोमानियामा रोजगारीको लागि जाने गरेकोले पुरुष र महिला दुवैलाई प्राथमिकतामा राखी दुवै मुलुकका प्रतिनिधिहरु अघि बढ्न चाहेका हुन् । रोमानिया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहेको र श्रमबजारको फराकिलो सम्भावना रहेकोले दुई मुलुकबीच श्रम क्षेत्रमा भएको समझादारीले सम्बन्ध थप मजबुत समेत बन्न पुगेको छ ।

रोमानियासँग नेपालको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई मुलुकबीच श्रम क्षेत्रमा थप समझादारी कायम भएको बताइएको छ । कार्यक्रममा मन्त्री भण्डारीले नेपाली श्रमिकसँग सरोकारका विषयहरु र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रभावका बारेमा जानकारी गराएका थिए । वैदेशिक रोजगारी अपरिहार्य रहेको बताउँदै आएका मन्त्री भण्डारीले रोमानियासँगको श्रम सम्झौताले वैदेशिक रोजगारीमा सहजता ल्याउने बताए । युरोपेली मुलुक रोमानियामा काम गर्न जाँदा नेपाली श्रमिकहरुले आवश्यक सेवा सुविधा प्राप्त गर्ने समेत उनको भनाइ छ ।

यसैबीच करिब एक सय ७० वटाभन्दा बढी मुलुकमा रोजगारीका लागि पुग्ने नेपाली श्रमिक रोमानिया समेत पुग्ने गरेको मन्त्रालयले जनाएको छ । श्रम सम्झौताअघि नै पाँच वर्षको अवधिमा १३ हजार जनाभन्दा बढी नेपाली श्रमिक काम गर्नका लागि रोमानिया पुगेको मन्त्रालयले जनाएको छ । सन् २०१७ देखि सन् २०२२ सम्मको अवधिमा १३ हजार दुई सय २२ जना नेपाली श्रमिक रोमानिया पुगेका हुन् । जसमध्ये करिब ८० प्रतिशतभन्दा बढी पुरुष र बाँकी २० प्रतिशत महिला छन् । सन् २०१७÷१८ मा दुई सय ७८ जना पुरुष र ५५ जना महिला, सन् २०१८÷१९ मा एक हजार एक सय २० जना पुरुष र एक सय १९ जना महिला, सन् २०१९÷२० मा एक हजार आठ सय २१ जना पुरुष र दुई सय सात जना महिला, सन् २०१९÷२० मा एक हजार आठ सय २१ जना पुरुष र दुई सय सात जना महिला, सन् २०२०÷ २१ मा एक हजार नौ सय २१ जना पुरुष र दुई सय २६ जना महिला र सन् २०२१÷२२ मा छ हजार पाँच सय ७४ जना पुरुष र नौ सय एक जना महिला गरी कुल १३ हजार दुई सय २२ जना नेपाली कामका लागि रोमानिया पुगेका छन् । खाडीका छ मुलुक र मलेसियाको तुलनामा युरोपेली मुलुक सुरक्षित र आकर्षक आम्दानीका कारण नेपाली युवाहरु त्यसतर्फ गएको पाइन्छ । यही कारण रोमानिया जानेको संख्यामा वृद्धि हुँदै गएको हो । नेपाल सरकारले रोमानियालाई व्यक्तिगतरुपमा खुला गरे पनि संस्थागतरुपमा भने खुला गरेको छैन । सरकारले एक सय ११ मुलुकलाई संस्थागतरुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ भने व्यक्तिगत श्रम स्वीकृतिमा भने एक सय ७२ मुलुक नेपाली कामदार जानसक्ने व्यवस्था गरेको छ ।


क्याटेगोरी : समाचार, श्रम
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया