Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअन्तरबैंक कारोबार ३२ खर्ब

अन्तरबैंक कारोबार ३२ खर्ब


बैंक तथा वित्तीय संस्थाहरूबीच एक आपसमा अल्पकालीन अवधिको लागि हुने कारोबार झण्डै ३२ खर्ब रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिना (सउन–फागुन)मा ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले कुल ३१ खर्ब ८९ अर्ब ३५ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब ८० अर्ब ४३ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा अन्तरबैंक कारोबार रकम २६ खर्ब आठ अर्ब ९२ करोड रूपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार आठ महिनामा वाणिज्य बैंकहरूले मात्रै कुल २८ खर्ब ९४ अर्ब ९४ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब २३ अर्ब २७ करोड रूपैयाँले बढी हो । गतवर्ष आठ महिनामा वाणिज्य बैंकहरूले कुल २३ खर्ब ८१ अर्ब ६७ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । विकास बैंक र फाइनान्स कम्पनीहरूले भने दुई खर्ब ९४ अर्ब ४१ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ अर्ब १६ करोड रूपैयाँले बढी हो । गतवर्ष आठ महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरूले दुइ खर्ब ३७ अर्ब २५ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।

राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबार बढेपछि यसको असर बैंकिङ क्षेत्रको ब्याजदरमा परेको छ । २०७९ फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर नौ दशमलव ३३ प्रतिशत रहेकोमा २०८० फागुनमा तीन दशमलव शून्य दुई प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा सात दशमलव १८ प्रतिशत रहेकोमा २०८० फागुनमा दुई दशमलव ९२ प्रतिशत छ । २०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर आठ दशमलव ७७ प्रतिशत छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको औसत आधार दर भने क्रमशः १० दशमलव ७१ र १२ दशमलव ३३ प्रतिशत छ । अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ६४ प्रतिशत थियो ।

यस वर्ष फागुन मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ७४ प्रतिशत छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको औसत भारित ब्याजदर क्रमशः सात दशमलव ९३ र नौ दशमलव १३ प्रतिशत छ । २०७९ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ३७ प्रतिशत कायम भएको थियो ।यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० फागुनमा वाणिज्य बैंकहरूको १० दशमलव ७८ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव ५२ प्रतिशत र फाइनान्स कम्पनीहरूको १३ दशमलव ६१ प्रतिशत छ । २०७९ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३ दशमलव शून्य तीन प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया