Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआठौं पटक भाग्यले साथ नदिने हो कि ?

आठौं पटक भाग्यले साथ नदिने हो कि ?


फरक मत
करिब २२९ वर्षपहिले तिब्बत र चीनसँग र करिब २०६ वर्षपहिले भारतको अंग्रेजहरुसँग नेपालको युद्ध भएको थियो । तर, ती युद्धहरु हुँदाहुँदै पनि र करिब २०४ वर्षपहिले भएको सुगौली सन्धिको कारण मुलकले केही भूभाग गुमाउनुपरे पनि आजको दिनसम्म विश्वमा नेपाल एक सार्वभौमसत्तासम्पन्न मुलुकको रुपमा स्थापित भइरहनु मुलुकलाई भाग्यले साथ दिएको मान्नैपर्छ । तर, वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सुरु भएको एक प्रकारको आधुनिक युगमा कता–कता मुलुकलाई पटक–पटक भाग्यले साथ नदिएको देखिन्छ ।

वि.सं. २००७ सालको परिवर्तनले जनतामा निकै हर्ष उल्लास ल्याइदिएको थियो । तर, प्रजातन्त्र ल्याउनमा प्रमुख भूमिका खेल्ने नेपाली कांग्रेस पार्टीका नेतृत्व र राजाबीच एक प्रकारको व्यक्तित्व टकराव भएकै कारण घटेको वि.सं. २०१७ सालको घटनालाई आधुनिक नेपालमा भाग्यले साथ नदिएको पहिलो घटनाको रुपमा लिन सकिन्छ । तर, त्यसपछि राजा महेन्द्रले विकास निर्माण, उद्योग ब्यापारदेखि परराष्ट्र नीति तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरिरहेका थिए । तर, अकस्मात् उनको देहान्त भयो । यो भाग्यले साथ नदिएको दोस्रो उदाहरण हो । राजा महेन्द्रले १०/१२ वर्ष थप समय सत्ता सम्हालेको भए राष्ट्रनिर्माणमा ठूलै सहयोग हुने प्रबल सम्भावना थियो ।

राजा वीरेन्द्रले पनि राष्ट्रनिर्माणमा केही नयाँ पहलहरु गरी समान हैसियत भएका अन्य मुलुकहरुमा भइरहेको आर्थिक तथा सामाजिक प्रगतिसरह औसत रुपमा सन्तोषजनक ढंगले मुलुकलाई हाँकिरहेकै थिए । तर, भाग्यले साथ नदिएको तेस्रो उदाहरणको रुपमा लिनुपर्ने यो कुरा के भएर कुन्नि भारतसँग सम्बन्ध बिग्रिन थाल्यो र एक्कासि २०४६ सालको परिवर्तन भयो । जुन परिवर्तनलाई नेपाली जनता र विश्वले स्वागत गरे । एक ‘उत्कृष्ट’ संविधान जारी भयो । तर, अर्कै रुपमा राज्यसत्ता सञ्चालनमा समस्या आउन थाल्यो ।

मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका तीन जना नेताबीच झगडा सुरु भयो । त्यही झगडाको फलस्वरुप उत्कृष्ट संविधान निर्माण गर्ने काममा सफल ‘छाता र सुराई’ छविको नेता कृष्ण प्रसाद भट्टराईलाई पार्टी सरकार चलाउने जिम्मा दिइएन । यसलाई मुलुकको चौथो दुर्भाग्यको रुपमा लिन सकिन्छ । त्यसपश्चात् उच्च कोटीको आर्थिक वृद्धि हासिल गर्न नसके पनि मुलुकको राजनीति शान्त वातावरणमा अघि बढिरहेको थियो । तर आम नागरिकले कल्पनासम्म नगरेको हिंसात्मक माओवादी जनयुद्ध सुरु हुन पुग्यो (भाग्यले साथ नदिएको पाँचौँ पटक) ।

त्यसपछि दरबार हत्याकाण्डले संसारलाई नै चकित पारिदियो । छैठौं दुर्भाग्यपुर्ण घटना । त्यसपश्चात् राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्दासम्म पनि जनताले खासै विरोध जनाएन भने २०६२/०६३ मा आएको परिवर्तनबाट ल्याएको गणतन्त्रलाई पनि जनताले सहर्ष स्वीकार गरेर अब त देश बन्ने भयो भनी आशा गरेर बसेकै हो । जनयुद्धको कमाण्डरलाई नै जनताले प्रधानमन्त्रीको कुर्सीमा बसाइदिए । तर, राज्यसत्ता सञ्चालनमा बराबर हुने एक सानो प्रशासनिक अलमलको कारण देखाएर चार वर्ष देश चलाउन जनताले दिएको म्यान्डेटलाई बेवास्ता गरी सात महिनामा नै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन पुगे (सातौँ पटक देशलाई भाग्यले साथ दिएन) ।

गणतान्त्रिक नेपालमा केही राजनीतिक उतारचढावपछि पछिल्लो निर्वाचनमा जनताले नेकपालाई भारी मतले नै सत्तामा पठाइदिए र जनताले आशा गरेर बसिरहेको अहिलेको अवस्था हो । तर, फेरि गत केही महिनादेखि देशलाई भाग्यले साथ नदिएको लक्षणहरु देखा पर्दै छन् । जनताले भारी बहुमतले जिताएको नेकपा पार्टीभित्र शीर्ष नेताहरुबीच अहिले झगडा सुरु भएको छ । ज्योतिषहरुले देशको नेताहरुलगायत मुलुककै ग्रहदशा हेर्न थालेको समाचारहरु फेरि आउन थालेका छन् । केही नेता एवं राजनीतिक विश्लेषकहरुले फेरि एक राजनीतिक दुर्घटना हुने सम्भावना छ भनी जनतालाई तर्साउन सुरु गरिसकेका छन् । तसर्थ, देश चलाउने जिम्मा लिएका एक दर्जनजति शीर्ष नेताहरुले यसपालि जसरी भए पनि ‘भद्र महिला भाग्य (लेडी लक)’ लाई खुसी पार्न जरुरी छ । आठौँ पटक भाग्यले साथ नदिएको स्थिति आउन दिनुभएन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया