Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा साउदी लागेका राई छ महिनादेखि बेपत्ता

वैदेशिक रोजगारीमा साउदी लागेका राई छ महिनादेखि बेपत्ता


प्रवीण राउत
काठमाडौँ, माघ २१
भोजपुर हत्वगढी ७ की कविता राई पछिल्लो समय नेपाल प्रहरी र वैदेशिक रोजगार सम्बद्ध कार्यालय धाउन थालेकी छिन् । उनी विदेश जान भनेर हिँडेका श्रीमान् नबिन राईको खोजीमा कहिले प्रहरी त कहिले वैदेशिक रोजगार विभाग धाइरहेकी छिन् । भदौ पहिलो साता साउदी अरेबियामा जाने भन्दै नबिन काठमाडौं रामकोटबाट हिँडेका थिए । त्यसयता करिब छ महिना बित्यो तर श्रीमान् सम्पर्कमा नआएको कविता बताउँछिन् । ‘वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जान भनेर रामकोटबाट हिँडेका नबिनले एयरपोर्टभित्र पसेपछि मलाई फोन गरेका थिए’, उनले आर्थिक दैनिकसँग भनिन्, ‘बिहानको फ्लाइटमा साउदी जान लागेको हुँ अहिले म हवाइजहाजभित्र छु भनेर बिहान करिब १० बजेको समयमा मसँग कुराकानी भएको थियो । त्यसपछि हालसम्म कुनै जानकारी आएको छैन ।’

उनी विदेश गए/गएनन् त्यसबारे आफूहरुलाई केही जानकारी नभएको उनको भनाइ छ । ‘विदेशमा छन् कि स्वदेशमा, हामीलाई थाहा छैन’, उनले भनिन्, ‘मसँग र मेरो आफन्तसँग कुनै सम्पर्क भएको छैन । त्यसैले हामी अहिले अन्योलमा परेका छौँ ।’ नबिन विदेश जान भनेर धरानबाट वैशाखमा काठमाडौं आएका थिए । वैशाखमा काठमाडौं आएका नबिन यहाँबाट सिधै विदेश उड्ने तयारीमा थिए । उनी यसअघि पनि साउदीमा काम गरेर फर्केकोको कविताको भनाइ छ । ‘यसअघि नबिन साउदी र कतारमा काम गरेर स्वदेश फर्केका हुन्’, उनले भनिन्, ‘२०१३ मा कतार र २०१६ मा साउदीमा काम गर्नका लागि गएका थिए । पछिल्लो समय साउदीमा दुई वर्ष काम गरेर उनी नेपाल आएका थिए ।’

यता परिवारका अन्य सदस्यले भने नबिनलाई दलालहरुले विदेश पठाउने नाममा भारतको दिल्ली पु-याएको आशंका गरेका छन् । नबिनका आफन्त बताउने रिमाल राईले भने, ‘दलालको प्रलोभनमा परी दिल्ली पुगे कि भन्ने हाम्रो शंका रहेको छ ।’ उनी अध्यागमन हुँदै एयरपोर्ट प्रवेश गरे/नगरेको विषय प्रहरीले खोजी गरिदिए आफूहरु ढुक्क हुने बताउँछन् । उनले भने, ‘त्यसपछि उनी स्वदेश वा विदेश कहाँ छन् भन्ने हामीलाई जानकारी हुन्थ्यो ।’

यता विभागले भने श्रम नदेखिएको कारण नबिनको खोजीको विषयमा अघि बढ्न नमिल्ने प्रतिक्रिया दिएको उनले बताए । नबिनले श्रम नगराएको हुँदा विभागले कुनै प्रतिक्रिया दिएन । उनले नबिनलाई खोजी गरिदिनको लागि सोमबार महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएको बताए । धरानमा बस्दै आएकी कविता तथा उनका आफन्त अहिले नबिनको खोजीमा काठमाडौंमा रहेका छन् । श्रीमान्को खोजी गरिदनको लागि उनले अहिले विभागको साथै प्रहरीलाई समेत आग्रह गरेकी छिन् ।

पछिल्लो समय प्रहरी र विभागबीच वैदेशिक रोजगारको नाममा हुनसक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न र ठगी कार्यलाई रोक्नका लागि दुई निकायबीच समझदारी भएको थियो । यस्तै वैदेशिक रोजगारीको नाममा कानुनविपरीत काम भएमा दुवै समूह मिली अनुसन्धान समेत गर्न सक्ने सहमति समेत भएको छ ।

कतारमा नेपाली शव अलपत्र : कतारमा नेपाली युवको शव अलपत्र परेको छ । वैदेशिक रोजगारीका लागि कतार पुगेका रौतहट चन्द्रपुर ८ का ४६ वर्षीय लक्ष्मण चौधरीको शंकास्पद मृत्युपछि शव अलपत्र परेको हो । लक्ष्मणका छोरा रोशन कुमार चौधरी बुबाको शंकास्पद मृत्यु भएपछि अन्योलमा परेका छन् । बुबाको मृत्यु वा हत्या हो भन्ने विषय अन्योल रहेको उनले बताए । बुबाको शव ल्याउनको लागि पहल गरे पनि सफल हुन नसकेकोमा उनले दुःखेसो पोखे ।

फागुनमा घर आउने तयारी गरेका बुबाले आत्महत्या गरेको भन्ने विषयमा उनका परिवारलाई विश्वास लागेको छैन । ‘बुबाको तलब पनि राम्रो थियो, मेरो र घरको अवस्था पनि राम्रो थियो, त्यसैले बुबाले आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन’, उनले भने । परिवारसँग सधैँजसो कुरा गर्ने बुबाले आफूले जागिर खाएसँगै खुसी भएको रोशन बताउँछन् । रोशनले जागिर पाएको खुसीमा लक्ष्मणले कम्पनीमा सबैलाई मिठाइ समेत बाँडेका थिए । रोशन चन्द्रपुर नगरपालिकामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् ।

लक्ष्मण कतारस्थित रिक्लाइमेसन आयल प्लान्ट कम्पनीमा कार्यरत थिए । विगत १४ वर्षदेखि कार्यरत लक्ष्मणको मासिक परिश्रमिक नेपाली करिब एक लाख रुपैयाँ थियो । बुबाको पनि परिश्रमिक राम्रो आफू पनि जागिरे हुँदा घर सञ्चालनको लागि कुनै असहज अवस्था नरहेको उनले बताए ।

सधैँजसो बिहान ४ बजे उठेका लक्ष्मण कम्पनीभित्र झुण्डिएको अवस्थामा भेटिएको जानकारी पाएको उनको भनाइ छ । माघ ५ गते लक्ष्मण झुण्डिएको खबर परिवारले थाहा पाएको रोशन बताउँछन् । तर आफूहरुलाई सो विषयमा विश्वास नलागेको उनले बताए । लामो समय काम गरेको हुँदा लक्ष्मणले कम्पनीबाट १५/१६ लाख रुपैयाँ लिनुपर्ने थियो । यसअघि पनि लक्ष्मणले सो रकम माग गर्दा कम्पनीमा विवाद हुने गरेको आफूहरुलाई जानकारी गराएको उनले बताए ।

लक्ष्मण कम्पनीमा हेड मिस्त्री थिए भने उनको निर्देशनमा ३५ जना कामदारले काम गर्थे । रोशनले बुबाको शव नेपाल ल्याउन प्रयास गरे पनि कतारमा रहेको नेपाली नियोग अर्थात् नेपाली दूतावासले कुनै समन्वय नगर्दा आफूहरु समस्यमा परेको उनको भनाइ छ । दूतावासमा फोन गर्दा पहिला सहयोगी कर्मचारीले सम्बन्धित अधिकारीसँग कुरा गर्न भने पनि पछिल्लो समय भने सम्बन्धित कर्मचारीले आफूसँग कुरा नगरेको बताए । ‘पहिलो पटक दूतावासका कर्मचारीसँग कुरा भएको थयो । उनले कम्पनीमा सम्पर्क गरी घटनाको बारेमा बुझने बताएका थिए’, उनले भने, ‘नियोगका कर्मचारीले वास्तविक रिपोर्ट आएको छैन, कम्पनीको म्यानेजरसँग कुराकानी भइरहेको छ भन्ने जवाफ दिन्छन् ।’

तर पछिल्लो समय भने नियोगले प्रत्येक दिन फोन नगर्नुस् भनेर जवाफ दिएको उनले बताए । रोशनका अनुसार फोन गरे पनि सहयोगी कर्मचारीले मात्र उठाउने र सम्बन्धित अधिकारीलाई सम्पर्क नगराउने गरेका छन् । उनी अहिले वैदेशिक रोजगार बोर्ड धाउन थालेका छन् । बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले आफूहरुले नियोगलाई जानकारी गराएको र सम्बन्धित विषयमा जानकारी गराउन आग्रह गरेको बताए । ‘हामीले नियोगमा सम्पर्क गरी घटनाबारे पछिल्लो जानकारी दिन आग्रह गरेका छौं’, उनले भने ।

बोर्डका एक अधिकारीले भने वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा मृत्यु भएको खण्डमा भने तीन महिनासम्म लाग्ने बताए । अन्य मुलुकको हकमा भने त्यहाँको कानुनमा निर्भर हुने उनको भनाइ छ । अन्य मुलुकको तुलनामा साउदीबाट शव ढुवानी गर्न लामो समय अर्थात् करिब थोरैमा पनि तीन महिना लाग्न सक्ने उनले जानकारी दिए । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नसक्दा विदेशबाट शव ढुवानी, पीडितका परिवारलाई आर्थिक, कानुनीलगायतका सहयोगबाट समेत वञ्चित हुनुपरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया