Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकमा न आन्तरिक रोजगारी न दक्ष जनशक्ति !

मुलुकमा न आन्तरिक रोजगारी न दक्ष जनशक्ति !


काठमाडौं । मुलुकमा आन्तरिक रोजगारी नहुँदा दैनिक सयौँ युवाहरू रोजगारीका लागि खाडी मुलुक, मलेसिया, युरोप, कोरिया, जापान र अमेरिकालगायतका मुलुकमा काम गर्न गइरहेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा आन्तरिक रोजगारी नभएको कारण वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न श्रममन्त्री शरतसिंह भण्डारीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाइरहने भन्दा मुलुकमा भित्रिएका दक्ष विदेशी श्रमिकलाई भने नजरअन्दाज गर्न नसकेको स्पष्ट हुन्छ ।

मुलुकका विभिन्न विकास परियोजना, उद्योग तथा व्यवसायहरूमा पर्याप्त दक्ष जनशक्ति नहुँदा विदेशी श्रमिक ल्याउनुपर्ने बाध्यता छ । वार्षिक सयौँ संख्यामा दक्ष विदेशी श्रमिक नेपाल आउने गरेका छन् ।

श्रम तथा सुरक्षाजन्य विभागका अनुसार सरकारले दक्ष जनशक्ति उत्पादन नगर्दा मुलुकमा आवश्यक पर्ने दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने बाध्यात्मक अवस्था छ । विभिन्न उद्योग तथा व्यवसायमा आवश्यक पर्ने इन्जिनियर, पाइलट, चिकित्सक, प्राविधिकलगायतका दक्ष जनशक्तिहरू स्वदेशमा अभाव भएपछि विदेशबाट ल्याउनेगरेको निजी क्षेत्रका प्रतिनिधिहरू बताउँछन् । एकातर्फ स्वदेशमा रहेका युवाहरू मुलुकमा रोजगारी नहुँदा विदेश जानुपरेको छ भने अर्कोतर्फ दक्ष जनशक्ति नहुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको श्रम तथा सुरक्षाजन्य विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो छ वर्षमा १२ हजारभन्दा बढी गैरनेपाली श्रमिकले नेपालमा काम गर्न श्रम इजाजत लिएका छन् । सन् २०१७ देखि अहिलेसम्म १२ हजार तीन सय २१ जना दक्ष विदेशी श्रमिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । जसमध्ये सात हजार आठ सय ३३ जनाले नयाँ श्रम स्वीकृति र चार हजार चार सय ८८ जनाले श्रम स्वीकृति नवीकरण गरेका हुन् ।

बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी श्रमिक अनिवार्यरूपमा श्रम स्वीकृति लिई नेपालमा काम गर्दै आएका छन् । नेपाल आउने विदेशी श्रमिकहरूमध्ये महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको विभागमा प्रवक्ता मणिनाथ गोपले जानकारी दिए । समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिने सात हजार आठ सय ३३ जना विदेशी श्रमिकमध्ये सात हजार ३७ जना पुरुष र सात सय ९६ जना महिला छन् । श्रम स्वीकृति नवीकरण गर्ने चार हजार चार सय ८८ जना विदेशी श्रमिकमध्ये तीन हजार आठ सय ५३ जना पुरुष र छ सय ३५ जना महिला छन् ।

चालू आर्थिक वर्षको मंसिरसम्म नयाँ श्रम स्वीकृति लिने चार सय १४ जना र श्रम स्वीकृति नवीकरण गर्ने पाँच सय ४५ जना विदेशी श्रमिक छन् । श्रम स्वीकृति लिने विदेशी श्रमिकहरू एसिया, युरोप र अफ्रिकाका मुलुकबाट आउनेगरेका छन् । नेपाल आउने सबैभन्दा धेरै चिनियाँ र बेलायती श्रमिक छन् । सन् २०१७ यता आठ हजार सात सय ३० जना चिनियाँ र पाँच सय ५१ जना बेलायती श्रमिक नेपाल आएका छन् । यस्तै तीन सय ९७ जना अमेरिकी, दुई सय ४६ जना भारतीय, दुई सय ८३ जना दक्षिण कोरियाली, दुई सय ४९ जना जापानिज, एक सय ३६ जना अष्ट्रेलियन, एक सय २५ जना श्रीलंकन, एक सय ११ जना जर्मनी, ८५ जना इटलियन, ८९ जना फ्रान्सेली, ९४ जना फिलिपिनी र ४७ जना स्पेनी दक्ष कामदार यहाँ कार्यरत छन् । नाइजेरिएन ५० जना, भनेजुयला सात जना, सर्बिया पाँच जना, युद्धरत मुलुक प्लेसटाइनका दुई जना नागरिक नेपालमा कार्यरत छन् ।

नेपालसँग सिमाना जोडिएको भारत र चीनदेखि लिएर एसियन मुलुक जापान, कोरिया, कुवेत, मलेसिया, भुटान, बंगलादेशलगायतका मुलुकबाट समेत त्यहाँका नागरिक काम गर्न नेपाल आउनेगरेका छन् । त्यस्तै अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, स्पेन, केन्या, चिल्ली, कम्बोडिया, इथियोपियालगायतका मुलुकबाट नेपालमा काम गर्न आउनेगरेका छन् । चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ नागरिकको संख्या बढी भएको बताइएको छ ।

नेपालमा अहिलेसम्म तीन सय एक आपूर्तिकर्ता संस्थाले श्रमिक निर्यात गर्दै आएका छन् । जसमा ३५ वटा नयाँ र दुई सय ३६ वटा पुराना संस्थाहरू हुन् । मुलुकको उद्योग, प्रतिष्ठान, व्यापारलगायतका क्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले विदेशी श्रमिकलाई श्रम स्वीकृति दिँदै आएको पाइन्छ ।

श्रम ऐन २०४८ (संशोधन २०५४)ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । ऐनको दफा ४ (क)मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवदेन दिनसक्ने व्यवस्था छ । निवेदन प्राप्त भएपछि विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्छ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नु पर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।

चालू आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ४८ हजार नौ सय ९६ छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू भने अदक्ष, अर्धदक्ष बाहुल्यता छ भने न्यून संख्यामा मात्र सीपयुक्त र व्यावसायिक श्रमिकहरू विदेशमा काम गर्न गएका छन् । सरकारले स्वदेशमा रहेका सीपयुक्त, व्यावसायिक दक्ष श्रमिकहरूको व्यवस्थापन गर्न नसक्दा विदेशबाट दक्ष श्रमिकहरू ल्याउने गरेको पाइन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया