Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार८१ मध्ये ५० लघुवित्तको पहिलो त्रैमासिक विवरण सार्वजनिक

८१ मध्ये ५० लघुवित्तको पहिलो त्रैमासिक विवरण सार्वजनिक


काठमाडौं ।
सञ्चालनमा रहेका ८१ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ५० वटा लघुुवित्त संस्थाहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअघि त्रैमासिक अवधि सकिएपछिको महिनाको १५ गतेभित्र सकिएको त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुुपर्ने व्यवस्था रहेको थियो । तर यसपटक भने कोरोना भाइरस (कोभिड १९) यही बीचमा परेको दशैँ तिहारको लामो विदाका कारण नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समयसीमा कात्तिक मसान्तसम्म थप गरेको थियो ।

सोही व्यवस्थाबमोजिम हालसम्म ५० वटा लघुवित्त संस्थाहरुले पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा डिप्रोक्स लघुुवित्त वित्तीय संस्था, सानाकिसान लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था आदिको खुद मुनाफा उच्च देखिएको छ भने आशा लघुुवित्त वित्तीय संस्था, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नवीकरण लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा ऋणात्मक देखिएको छ । यस अवधिमा सबैभन्दा बढी नाफा डिप्रोक्सले गरेको छ । डिप्रोक्सले चालू आवको पहिलो त्रैमासिकमा १९ करोड ८० लाख ९३ हजार चार सय ६८ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा नौ करोड ५८ लाख ८१ हजार एक सय ५० रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब ५४ लाख ३३ हजार पाँच सय ७४ रुपैयाँ रहेको डिप्रोक्सले चालू आवको पहिलो त्रैमासिकमा पाँच अर्ब ३५ करोड ३६ लाख ८८ हजार ८३ रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ८४ करोड ४० लाख ८४ हजार सात सय ८१ रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । खुुद मुनाफा आर्जनमा दोस्रो स्थानमा परेको साना किसान लघुवित्त संस्थाले भने चालू आवको पहिलो त्रैमासिकमा १४ करोड ३० हजार चार सय ५० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा एक अर्ब ६१ करोड १८ लाख ५४

हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३४ करोड १९ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । खुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिकमा १३ करोड चार लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ११ करोड आठ लाख ४१ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ४१ करोड छ लाख ७० हजार रुपैयाँ रहेको जीवन विकासले चालू आवको पहिलो त्रैमासिकमा सात अर्ब ३५ करोड ३१ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब २६ करोड १० लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा १२ करोड ७७ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ करोड २० लाख ४३ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ७९ करोड २३ लख ९९ हजार रुपैयाँ रहेको स्वावलम्बनले चालू आवको पहिलो त्रैमासिकमा नौ अर्ब ६८ करोड ४३ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४८ करोड ५८ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

छिमेक लघुुवित्त वित्तीय संस्थाले भने चालू आवको पहिलो त्रैमासिकमा छ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा १९ अर्ब ८९ करोड ५३ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब तीन करोड १२ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छिमेकमा चार दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुुद मुनाफामा सामान्य वृद्धि भएको छ । संस्थाले चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ९७ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६८ लाख ३८ हजार रुपैयाँ रहेको थियो । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिकमा ११ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा उक्त संस्थाको यस्तो नाफा ६६ लाख तीन हजार रुपैयाँ रहेको थियो । समाज लघुुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिकमा ३९ लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा समाजको यस्तो नाफा तीन हजार तीन सय ५० रुपैयाँ मात्र रहेको थियो । आरएमडीसी लघुुवित्त वित्तीय संस्थाले भने चालू आवको पहिलो त्रैमासिकमा छ करोड पाँच लाख ८३ हजार रुपैयाँ खुुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाले सात करोड ३५ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा तीन करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ९१ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आत्मनिर्भर लघुुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ४७ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा एक करोड २९ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड २७ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

मिथिला लघुुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा एक करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले ४६ लाख दुई हजार चार सय ८० रुपैयाँ खुद मुनाफा कमाएको थियो । आशा लघुवित्त वित्तीय संंस्थाको खुुद मुनाफा भने चालू आवको पहिलो त्रैमासिकमा नौ लाख ५३ हजार पाँच सय १० रुपैयाँले ऋणात्मक देखिएको छ । उक्त अवधिमा ९३ करोड ८३ हजार सात सय ५० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६५ करोड ४२ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको आशामा चार दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

यसैगरी नवीकरण लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा पनि नौ लाख ५३ हजार पाँच सय १० रुपैयाँले ऋणात्मक देखिएको छ । यस अवधिमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा भने २७ करोड ९२ लाख ८९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । गत आवको सोही अवधिमा पनि निर्धनको यस्तो मुनाफा २१ करोड ६३ लाख ५५ हजार रुपैयाँले ऋणात्मक देखिएको थियो । यीबाहेकका मेरो माइक्रोफाइनान्स, एनएमबी लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, जनउत्थान लघुवित्त वित्तीय संस्थासहितका झण्डै तीन दर्जन लघुवित्तको नाफा भने सन्तोषजनक देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया