Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० वर्षे अवधिको २० अर्ब रुपैयाँको विकास ऋणपत्र आगामी बुुधबार

१० वर्षे अवधिको २० अर्ब रुपैयाँको विकास ऋणपत्र आगामी बुुधबार


काठमाडौं ।
यही कात्तिक १९ गते अर्थात् आगामी बुुधबार नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री खुल्ला हुुने भएको छ । उक्त दिन अपराह्न २ बजेसम्ममा उक्त परिमाणमा ऋणपत्रको बिक्री गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । बोलकबोलको माध्यमद्वारा बिक्री गरिने उक्त ऋणपत्रमा अर्धवार्षिकरुपमा व्याज उपलब्ध गराइनेछ । विकास ऋणपत्र २०८७ घ (१० वर्षे) नामकरण गरिएको ऋणपत्रको निष्काशन मिति यही कात्तिक २० बिहीबार तोकिएको छ भने सावाँ भुक्तानी मिति २०८७ कात्तिक २० गते तोकिएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक समेत खरिद गर्न सकिने यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने राष्ट्र बैंकले जनाएको छ ।

बिक्रीको लागि छुट्याइएको कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्ब र तीन अर्ब रुपैयाँ छुट्याइएको छ । सोमध्ये अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।

ऋणपत्र खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्नेछन् । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सो अनुसार चालू आवको प्रथम चौमासिकमा ५७ अर्ब, दोस्रो चौमासिकमा ५६ अर्ब र तेस्रो चौमासिकमा ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने लक्ष्य राष्ट्र बैंकको रहेको छ । सोहीअनुुरुप राष्ट्र बैंकले पछिल्लो समयमा विकास ऋणपत्र, ट्रेजरी बिल लगायतका मौद्रिक उपकरणको बिक्री खुल्ला गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया