Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकको आन्तरिक ऋण असुली प्रक्रिया

राष्ट्र बैंकको आन्तरिक ऋण असुली प्रक्रिया

आज पुनः २६ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री हुने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले जेठ १६ गते अर्थात् आज सोमबार पुनः २६ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि अर्थात् जेठ १० गते पनि राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति जेठ १८ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये पुरानो नवीकरणअन्तर्गत ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैयाँ समेत गरी कुल १५ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

नयाँ अर्थात् फ्रेसतर्फ भने ९१ दिने अवधिको पाँच अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब समेत गरी कुल ११ अर्ब रुपैयाँको रहेको छ । यसअन्तर्गत राष्ट्र बैंकले ९१ दिने अवधिको कुल आठ अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब समेत गरी कुल २६ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्नेछ ।

बिक्री गरिने यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ भदौ १५ गते, २०७८ मंसिर १४ गते र २०७९ जेठ १७ गते तोकिएको छ । यसअघि अर्र्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार सोमध्ये २८ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरीको लागि सात अर्ब ३० करोड, ९१ दिने दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरीको लागि छ अर्ब ९७ करोड ५० लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड रुपैयाँबराबरको ट्रेजरीको लागि १८ अर्ब ३७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँको ट्रेजरीको लागि २० अर्ब ५७ करोड रुपैयाँबराबरको आवेदन परेको थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ  । यसको लागि राष्ट्र बैंकले ६९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।

Open Photo

Open Photo

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया