काठमाडौं, साउन ३०
काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । काठमाडौंमा यातायात र पसलहरु सहज रुपमा खुला भएको कारण संक्रमितको संख्या अझै बढ्ने देखिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्न कडाइ गरिए पनि यसअघि आएकाहरुको कारण कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । भारतीयसँग प्रत्यक्ष सम्पर्कमा आउने कुलेश्वरको वाग्मती नदी किनारको फलफूल बजारमा कोरोनाको उच्च जोखिम बढेको छ । त्यहाँ बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न दिइएको छ । भारतबाट फलफूल बोकेर आउने गाडीको सम्पर्क सिधै त्यहाँ व्यवसाय गरिरहेका र खरिद गर्न गएका उपभोक्ताबीच हुन्छ । त्यही भएर बजार अवधि छोटो गराइएको स्थानीय प्रशासनले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौँमा एक सय ११ जना, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना कोरोना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमित मृतक ९५ जना पुगेका छन् ।
काठमाडौं उपत्यकामा एक सय २७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे छ । देशका विभिन्न प्रयोगशालामा नौ हजार आठ सय ५९ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच सय २५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमित २४ हजार नौ सय ५७ जना पुगेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप एक सय नौ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म १६ हजार आठ सय ३७ उपचारपछि निको भएका छन् । सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ ।
यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो । भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाइ सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिलेझैँ खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ ।
सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घ/संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घ/संस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्नसमेत सरकारले निर्देशन दिएको छ ।
मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी बिहीबारदेखि लागू हुने गरी तत्काल सवारी पास वितरण बन्द गर्न भनेको छ । फुटपाथ, खुला ठाउँ, ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका व्यवसायलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय पनि भएको छ । उद्योग कलकारखाना भने आवश्यक स्वास्थ्य मापदण्डअनुसार मात्रै सञ्चालन गर्न पाइनेछ ।
चीनको वुहानमा गत डिसेम्बर ३१ मा देखिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिएपछि सरकारले गएको चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेको निर्णयले साउन ६ गते रातिदेखि लकडाउन अन्त्य भएको थियो । वैशाख र जेठमा अत्यधिक बढेको कोभिड–१९ असारमा केही कमी देखिए पनि साउनमा ह्वात्तै बढेको छ । सङ्क्रमणमा केही कमी आएपछि सरकारले जेठ २९ गते लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधि चलायमान बनाएको थियो । त्यसको ठीक दुई महिना पुग्दा कोरोना रोकथाम हुनाको सट्टा क्रमशः बढ्दो क्रममा रहेको विवरणले देखाउँछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया