Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास बैंकहरूको नाफामा कोभिड–१९ को असर न्यून

विकास बैंकहरूको नाफामा कोभिड–१९ को असर न्यून


काठमाडौं ।
विकास बैंकहरूको खुद मुनाफामा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रभाव न्यून देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भन्दै पटक–पटक लकडाउन तथा निषेधाज्ञा जारी गर्दा आर्थिक गतिविधि सुस्त भएकोमा अवस्थामा पनि विकास बैंकहरूले खुद मुनाफा बढाएका छन् ।

क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी हालसम्म १९ वटा विकास बैंकहरू सञ्चालनमा रहेका छन् । तीमध्ये हालसम्म १४ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंकसहितका आठवटा बैंकहरूले खुद मुनाफा बढाएका छन् । यीबाहेकका गरिमा, सांग्रिला र कर्पोरेट डेभलपमेन्ट बैंकको खुद मुनाफा भने यस अवधिमा घटेको छ । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकले भने यस अवधिमा खुद नोक्सानी व्यहोरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये सबैभन्दा बढी मुनाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । गत आवको पहिलो त्रैमासिकमा २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको मुक्तिनाथले कोभिड १९ को असरका बाबजुद पनि चालू आवको पहिलो त्रैमासिकमा २९ करोड ४१ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कामना सेवा विकास बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा खुद मुनाफा बढाउन सफल भएको छ ।

गत आवको पहिलो त्रैमासिकमा एक करोड ६५ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाएको कामनाले चालू आवको पहिलो त्रैमासिकमा २० करोड एक लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यसैगरी महालक्ष्मी विकास बैंकले पनि यस अवधिमा १५ करोड ९७ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा १० करोड ६८ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

गत आवको पहिलो त्रैमासिकमा नौ करोड ६७ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको लुम्बिनी विकास बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा खुद मुनाफा बढाएर ११ करोड १७ लाख १९ हजार रुपैयाँ पु-याएको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंक र सहारा विकास बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः पाँच करोड ४८ लाख दुई हजार र ६४ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यी बैंकहरूको नाफा क्रमशः तीन करोड ९१ लाख १३ हजार र २४ लाख तीन हजार रुपैयाँ रहेको थियो । यसैगरी एक्सेल डेभलपमेन्ट बैक र कर्णाली डेभलपमेन्ट बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा क्रमशः पाँच करोड ६४ लाख ४० हजार र ६८ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने एक्सेलले चार करोड ८८ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने कर्णालीले ५६ लाख ९१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।

गरिमा विकास बैंकको खुद मुनाफा भने चालू आवको पहिलो त्रैमासिकमा घटेको छ । गत आवको पहिलो त्रैमासिकमा १३ करोड ७१ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको गरिमाको नाफा घटेर अहिले आठ करोड १२ लाख २५ हजार रुपैयाँमा सीमित रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंक र कर्पोेरेट डेभलपमेन्ट बैंकले पनि गत आवको पहिलो त्रैमासिकमा क्रमशः पाँच करोड ९५ लाख ५३ हजार र एक करोड ४२ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । चालू आवको पहिलो त्रैमासिकमा भने यी बैंकहरूको नाफा क्रमशः तीन करोड १५ लाख १६ हजार र ५६ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

गत आवको पहिलो त्रैमासिकमा ११ लाख आठ हजार रुपैयाँ खुद मुनाफा कमाएको नारायणी डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा ४७ लाख पाँच हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । सिन्धु विकास बैंकले पनि गत आवको पहिलो त्रैमासिकमा ४६ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ४१ लाख ४९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । ग्रिन डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा ९४ लाख ३७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा ग्रिनको यस्तो नाफा ३९ लाख ९० हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया