सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् । पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन् ।
सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ सरकार गठन अन्योलग्रस्त बनेको हो । गठबन्धन दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले एकजुट भइ सहयोग गरेमा मात्र सरकार गठन सहज हुन्छ ।
प्रदेश प्रमुख नजिर मियाँले यही चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमतको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई विसं २०८१ वैशाख २ गते अपराह्न ५ बजेसम्म (१) दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
केन्द्रमा फेरिएको समीकरणमा सहभागी दलका शीर्ष नेताबीच सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीलाई पालैपालो सरकारको नेतृत्व दिने समझदारी भएको बताइन्छ ।
नाउपामा बढेको किचलोसँगै प्रदेशसभा सचिवालयले सो पार्टीको केन्द्रीय कार्यालयको पत्रको आधारमा केही दिनअघि पार्टीका प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको सूचना सार्वजनिक गरेको थियो ।
पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नाउपा, सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोकेका थिए ।
केन्द्रमा फेरिएको नयाँ गठबन्धनअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे पार्टीका प्रदेशसभा सदस्य पक्ष र विपक्षमा विभाजित भएका थिए ।
यसैबीच पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरीको उपस्थितिमा आज धनगढीमा बसेको प्रदेशसभाका सदस्यको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेबारे छलफल गरेको छ ।
नाउपाकै नेतृत्वमा सरकार गठन गर्ने विषयमा समझदारी भएको नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताउनुभयो । उनले भने, “बहुमत पुग्ने गरी हामी सरकारको नेतृत्व गर्ने प्रयास गर्दैछौँ, जुन पक्षसँग बहुमत जुटाउन सहज हुन्छ, उसैको सहयोगमा सरकार गठनगर्ने कुरा भएको छ ।”
नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्य प्रकाश रावलले केन्द्रमा बनेको समझदारीअनुसार सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा समाजवादी पार्टीकै नेतृत्वमा सरकार गठन हुने विश्वास व्यक्त गरे । उनले भने , “सरकार गठबन्धन दलकै नेतृत्वमा बन्छ, पहिलो नेतृत्व कसले गर्ने भन्ने कुरा मात्रै हो ।”
केन्द्रमा फेरिएको समीकरणसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएको थियो । प्रदेशसभाको बैठकमा विश्वासको पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
नाउपाका सात प्रदेशसभा सदस्यमध्ये एक सदस्यलाई फिर्ता बोलाइएको सूचना सार्वजनिक गरिएको छ । रिक्त रहेको एक पदमा आगामी वैशाखमा उपचिर्वाचन हुँदैछ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया