Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको चुक्ता पुँजी तीन खर्ब ३० अर्ब नाघ्यो

बैंकिङ क्षेत्रको चुक्ता पुँजी तीन खर्ब ३० अर्ब नाघ्यो


काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी तीन खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुचार चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले कुल तीन खर्ब ३० अर्ब ७१ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका हुन ।

यस अवधिमा वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी भने दुई खर्ब ८५ अर्ब ३० करोड ७० लाख रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व र वित्तीय सवलताको लागि चुक्ता पुँजी वृद्धिसम्बन्धी योजनालाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याएकाकारण पनि वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी बढेको छ । तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले बासेल ३ लाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने क्रममा वाणिज्य बैंकहरुलाई झण्डै चार गुणा बढी चुक्ता पुँजी कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेका थिए ।

उक्त समयमा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेकोमा तत्कालीन गर्भर डा. नेपालले वाणिज्य बैंकहरुलाई आठ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएका थिए । सोही निर्देशनबमोजिम अहिले सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गरेका कारण पनि बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी तीन खर्ब रुपैयाँ नाघेको हो ।

चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा विकास बैंकहरुको कुल चुक्ता पुँजी भने ३१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका कुल १९ वटा विकास बैंकहरु मध्ये धेरैवटाले क्षेत्रियस्तमा कारोवार सञ्चालन गर्दे आएको र राष्ट्रियस्तरको तुलनामा क्षेत्रीयस्तरका विकास बैंकहरुको चुक्ता पुँजी कम हुने हुँदा विकास बैंकहरुको कुल चुक्ता पुँजी ३१ अर्ब रुपैयाँको हारामारीमा रहेको हो ।

तत्कालीन गर्भनर डा. नेपालले राष्ट्रियस्तरका विकास बैंकहरुलाई तत्कालीन समयमा कायम रहेको न्यूनतम ६४ करोड रुपैयाँ चुक्ता पुँजीलाई वृद्धि गरी दुई अर्ब ५० करोड रुपैयाँ पु-याउन निर्देशन दिएका थिए । उक्त निर्देशनबमोजिम अहिले राष्ट्रियस्तरका सबै विकास बैंकहरुले केन्द्रीय बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गरेका कारण पनि विकास बैंकहरुको कुल चुक्ता पुँजी ३१ अर्ब नाघेको हो ।

चालू आर्थिक वर्षको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी भने १४ अर्ब तीन करोड १० लाख रुपैयाँ पुगेको छ । झण्डै चार वर्षअघि राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्ने प्रावधान रहेको थियो । उक्त प्रावधानलाई तत्कालीन गभर्नर डा. नेपालले संशोधन गर्दै राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुको लागि न्यूनतम चुक्ता पुँजीको सीमा ८० करोड रुपैयाँ तोकिएको थियो । न्यूनतम चुक्ता पुँजीसम्बन्धी उक्त व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा आउँदा पछिल्लो समय फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी बढेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया