Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइजरायल रोजगारीको लागि भदौ १ सम्म आवेदन दिने व्यवस्था

इजरायल रोजगारीको लागि भदौ १ सम्म आवेदन दिने व्यवस्था

विगतमा इजरायल गएकाहरू प्राथमिकतामा परेनन्


काठमाडौं । इजरायल रोजगारीका लागि नेपाली नागरिकहरुले भदौ १ सम्म आवदेन दिन सक्ने भएका छन् । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा कार्य गर्न इच्छुक नेपाली नागरिकहरुले अबको २१ दिनभित्र वैदेशिक रोजगार विभागमा आवेदन दिनुपर्ने हुन्छ ।

पहिलो चरणअन्तर्गत इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि एक हजार जना माग गरिएको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए । एक हजार जना माग गरिएकामा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषले आवदेन दिनसक्ने उनले बताए । इजरायल जाने नेपालीको लागि आकर्षक तलबका साथै साप्ताहिक विदाको समेत व्यवस्था छ ।

‘मासिक तलब एक लाख ९० हजार रुपैयाँ (करिब १६०० अमेरिकी डलर) तथा अतिरिक्त समय काम गर्दा भने सुविधा इजरायली सरकारी नियमानुसार दिइनेछ’, उनले भने, ‘साप्ताहिक विदा पाइनेछ । वार्षिक विदा इजरायली कानुनअनुसार प्रदान गरिनेछ ।’ यसैबीच प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । खान तथा बस्ने सुविधाको हकमा भने क्रमशः कामदार आफैँ र रोजगारदाताले गर्नुपर्ने विभागले जानकारी दिएको छ ।

खाना सुविधा भने दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार स्वयंले खर्च व्यहोर्नुपर्ने (यदि रोजगारदाताले अनुदान दिने वा अन्य कामदारसँगको भोजनमा सहभागी हुने चलन भए सोहीअनुसार रोजगारदाताले कार्यस्थलमा व्यहोरेको खर्च कामदारको तलबबाट काटिनेछ) भने बस्ने सुविधाको हकमा भने रोजगारदाताले विदेशी कामदारसम्बन्धी नियमानुसार सुरक्षित र स्वच्छ आवासको प्रबन्ध गर्नेछ ।
इजरायल पुग्ने नेपालीले पाँच वर्षसम्म बस्न पाउनेछन् । करार अवधि सुरुमा एक वर्ष तथा पछि थप गर्न सकिनेछ भने करार अवधि थप गरिएमा पाँच वर्षसम्म हुने निर्देशक भट्टराईले बताए ।

इजरायल रोजगारीका लागि नेपालमा हुने सम्पूर्ण प्रक्रिया अर्थात् अन्तर्वार्तासम्मको प्रक्रिया निःशुल्क हो । विभागले इजरायल जाने तयारी गरेका युवाहरुलाई विभिन्न शुल्क लिई प्रलोभनमा पारी इजरायल पठाइदिन्छु भनेर संघ–संस्था वा व्यक्तिले भनेमा त्यसको पछाडि नलाग्न सबैमा आग्रह समेत गरेको निर्देशक भट्टराईले बताए । सरकार–सरकार (जीटुजी) सहभागी रहेको इजरायल रोजगारी निःशुल्क हुने हुँदा मेनपावर, संस्था तथा व्यक्तिमा निर्भर नरहन युवाहरुलाई आग्रह गरेका छौँ’, निर्देशक भट्टराईले भने, ‘इजरायल रोजगारीको नाममा युवाहरुबाट रकम नउठोस् भन्ने हाम्रो लक्ष्य हो ।’ विभागले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८’ अनुरुप इजरायलको सम्पूर्ण प्रक्रिया अघि बढाएको हो ।

यस्तो छ आवश्यक न्यूनतम योग्यता : इजरायल जाने नेपालीहरुको लागि उमेर, उचाइ, तौल, शिक्षालगायतको हदबन्दी तोकिएको छ । इजरायल सरकारले ताकेको मापदण्डअनुरुप २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ भने कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलो तौल हुनुपर्नेछ ।

शैक्षिक योग्यताको हकमा भने कम्तीमा १० कक्षा उत्तीर्ण गरी अ.न.मी वा सी.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा उच्च शिक्षा (१२ पास) वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहनुपर्छ । त्यस्तै यसअघि इजरायलका गएका नेपालीलाई भने रोक लगाइएको छ । विगतमा इजरायलमा गई कार्य नगरेकोले मात्र दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको लागि आवदेन दिन पाउनेछन् । आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहनुपर्ने, बुबा, आमा, पति, पत्नी, छोरा वा छोरी इजारायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने, लागूपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया