Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशपर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता

पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता


चितवन । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । महानगरपालिका सभाहलमा बुधबार दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार भरतपुर भ्रमण वर्षको सञ्चालनमा लाग्ने कुल खर्च तीन करोड सत्तरी लाखमध्ये बोर्डले सत्तरी लाख रुपैयाँ व्यहोर्ने छ । पर्यापर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टिकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रवर्द्धन, विभिन्न सहरहरूमा प्रचारात्मक कार्यक्रम, नेचर गाइड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशका भइरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निराशालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भए पनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवा सुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताए । यस्तै, उनले भ्रमण वर्ष सफल बनाउन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको जानकारी दिए । भरतपुर भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचार गर्न विदेशी पत्रकारलाई नेपालमा ल्याउने कार्यक्रम तय भएको उनको भनाइ थियो ।

भ्रमण वर्षको तयारी तीव्र
यसैगरी, भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीव्र पारिएको छ । यही फागनु १८ गते नारायणी किनारमा हुने उद्घाटन समारोहलाई व्यवस्थित र फलदायी बनाउन बुधबार सरोकारवालासँग छलफल भएको थियो । महानगरपालिकाले भ्रमण वर्षको तयारीका लागि दैनिकरूपमा सरोकारवालासँग निरन्तर छलफल गर्ने पनि जनाएको छ । उद्घाटनको दिनमा नारायणी किनारमा ५० हजार जना सहभागी गराउने गरी वडागतरूपमा तयारी भइरहेको छ ।

कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रमका लागि निस्किने ¥याली, झाँकी, मञ्च व्यवस्थापन, शौचालय व्यवस्थापन, आकस्मिक उपचारलगायतका विषयमा विज्ञहरूसँग छलफल भएको थियो । महानगर प्रमुख दाहालले भ्रमण वर्षलाई सफल बनाउन सबैको हातेमालो अवश्यक रहेकाले यसमा सबैले अपनत्व लिनुपर्ने बताइन् । छलफलमा विषयगत समितिले अहिलेसम्म भइरहेको तयारीबारे बिफ्रिङ गरेका थिए ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया