Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझापामा मतदाता बढे, मतदान गर्ने घटे

झापामा मतदाता बढे, मतदान गर्ने घटे


बिर्तामोड । झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । वि.सं. २०७४ मा झापामा पाँच लाख १० हजार दुई सय १६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ हजार आठ सय ४० ले मतदान गरेका थिए ।

१५ वटा स्थानीय तह रहेको झापामा हाल छ लाख ४६ हजार दुई सय ६४ मतदाता छन् । पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको झापामा पुरुष मतदाताको सङ्ख्या तीन लाख २१ हजार पाँच सय २० रहेको छ भने महिला मतदाताको सङ्ख्या तीन लाख २४ हजार सात सय पाँच जना रहेको छ । त्यस्तै अन्यमा नौ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । झापामा सबैभन्दा धेरै मत झापा गाउँपालिकामा ७४.६६ प्रतिशत खसेको छ । यो गाउँपालिकामा २३ हजार नौ सय ४४ मतदाता रहेका थिए । मतदातामध्ये पुरुषको सङ्ख्या आठ हजार २० रहेको थियो भने महिलाको सङ्ख्या आठ हजार पाँच सय ९७ रहेको थियो । यहाँ कूल मतदातामध्ये १७ हजार आठ सय ७७ ले यो गाउँपालिकामा मतदान गरेका छन् । यो कुल मतदाताले खसालेको मतको ७४.६६ प्रतिशत रहेको मुख्य निर्वाचन कार्यालय झापाका सहायक मतदान अधिकृत तथा सूचना अधिकारी गणेश पाण्डेले बताए ।

त्यस्तै झापापछि बाह्रदशी गाउँपालिकामा धेरै मत खसेको छ । यो पालिकामा ७४.४१ प्रतिशत मत खसेको हो । यहाँ मतदाताको सङ्ख्या २५ हजार आठ सय २६ रहेको छ । कूल मतदातामध्ये यो गाउँपालिकामा १९ हजार दुई सय १७ ले मतदान गरेका छन् । त्यस्तै सबैभन्दा कम मत भद्रपुर नगरपालिकामा ६६.३६ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यो नगरमा ५१ हजार दुई सय ६० मतदाता रहेकोमा ३४ हजार १५ ले मात्रै मतदान गरेका छन् । यो कूल मतदानको ६६.३६ प्रतिशत मात्र हो ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा यो वर्ष २८६ वटा मतदानस्थलका सात सय ५५ मतदान केन्द्रबाट मतदान भएको थियो । अघिल्लो निर्वाचनमा दुई सय ८३ मतदानस्थल र छ सय ३७ मतदान केन्द्र कायम थिए । झापामा छ सय ८५ जना जनप्रतिनिधि चयनका लागि दुई हजार सात सय ८६ ले उम्मेदवारी दिएका थिए । त्यसमध्ये आठ/आठ जना नगर प्रमुख र उपप्रमुख तथा सात/सात जना अध्यक्ष र उपाध्यक्ष पदका लागि मात्रै एक सय ६९ जनाको उम्मेदवारी रहेको थियो ।

झापामा प्रमुख र अध्यक्ष १५ जना, उपप्रमुख र उपाध्यक्ष १५ गरी ३० जना, वडाध्यक्ष एक सय ३१, महिला सदस्य एक सय ३१ र दलित महिला सदस्य एक सय ३१ गरी तीन सय ९३ जना र खुला सदस्य दुई सय ६२ गरी जम्मा छ सय ८५ जना जनप्रतिनिधि चयन हुनेछन् । कचनकवल गाउँपालिका र मेचीनगरमा भने एक÷एक जना उम्मेदवार यसअघि नै सर्वसम्मत भएका छन् तर मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले आधिकारिक घोषणा गरेको छैन । कचनकवल गाउँपालिका–४ मा नेपाली कांग्रेसकी दलित महिला सदस्य पदकी उम्मेदवार विजली दाशको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका छन् । मेचीनगर–११ मा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दलित महिला सदस्य पदकै उम्मेदवार रञ्जिता नेपाली सुन्दासको मात्रै उम्मेदवारी परेपछि उनी पनि सर्वसम्मत भएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया