Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगणेशमान सिंहको २५औँ स्मृति दिवस

गणेशमान सिंहको २५औँ स्मृति दिवस


काठमाडौं । प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २५औँ स्मृति दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

स्व. गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी स्व. सिंहको सालिकमा माल्यार्पण गरेको थियो । उक्त कार्यक्रममा गणेशमानका पुत्र एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनमा र कांग्रेसलाई बलियो बनाउन स्व. गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका थिए । साथै जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, किरण गिरी, पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँलगायतको उपस्थिति रहेको थियो ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हालेको थियो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी सिंह प्रवास जानुअघि नै तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगेका उनले अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि उनको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । उनी नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भएर लागेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताएका थिए । विसं २०२५ मा वीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक संगठन विस्तार गरे । उनी विसं २०३३ मा वीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे ।

तत्कालीन पञ्चायती सरकारले वीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट उनले पनि सफाइ पाएका थिए । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । वीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा उनले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिस्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका हुन् ।

नेता सिंहको २५औँ स्मृति दिवसका अवसरमा शनिबार कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका थिए । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया